किन पक्राउ परे सांसद सुनिल शर्मा?
सीआईबीले सांसद डा. सुनिल शर्मालाई पक्राउ गरिएको विषयमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई जानकारी दिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख किरण बज्राचार्यले बिहीबार पत्र पठाएर सभामुख घिमिरेलाई सांसद शर्मा पक्राउबारे जानकारी दिएकी हुन्। सांसद पक्राउ गर्दा सभामुखलाई जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
सांसद शर्मालाई फौजदारी कसूरमा पक्राउ गरिएको सीआईबीको पत्रमा उल्लेख छ। सभामुख घिमिरेलाई पठाएको पत्रमा भनिएको छ, ‘फौजदारी कसूरको अनुसन्धानको क्रममा पक्राउ परेका निज सुनिलकुमार शर्मा जिल्ला मोरङ, क्षेत्र नं. ३ का नेपाली कांग्रेसका तर्फबाट २०७९ सालको प्रत्यक्षतर्फ प्रतिनिधि सभामा निर्वाचित सांसद रहेकाले नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधि सभाको सदस्य निज सुनिलकुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुख समक्ष सूचना एवं जानकारी गराइएको बेहोरा सादर अनुरोध गरिएको छ।’
सांसद शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रमा पक्राउ गरिएको हो। उनको आईएस्सीको प्रमाणपत्र नक्कली भएको देखिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले जनाएको छ।
चिकित्सा क्षेत्रका विवादित व्यवसायी शर्मा गत मंसीरमा सम्पन्न निर्वाचनमा मोरङ-३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। उनी मेडिकल कलेजको सम्बन्धन, सीट निर्धारण र शिक्षण शुल्कका विषयमा विवादमा आइरहने व्यक्ति हुन्।