बोन्बो इतिहास जोड्ने तामाङ सङ्गीत
सेलो गीतमा प्रायः नछुट्ने डम्फु बाजा तामाङ समुदायको प्राचीन गीति परम्परामा भने भेटिंदैन।
विशेषगरी मध्य नेपालका पहाडी क्षेत्रमा बस्ने तामाङहरू संस्कृतिसँगै गीतसङ्गीतमा पनि धनी छन्। उनीहरूको ‘सेलो’ गीत त नेपाली सङ्गीतको मूलधारमै परिचित छ। यो समुदायमा सङ्गीतका अरू प्रकार पनि छन् जो भेग अनुसार फरक फरक स्वादमा भेटिन्छन्।
सिन्धुपाल्चोकको माथिल्लो भेगमा परिवारै बसी डम्फु बजाएर गाइने खान्दोके प्रचलनमा छ भने धादिङतिर ढ्याङ्ग्रोको तालमा म्हेन्दोमाया गाइन्छ। विवाह, छेवर, मृत्यु जस्ता संस्कारमा गाइने गीत पनि छन्। भेग जुनसुकै भए पनि हरेक गीतले यो समुदायको जीवनशैली र मूल्यमान्यता झल्काउने गरेको छ।
जाँतोको तालमा फापरे
तामाङ समुदायका जात्रामा गाउने गीत धेरै छन्, तीमध्ये एक हो ‘फापरे’। यसमा सवालजवाफ हुन्छ अर्थात् जुहारी शैलीमा गाइन्छ। “हाम्रा पुर्खाले सात दिन, सात रातसम्म त्यस्ता गीत गाउँथे भनिन्छ,” तामाङ डाजाङ साहित्यिक संस्थाका अध्यक्ष फूलकुमार बोम्जन भन्छन्।
फापरे गीतको एउटा उदाहरण यस्तो छ:
डोको त बुन्ने काम्रोले, भैंसी त बान्ने दाम्लोले
च्याङ्बाको यो मन बाँधेको फापरे गीतको माम्लोले।
बोम्जनका अनुसार यो गीत बढीजसो मायाप्रीति गाँस्ने प्रयोजनले गाइन्छ। तर, गीत गाउने तहमा पुग्नुअघि थुप्रै चरण पार गरिनुपर्छ। मन परापर भएपछि केटा-केटी जुहारी खेल्न बस्छन्। तब गीतमै एकअर्काको थर र उनीहरूले कुन आमाको दूध खाएका हुन् भन्ने सोधिन्छ।
“आमा-आमा दिदीबहिनी भएको पाइए मायाप्रीति लगाउन पाइँदैन। किनकि त्यहाँ हाडनाता वा दाजुभाइको सम्बन्ध हुन जान्छ। अर्को दूधको साइनो हुन्छ, दिदी-बहिनीको नाता पर्ने,” बोम्जन भन्छन्, “दाजुबहिनीको नाता परे ‘हामी त चेली-माइती परेछौं’ भन्दै थोरै रक्सी सगुन दिएर गीत जुन चरणमा पुगेको हो, त्यसैमा रोकेर छुट्टिनुपर्छ।”
तामाङको प्रचलित ‘सेलो’ शैलीमा प्रायः डम्फु बजाइएको पाइन्छ। तर, तामाङ गीतको प्राचीन परम्परामा डम्फु नभेटिने बोम्जन बताउँछन्। त्यसैले फापरेमा पनि प्रायः डम्फु बजाइँदैन। “डम्फु नबजाउँदा पनि ती गीत तालमा हुन्छन्। जस्तो, फापरे गीतमा जाँतोको ताल हुन्छ। छिटोछिटो गाउँदा जाँतो पनि छिटोछिटो घुम्छ भने बिस्तारै गाउँदा जाँतोको घुम्ने गति पनि कम हुन्छ। यहाँ जाँतोले रिदमको काम गर्दो रहेछ,” उनी भन्छन्।
थुप्रै जातीय सङ्गीतको जरा खोज्दै जाँदा बाजारहित गीत भेटिन्छन्। बाजा मान्छेले पछि बनाएको हो, स्वर भने ऊसँग आदिकालदेखि थियो। त्यसैले बाजा विनाको गायनलाई सङ्गीतको सबभन्दा पुरानो विधा मानिन्छ। फापरे गीतले तामाङ समुदायमा सङ्गीत श्रम र जनजीवनको अङ्ग भएको देखाउँछ। “घाँस बोक्दा घाँसकै गीत गाइन्छ, तिनमा पाखापखेरा, चराचुरुङ्गीका विम्ब जोडिन्छ,” बोम्जन भन्छन्।
जात्रामा र जाँतो पिन्दा गाइने यस्ता गीत आज कुनै औपचारिक विद्यालयमा सिक्न पाइँदैन। त्यसैले यिनमा निहित लय, ताल र शब्द संरक्षण गर्न तामाङ डाजाङले भर्खरै सेलो राग पुस्तक प्रकाशन गरेको छ। यो पुस्तक शुभ तामाङले लेखेका हुन्।
“हाम्रा बाजेहरूले सात रात गाउँथे रे! हामीले पनि एकराते जात्रा धेरै हेरेका हौं। एकराते जात्राले पनि सङ्गीत निकै सिकाउँदो रहेछ,” बोम्जन भन्छन्, “भविष्यमा सङ्गीत सिक्ने-सिकाउने ठाउँहरूमा पनि हाम्रो सङ्गीतको उपस्थिति बढ्नुपर्छ र तिनको संरक्षण हुनुपर्छ भनेर पुस्तक निकालेका हौं।”
गीतले बाँधेको सामाजिक सम्बन्ध
तामाङका जातीय संस्कार आदिमा गाइने गीतले सामाजिक सम्बन्धको वरिपरि रहेर श्रोतालाई सामाजिकीकरण गरिरहेका हुन्छन्। जस्तो- कुलपूजा लगायत शुभकार्यमा ‘कोल्मी’ (सामाजिक कार्यमा सहभागी अगुवा चेलीबेटी)ले गाउने गीत। बोम्जनका अनुसार यस्तो गीतमा त्यही अवसरबारे वर्णन गरिन्छ। त्यसमा ‘तिमी माइतीको देवालीमा किन आयौ? किन चेलीबेटी चाहियो? तिमीले ल्याएको कोसेली कसलाई चढायौ?’ जस्ता शब्द हुन्छन्।
उनी भन्छन्, “गीतले ती प्रश्नको जवाफ पनि दिन्छ। जस्तै, कुलपूजामा चेलीबेटीले सगुन र गाग्री लिएर आउनुपर्ने हुन्छ। उनीहरूका श्रीमान् अर्थात् ज्वाइँचेलाले कुलपूजामा सबै काम सघाउनुपर्छ। आफू पनि चेलीबेटीका कार्यक्रममा जाँदा त्यसरी नै सघाउनुपर्छ।”
विवाहमा गाइने गीत ‘ताम्बा’ले पनि सामाजिक मूल्यमान्यता स्पष्ट पार्छ। यसमा बिहे किन गरिन्छ, बिहे गरेपछि जीवनशैली कस्तो हुनुपर्छ भन्ने कुरा आउँछन्। “सिन्धुलीतिरको ताम्बाले बेहुला-बेहुलीलाई जीवन चलाउने वाचामा बँधाउँछ। मृग देख्दा दुइटा अनुहार, सर्प देख्दा दुइटा जिब्रो भने जस्तो भोलि अर्कै राम्रो मान्छे देखे त्यसैलाई मन पराउने आदि काम गर्न हुन्न भनेर गीतले विम्बात्मक तरीकाले सम्झाइरहेको हुन्छ,” बोम्जन भन्छन्।
बोन-बौद्ध संयोजन
डम्फु तामाङ समुदायको बाजाका रूपमा प्रख्यात रहे पनि यसको जरा खोतल्दै जाँदा बोन्बोहरूले बजाउने ढ्याङ्ग्रोमा पुगिन्छ। बोम्जनका अनुसार खासमा तामाङ गीतका तालहरू बोनबाट आएका हुन्। ढ्याङ्ग्रोबाटै गाउने-बजाउने दुइटै विधाको अभ्यास भएको देखिन्छ। “त्यसअघि अरू बाजा देखिंदैन। बोन्बोहरू ढ्याङ्ग्रो बजाउँदै, फलाक्दै जान्थे रे! अनि फलाक्ने र ढ्याङ्ग्रो बजाउने शैली फरक फरक हुँदै गएको पाइन्छ। डम्फु पछि विशुद्ध गीतसङ्गीतकै लागि बनाइएको हो। पछिका नाच्न मिल्ने खालका गीतमा यसको प्रयोग बढी छ,” उनी भन्छन्।
बोन्बो अर्थात् बोन धर्मका अगुवालाई ‘सामन’ अथवा झाँक्री पनि भन्ने चलन छ। तामाङ समाजमा बोन्बो अहिले पनि सक्रिय छन्। नेपालका अधिकांश तामाङले आफूलाई बौद्धधर्मी बताउँदै आएकोमा अझ पुरानो बोन धर्मका अवशेष पनि उनीहरूको संस्कृतिमा भेटिन्छ। बोम्जनले सुनाएको एउटा कथाले यी दुई धर्मको द्वन्द्व र समायोजनको कथा भन्छ। जुन यस्तो छ:
पहिले-पहिले बोनले नै अहिले लामाले गर्ने काम गर्थे रे! पूजापाठ गर्ने, बलि चढाउनेदेखि मृत्युसंस्कार र अन्य रीतिरिवाजसम्म। पछि एउटै पिताका दुई छोरामा एउटा बोन र अर्का लामा भएछन्। दुई जनाबीच द्वन्द्व भएपछि ढ्याङ्ग्रो बजाएर मन्त्र जप्दै घामसम्म उडेर जाने प्रतिस्पर्धा भएछ। दाजु उडेर घामकै छेउमा पुग्न लागेपछि भाइले आगोमा धूप हाली आकाशभरि धूवाँ फैलाएर दाजुलाई झारेछ। बोन दाजु दल्सिन ढुङ्गामा छिरेर अलप भयो। त्यसपछि दल्सिन ढुङ्गाबाट आगो निस्किन्छ। उता भाइ लामालाई यो पापले कुष्ठरोग लागेछ। केही गर्दा पनि निको भएनछ। पछि दाइलाई नै पुकारेर उपचार गराउँदा बल्ल निको भएछ। त्यहींदेखि लामा र बोनको पेशा छुट्टियो।
बौद्धभन्दा पुरानो बोन अभ्यासबारे बोम्जन भन्छन्, “हाम्रो पुरानो धर्म नै बोन हो। तामाङको इतिहास खोज्दै जाँदा धरती-आकाश कसरी बने, हाम्रा बाउबाजे कहाँ थिए, नाम के थियो भन्ने कुरा बोन्बो नै भन्न सक्छन्। देवालीमा आआफ्नो वंशावली फलाक्ने चलन छ जुन एकदम लामो हुन्छ। त्यसमा हाम्रो इतिहास बोन्बोहरूसँगै जोडिन्छ।”
हिमालका आदिवासी बोन्बोको जीवनशैलीमा बौद्ध धर्मको प्रवेश, त्यसपछि द्वन्द्व हुँदै जाँदा दुवैले आआफ्नो पेशा छुट्ट्याए, सिमाना बाँधे। पछि फेरि सङ्कटमा एकअर्काको आवश्यकता परेपछि तामाङ समाजमा दुवै धर्मको अभ्यास प्रचलनमा रह्यो।
यस्तै कथा नेपालमा अन्त पनि भेटिन्छन्। डोरबहादुर विष्टले फेटालिज्म एन्ड डेभलपमेन्ट पुस्तकमा कर्णालीका स्थानीय देउता मस्टा र नवागन्तुक ब्राह्मणको द्वन्द्वलाई समेटेका छन् जसमा मस्टा हारेको, ब्राह्मणले जितेर हिन्दू धर्मको विस्तार गरेको र मस्टा रिसाएको प्रसङ्ग छ।
गंगातटीय हिन्दू धर्म र अरू धार्मिक परम्पराबीचको द्वन्द्वका प्रमाण मेटिंदै छन्। यद्यपि त्यस्ता नौला धार्मिक अवधारणाप्रतिको शुरूआती प्रतिरोध देखाउने धेरै किस्सा-कहानी कर्णाली किनारका खस क्षेत्रमा भेटिन्छन्।
उदाहरणका लागि हुम्लास्थित कर्णालीको तल्लो क्षेत्रमा पुग्ने पहिलो बाहुनका सन्ततिले आफ्ना पुर्खा र स्थानीय देउता गुरा मस्टाबीचको भेटको घटना सुनाएका छन्। यसअनुसार, बाहुनसँग वादविवादमा पराजित भएपछि गुरा मस्टा निकै रिसाएका थिए रे! त्यहाँ बाहुनले ल्याएको नयाँ धर्म र विद्यमान धामीमा आधारित परम्पराबीच सहकार्य भयो किनकि दुवैले अर्को धर्म चाहिं आफ्नोमा मिल्न आएको माने।
जजमानीबाट जीविकोपार्जन गर्न पाएसम्म बाहुनलाई र आफ्नो धर्मबाट पूरै नछुटाइएकाले धामीलाई कुनै समस्या भएन। केही महत्त्वाकांक्षी खस धामीले त बाहुनको दर्जा पनि लिए। नयाँ देउता मान्ने कुरामा कुनै समस्या थिएन किनकि पुरानासँगै तिनलाई पनि पुज्न सकिन्थ्यो। समयक्रममा देशभरका मानिसले शिवसँगै विष्णु र अरू देउतालाई पनि मान्न थाले। हिन्दू भनेर चिनिए।
यस्ता कथाबाट पुराना प्रचलनमा चिहाउन सकिन्छ। बोम्जनले सुनाएको कथाले बौद्ध धर्मका साथै त्यसभन्दा प्राचीन जीवनशैलीको अवशेष तामाङ समाजमा जीवित रहेको देखाउँछ। “तामाङ भनेको बोन र लामा दुवै धर्म बोक्ने जात हो, यसले आगो र पानी सँगै बोक्दो रहेछ,” उनी भन्छन्, “धेरै ठाउँमा एउटा धर्म मानेपछि अर्को नमानेको मैले देखें तर तामाङले दुइटै सँगै बोकिराखेको छ।”
यसलाई पडकास्टमा सुन्नुहोस्: