नेपालगन्ज मेडिकल कलेजले एक लाख ९२ हजार इन्टर्नशिप शुल्क र केयू आबद्धता शुल्क भनेर लिएको एक लाख ६ हजार रुपैयाँ फिर्ता नगरेपछि चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई समस्या सुनाउन विद्यार्थीहरू काठमाडौं आएका हुन्।
नेपालगन्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरू कलेजका सञ्चालक सुरेशकुमार कनोडियाले आफूहरूको माग सम्बोधन नगरेको भन्दै काठमाडौं आएका छन्। एमबीबीएस अध्ययनमा अतिरिक्त शुल्क लिइएकाले सो रकम फिर्ता हुनुपर्ने विद्यार्थीहरूको माग छ।
कलेज सञ्चालक कनोडिया र कलेजको व्यवस्थापन समितिसँग विद्यार्थीले पटक पटक छलफल पनि गरेका थिए। छलफलमा कनोडियाले चिकित्सा शिक्षा आयोग गठन हुनुभन्दा अगाडि भर्ना भएका विद्यार्थीहरूले अतिरिक्त शुल्क भन्न नमिल्ने अडान राखेका थिए।
तर, आन्दोलनरत विद्यार्थी नेपालगन्ज मेडिकल कलेजमा २०७४ सालमा भर्ना भएका थिए। त्यति वेला चिकित्सा शिक्षा आयोग गठन भएको थिएन भने डा. गोविन्द केसी चिकित्सा शिक्षा शुल्क घटाउनुपर्ने माग राखेर आन्दोलनरत थिए।
त्यति वेला नेपालका मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्न एक करोडसम्म तिर्नुपर्थ्यो। काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजको शिक्षण शुल्क ४७ लाख ९० हजार तोकिएको थियो। यस बाहेक विभिन्न शीर्षकमा लिइने शुल्क फरक फरक थियो।
नेपालगन्ज मेडिकल कलेजले भने विद्यार्थीसँग थप एक लाख ९१ हजार इन्टर्नशिप शुल्क र एक लाख ६ हजार केयू आबद्धता शुल्क भनेर लिने गरेको थियो। यो सबै जोड्दा एक जना विद्यार्थीले ५२ लाख तिर्नुपर्थ्यो।
पछि चिकित्सक केसीको माग बमोजिम सरकारले एमबीबीएस अध्ययनका लागि ४२ लाख ४५ हजार रुपैयाँ शुल्क निर्धारण गर्यो। उक्त शुल्क निर्धारण गर्दा निजी कलेज सञ्चालकहरूले समेत हस्ताक्षर गरेका थिए।
नेपालगन्ज मेडिकल कलेजले पनि विद्यार्थीसँग लिएको शुल्क पाँच लाखका दरले फिर्ता गर्यो। तर, एक लाख ९२ हजार इन्टर्नशिप शुल्क र केयू आबद्धता शुल्क भनेर लिएको एक लाख ६ हजार रुपैयाँ भने फिर्ता गरेन।
कलेजले लिएको यिनै दुई शीर्षकको शुल्क फिर्ता हुनुपर्ने विद्यार्थीको माग छ। यी दुई शीर्षकमा २०७४ सालका ५१ जना विद्यार्थीले कलेजलाई रकम बुझाएका थिए। ५१ जनामध्ये ४६ जना नेपालगन्जमै आन्दोलनरत छन् भने पाँच जना विद्यार्थी चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई आफ्नो समस्या सुनाउन काठमाडौं आएका हुन्।
“कलेजले अतिरिक्त शुल्क लिएको गलत हो भन्नेमा उहाँ (चिकित्सा शिक्षा आयोगका पदाधिकारी)हरू सहमत हुनुहुन्छ। तर, लिखित दिन सक्नुभएको छैन,” हिमालखबरसँग सम्पर्कमा आएका एक विद्यार्थीले भने।
डा. राजेन्द्र कोजू कठमाडौं विश्वविद्यालयको डीन भएका वेला पनि विद्यार्थीहरू समस्या सुनाउन पुगेका थिए। विद्यार्थीको समस्या सुनेपछि २०८० साउन ४ गते काठमाडौं विश्वविद्यालयको पहलमा चिकित्सा शिक्षा आयोगले नेपालगन्ज मेडिकल कलेजलाई उक्त शुल्कको विषयमा स्पष्ट पार्न पत्र पठाएको थियो।
उक्त पत्रमा इन्टर्नशिप शुल्क र केयू आबद्धता शुल्क फिर्ता गर्ने भनी प्रस्ट नलेखिएको भन्दै कलेजले विद्यार्थीलाई रकम फिर्ता नदिने अडान राख्यो। आयोगको पत्र अनुसार कलेजले रकम फिर्ता नदिएको भन्दै विद्यार्थीले जिल्ला प्रशासन कार्यालय, बाँकेमा समेत उजुरी गरे।
बाँकेका प्रमुख जिल्ला अधिकारी, मेडिकल कलेजका पदाधिकारी र विद्यार्थी संलग्न छलफलमा जिप्रकाले पनि चिकित्सा शिक्षा आयोगले यी दुई शीर्षकमा लिएको शुल्क अतिरिक्त भएकाले फिर्ता गर्नुपर्ने बेहोराको पत्र पठाए मात्र आफूहरूले सहजीकरण गर्न सक्ने तर्क राख्यो।
“अतिरिक्त रूपमा लिएको केयू आबद्धता शुल्क र इन्टर्नशिप शुल्क फिर्ता गर्नुपर्ने भनेर चिकित्सा शिक्षा आयोगले स्पष्ट रूपमा पत्र नपठाएकाले हामीलाई समस्या परेको छ,” काठमाडौं आएका अर्का विद्यार्थीले भने।
काठमाडौं विश्वविद्यालय अन्तर्गतका लुम्बिनी मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजले पनि यी दुई शीर्षकमा विद्यार्थीसँग रकम असुलेका थिए। यसमध्ये काठमाडौं मेडिकल कलेजले विद्यार्थीसँग लिएको रकम फिर्ता गरिसकेको छ। लुम्बिनी मेडिकल कलेजका विद्यार्थी रकम फिर्ता नपाएकाले अर्को साताबाट आन्दोलनमा सहभागी हुने बताइरहेका छन्।
पहिलो त केयू आबद्धता शुल्क लिनु नै गैरकानूनी हो। काठमाडौं विश्वविद्यालयले विद्यार्थीहरूबाट आबद्धता शुल्क लिने कुरा कहींकतै उल्लेख गरेको छैन। त्यसमाथि यो शुल्क कलेजपिच्छे फरक छ।
“अहिले कुरा बुझ्दै जाँदा अन्य मेडिकल कलेजले हाम्रोमा भन्दा थोरै केयू आबद्धता शुल्क लिएका रहेछन्। त्यो पनि उनीहरूले फिर्ता गरे,” एक विद्यार्थी थप्छन्।
मेडिकल कलेजले विद्यार्थीको इन्टर्नशिप गराउँदा केही पारिश्रमिक पनि दिनुपर्छ। तर, उक्त पारिश्रमिक कति हुनुपर्छ भन्ने निजी मेडिकल कलेजले तोकेका छैनन्। नेपालगन्ज मेडिकल कलेजले विद्यार्थीलाई इन्टर्नशिप गराएको रकम पनि दिएको छैन। उक्त रकम समेत उपलब्ध गराइनुपर्ने आन्दोलनरत विद्यार्थीको माग छ।
“यसअघि यो विषयमा बोल्दा कलेजले फेल गराइदिने डर थियो, अहिले इन्टर्नशिप मात्र बाँकी भएकाले आवाज उठाउन सकेका छौं,” काठमाडौं आएका एक विद्यार्थी भन्छन्।