इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवारको गोली हानी हत्या
ल्याटिन अमेरिकी देश इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिलाभेसिएनसिओको गोली हानी हत्या गरिएको छ।
राजधानी क्विटोमा आयोजित एक चुनावी र्यालीबाट निस्कँदै गर्दा उनीलाई गोली हानिएको हो। इक्वेडरको न्याशनल एसेम्ब्लीका सदस्य समेत रहेका फर्नान्डोले भ्रष्टाचार र अपराध विरुद्ध अभियान चलाइरहेका थिए। इक्वेडरका सरकारी अधिकारीहरूको संगठित अपराधसँग सम्बन्ध रहेको आरोप लगाउने थोरै उम्मेदवारमध्ये उनी एक हुन्।
प्रत्यक्षदर्शीका अनुसार उनलाई तीन गोली प्रहार गरिएको थियो। फर्नान्डोका अभियानका एक सदस्यका अनुसार उनी आफ्नो कारमा बस्नै लागेको वेला एक मानिसअघि सरेर उनीमाथि गोली हानेका थिए।
गोली हान्ने व्यक्तिलाई सुरक्षाकर्मीले पनि तुरुन्तै गोली हानेका थिए। उनको पनि मृत्यु भएको छ।
त्यस्तै, गोली चलेपछि भागदौड भएको छ। जसमा नौ जना घाइते छन्। घटनामा संलग्न भएको आशङ्कामा ६ जनालाई पक्राउ गरिएको इक्वेडर प्रहरीले जनाएको छ।
यो घटनापछि इक्वेडरमा आपत्काल घोषणा गरिएको बीबीसीले जनाएको छ।