कस्तो हुनुपर्छ पाँचौं पुस्ताको प्रशासन?
औद्योगिक पूर्वाधारहरू कमजोर भएको र पर्याप्त सम्भावना भएर पनि उपयोग हुन नसकेको मुलुक भएकाले चौथो औद्योगिक क्रान्तिको फाइदा नेपाली समाज र अर्थतन्त्रको पक्षमा उपयोग गर्न थुप्रै जटिलता देखिएका छन्।
तेस्रो औद्योगिक क्रान्ति अर्थात् सूचना प्रविधिको जागरणपछि सार्वजनिक व्यवस्थापनभित्र त्यसअघिका औद्योगिककालका मूल्यमान्यता र सिद्धान्त भत्किए। व्यवस्थापनमा जरा गाडेको नियन्त्रण र निर्देशनलाई नेटवर्किङले विस्थापन गर्यो। विश्वास र व्यावसायिकताले स्थान लियो।
यसलाई पाँचौं पुस्ताको व्यवस्थापन संरचना वा एक्काइसौं शताब्दीको व्यवस्थापन पनि भन्न सकिन्छ। औद्योगिक जागरण र प्रशासन परिवर्तन लगभग समानान्तर प्रक्रियामा हुन्छन्। किनकि दुवैको केन्द्रमा उत्पादन संगठन रहन्छ। औद्योगिक क्रान्ति, कम्प्युटरको पुस्ता वा सामाजिक पुस्ता जस्तै सार्वजनिक व्यवस्थापनलाई पनि पुस्ताक्रममा हेर्ने गरिन्छ।
व्यवस्थापनको पहिलो पुस्ता शास्त्रीय (प्रोप्राइटरशिप) हो। यसमा संगठनले आफू अनुकूल ‘मानव संयन्त्र’ को प्रयोग गर्छ। यतिखेर मानिस संयन्त्र मात्र हो। प्रोप्राइटरशिपले भूमिलाई शक्ति र धनको स्रोतका रूपमा लिन्छ।
दोस्रो पुस्ता पदसोपानयुक्त (स्टीप हाइरार्की) हो। यहाँ ओहोदा नै सञ्चार, सम्बन्ध र शक्तिको आधार हो। ज्ञान, शक्ति, अधिकार सबै पदेन हुन्छन्। हाइरार्कीले श्रमलाई शक्ति र धनको स्रोतको रूपमा लिन्छ।
तेस्रो पुस्ता ‘मेट्रिक्स’ हो, जहाँ कार्यमूलक संगठन संरचना हुन्छ। मेट्रिक्सले प्रविधि र सम्बन्धलाई शक्ति र धनको स्रोतका रूपमा लिन्छ।
चौथो पुस्ता कम्प्युटरमा आधारित हो। यो लचकदार कार्यसम्बन्धमा रहन्छ। यसले प्रविधि र अन्तरक्रियालाई शक्ति र धनको स्रोतका रूपमा लिन्छ।
पाँचौं पुस्ता मानव कार्यजालो (ह्युमन नेटवर्किङ) हो। यसमा बहुकार्य र बहुसीप आबद्ध हुन्छ। यसले ज्ञानलाई शक्ति र धनको स्रोतका रूपमा लिन्छ।
आवश्यक छ पाँचौं पुस्ताको व्यवस्थापन
सार्वजनिक व्यवस्थापन शासकीय संरचनाले मात्र चल्दैन, त्योभन्दा बढी सेवाग्राहीको चेतना, स्तर र मागले चल्छ। अहिले सेवाग्राही निष्क्रिय उपभोक्ताबाट सन्तुष्टिको हकदार वा सरोकारवाला बनेका छन्। त्यसैले शासन, सेवामा रूपान्तरण भएको छ।
प्रशासनले सेवाग्राहीको सन्तुष्टिका लागि भूमिका निर्वाह गर्नुपर्छ। त्यसैको सापेक्षतामा सरकार र शासनको विश्वास कायम हुन्छ। यस अर्थमा सार्वजनिक व्यवस्थापनमा व्यावसायिकता मात्र भएर पुग्दैन, सम्बन्ध र संवेग पनि आवश्यक हुन्छ।
तर, तेस्रो विश्वका प्रशासनले यसलाई आफूमा अन्तरवरण गर्न सकेका छैनन्। परिणामतः सेवाग्राही (जनता) र सरकार छुट्टिएका छन्। अर्को अर्थमा सरकारहरू औद्योगिककालको विभाजित कार्यप्रणालीबाट कसरी एकीकृत कार्यप्रणालीमा पुग्ने, निरन्तर गतिशील र प्रत्यक्ष जवाफदेही कसरी बनाउने, संगठनलाई कार्यस्थल मात्र होइन, कसरी सेवास्थल बनाउने र लगातारको सिकाइ संरचनामा कसरी स्वचालित बनाउने भन्ने जस्ता चुनौती खेपिरहेका छन्।
तेस्रो क्रान्तिमा नै गतावधिक भएका थोत्रा व्यवस्थापन संरचनालाई चौथो औद्योगिक क्रान्तिसँग अनुकूल बनाउन नसकिए सरकार, प्रशासन र सेवाग्राहीबीचको मूल्य सम्बन्ध कायम रहनेछैन। २१औं शताब्दीको पहिलो २३ वर्षले यही कुराको द्योतन गर्छ।
अर्थात् चौथो औद्यागिक क्रान्तिका लागि पाँचौं पुस्ताको व्यवस्थापन चाहिन्छ। तर, भोलिको संरचना र सम्बन्धको अभ्यास सिद्धान्त र सूत्र जस्तो सरल छैन।
सधैं अद्यावधिक रहन्छ नयाँ सार्वजनिक व्यवस्थापन
सन् १९९० को दशकबाट सार्वजनिक व्यवस्थापनमा बेस्सरी परिवर्तनको लहर चल्यो। यो लहरबाट सबै देश प्रभावित भए। विकसित भनिएका देशहरू परिवर्तनका लहर, गति र प्रवेग समाउन सफल भए। कम विकसित देशहरू पछि परे। परिवर्तनको गतिलाई समाउन सकेनन्। परिवर्तनको मोडेल एक पटक समाएपछि पुग्छ भन्ने सोचे। परिणामतः परिवर्तनको निरन्तर गतिशील लहरको प्रवेगले उनीहरूलाई पन्छाइदियो।
उदाहरणका लागि सन् १९९० को दशकबाट सबै मुलुकले नयाँ सार्वजनिक व्यवस्थापन र सरकारको पुनर्बोधलाई अभ्यासमा ल्याए। अल्पविकसित मुलुकहरूले चाहिं नयाँ सार्वजनिक व्यवस्थापन सधैं अद्यावधिक भइरहन्छ भन्ने भुले। नयाँमा निरन्तर अनुकूलित हुन नसके नयाँ भनिएको ढाँचा केहीपछि गतावधिक बन्छ भन्ने भुले। उता, सफल अभ्यासकर्ताले निरन्तर आद्यनूतना वा नवोन्मेषलाई पछ्याए। परिमार्जन र प्रवर्तन गरिरहे।
जस्तो कि नेपालमा २०४८ सालमा उच्चस्तरीय प्रशासन सुधार आयोगले दिएका सुझाव र त्यही समय आसपासमा अमेरिकी उपराष्ट्रपति अल गोरले दिएको राष्ट्रिय उपलब्धि सुधार प्रतिवेदनका सिफारिश लगभग एकै स्तरका थिए। अर्थात् समस्या र परिवर्तनको दृश्य उही रूपमा हेर्न सकिएछ। यद्यपि कार्यान्वयनको पाटोमा हामी शुरूका दिनबाटै पछि पर्यौं। परिवर्तनका लहरका लागि बाह्य झट्का पर्खेर बस्यौं।
गोरको प्रतिवेदनले बाह्य समाजबाट आएका ज्ञान, विचार र प्रविधिले विस्फोट गरेका कुराहरू कार्यान्वयनका क्रममै अनुकूलित हुने स्वचालित मार्ग पछ्यायो। सन् १८३५ मै आलेक्सी डे टुकेबेलीले अमेरिकाको भ्रमणपछि प्रकाशित कृतिमा अमेरिकाको प्रजातन्त्र र संस्था विकास परिपाटीको खुलेर प्रशंसा गरेका थिए। त्यसैले निरन्तरता स्वरूप २० र २१औं शताब्दी उसैको भयो।
सन् १९७० को दशकको गियान्नीनी प्रतिवेदनले इटालीको राजनीतिक संक्रमणलाई व्यवस्थापन गर्ने दृष्टि दियो। त्यहाँ राजनीतिक अस्थिरताले प्रशासनलाई कत्ति पनि असजिलो पारेन। नेपालको प्रशासन व्यवस्थामा सुधार नआउनुमा भने हामी राजनीतिक संक्रमणलाई दोष दिइरह्यौं। त्यसैले व्यवस्थापनमा नवोन्मेष ल्याउन त परै, अरूले औंल्याइदिएका कुराको उपभोक्ता बन्न पनि हामीलाई हम्मे परेको छ।
विकसित मुलुकहरू समिति/आयोग/कार्यदलको प्रतिवेदनभन्दा पनि आन्तरिक शक्ति निर्माण गरी स्वयं व्यवस्थापनलाई नै व्यवस्थापन सुधारको कारकका रूपमा लिन्छन्। दृष्टि-समदृष्टिले सुधार सम्भव गराउने हो भन्ने अन्तर्बोध गर्छन्।
चौथो औद्योगिक क्रान्ति: एक अवसर
हामी अहिले चौथो औद्योगिक क्रान्तिको युगमा छौं। यसले मौलिक रूपमा नै मानिसको कार्यव्यवहार, सम्बन्ध संरचना र जीवनशैलीलाई बदलिरहेको छ। विगतमा अनुमान नै नगरिएको अवसर र जटिलता ल्याउँदै छ।
नागरिक, नागरिक संस्था, निजी क्षेत्र लगायत सबै सरोकारवाला यो चौथो औद्योगिक क्रान्तिका अवसर लिन र चुनौती सामना गर्न तयार हुनुपर्ने दबाबमा छन्। किनकि यसअघिका औद्योगिक क्रान्तिभन्दा यसको गति, क्षेत्र र जटिलताको आयतन निकै भिन्न छ। यसले जनजीवनका सबै पक्षलाई अकल्पनीय रूपमा प्रभाव पार्दै छ।
यसको प्रवृत्ति रेखीय नभै बृहद् छ। उत्पादन, व्यवस्थापन र शासकीय व्यवस्थापनका सबै पक्षलाई रूपान्तरण गर्दै छ। साइबर प्रणालीको विकासले ल्याएका असीमित अवसरले चौथो क्रान्ति उथलपुथल बनाउने खालको हुनेमा कुनै शङ्का छैन। कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, आईओटी, स्वचालित सवारी साधन/यन्त्र, थ्रीडी प्रिन्टिङ, नानो प्रविधि तथा बायो प्रविधि, ऊर्जा सञ्चय, क्वान्टम कम्प्युटिङ, च्याट-जीपीटी जस्ता क्षेत्रमा प्रविधिले छलाङ मार्दै छ। कतिपय यस्ता क्षेत्र पनि पहिचान हुँदै छन् जसले पूर्णतः डिजिटल विश्वको यात्रा शुरू गरेका छन्।
चौथो औद्योगिक क्रान्ति र पाँचौं पुस्ताको व्यवस्थापन एक अर्काका सहसम्बन्धमा रहन्छन्। व्यवस्थापनको नेतृत्व, कार्यशैली, समयचेत र मूल्यवृत्तिको पुनर्विचारले चौथो पुस्ताको औद्योगिक क्रान्तिलाई शासकीय तहमा संस्थागत गर्छ।
पाँचौं पुस्ताको व्यवस्थापनको एउटा प्रवृत्ति नेटवर्किङ हो। नेटवर्किङको पहिलो अर्थ विद्युतीय माध्यमबाट पारस्परिक सम्पर्कमा रहनु हो। दोस्रो अर्थ, दृष्टिकोण र ज्ञानहरूमा हाम्रो आबद्धता बढ्नु हो। चौथो पुस्ताको औद्योगिक क्रान्तिले पाँचौं पुस्ताको व्यवस्थापनलाई यही आबद्धताको प्रक्रियामा पुर्याउँछ। हाइरार्कीले ल्याउने ‘फ्र्याक्सनल’ सोचलाई नेटवर्कले अन्तरआबद्धता, अन्तरसम्बन्ध र अन्तरक्रियामा पुर्याउँछ।
अर्को, पाँचौं पुस्ताको व्यवस्थापन नेतृत्वको सवाल हो। यहाँ कसैलाई शक्ति सुम्पने मान्यता राखिंदैन। एकले अर्कोलाई सामर्थ्य, शक्तिकृत र सबल बनाउने भन्ने भावनाको सञ्चार संगठनभरि गराउँछ। यहाँ कर्मचारीलाई स्वयं सुसूचित र सशक्तीकृत हुन स्वचालित बनाउन नेतृत्व सहजकर्ता बन्नुपर्छ।
तर, तहसोपानीय व्यवस्थापनकालका प्रशासकहरू पाँचौं पुस्तामा सहजै रूपान्तरण कहाँ हुन्छन् र!
प्रत्येक परिवर्तन वा क्रान्तिमा अवसर मात्र होइन, चुनौती र जोखिम पनि हुने गर्छन्। चुनौतीहरू शासनमा, प्रशासनमा, समाजमा र अर्थतन्त्रमा जताततै छन्। सावधान भएर अनुकूलित हुन नसक्दा परिवर्तनको प्रवाहले किनारा लगाइदिन्छ।
अर्थशास्त्री एरिक व्रिन्जोल्फसन र एन्ड्रु म्याकेफीका अनुसार चौथो क्रान्तिले आर्थिक असमानता विस्तार गर्नेछ। क्रान्तिको सघनता साथ असमानता पनि सोही अनुरूप गहिरिनेछ। पूँजी सघन र स्वचालित प्रविधिका कारण श्रम बजार झन्डै विस्थापित हुनेछ। पूँजीको प्रतिफल बढ्नेछ, श्रमको प्रतिफल निकै घट्नेछ।
परम्परागत अर्थशास्त्रले व्याख्या गरे झैं उत्पादनमा श्रम र पूँजीको सम्बन्ध संरचना हुनेछैन। क्रान्तिको सघनता बढ्दै जाँदा उत्पादन प्रणाली पूँजी सघनभन्दा पनि ज्ञानमा आधारित भएर जानेछ। यसले उच्च प्रविधि/उच्च ज्यालालाई बढावा दिंदा न्यून प्रविधि/न्यून ज्यालाको ठूलो क्षेत्र सीमान्तीकृत हुनेछ। यसले अन्ततः सामाजिक तनाव भित्र्याउने डर छ।
अहिले नै यो क्रम तीव्र छ। प्रविधिसँग अनुकूलित र अभ्यस्त हुँदै जाँदा कतिपय मानवीय संवेदनाका पक्षहरू ओझेलमा पर्दै गई मानवीय स्वभाव यान्त्रिक नहोला भन्न सकिन्न। मानिसका अन्तरक्रिया, सामाजिक सम्बन्ध र सहभागिताको डिजिटाइजेशनले हार्दिकता, मानवीय भावना लगायत पक्षमाथि धावा बोल्नेछ।
वैयक्तिक गोपनीयता पनि खतरामा पर्नेछ। आभ्यन्तरिक मानव मूल्य पनि स्खलित हुँदै जानेछ।
चौथो औद्योगिक क्रान्तिको प्रभाव सरकार र शासन व्यवस्थामाथि पनि उल्लेख्य रूपमा देखिंदै छ। भौतिक, डिजिटल र जैविक प्रविधिको संयोजनले शासकीय क्रियाकलापमा नागरिक सहभागिता, पृष्ठपोषण र अनुगमनका नयाँ छरिता स्वरूप देखिनेछन्। यसले सार्वजनिक निकाय नागरिकमुखी र जवाफदेही बन्न थप दबाब पार्दै छ।
डिजिटल पूर्वाधारका कारण सरकार पनि नागरिकमाथि निर्मित नीति, कार्यक्रम र मापदण्ड कार्यान्वयनका अतिरिक्त नागरिक आचारमाथि नियन्त्रण, निगरानी र नियमन गर्न सक्ने सामर्थ्यमा पुग्नेछ। यसले ‘एगाइल गभर्नेन्स’ सम्भव तुल्याउनेछ।
तर, सार्वजनिक निकाय विकसित प्रविधिसँग अनुकूलित हुन नसक्दा भने अस्तित्वको सङ्कटमा पर्नेछ। शान्ति सुरक्षा र नागरिक हित संरक्षणमा चुनौती अरू फराकिलो बन्नेछ।
नेपाल विपन्न मुलुक, शासकीय स्तर र प्रशासनिक व्यावसायिकता कम भए पनि चौथो औद्योगिक क्रान्तिको प्रवाहमा हेलिएको छ। औद्योगिक पूर्वाधारहरू कमजोर भएको र पर्याप्त सम्भावना भएर पनि उपयोग हुन नसकेको मुलुक भएकाले चौथो औद्योगिक क्रान्तिको फाइदा नेपाली समाज र अर्थतन्त्रको पक्षमा उपयोग गर्न थुप्रै जटिलता देखिएका छन्। आउँदा दिनमा अरू जटिल हुने देखिएको छ।
समाज गरीबी र विपन्नताले ग्रस्त छ। डिजिटल रूपमा विभक्त छ। नागरिक संस्थाहरू शासकीय संस्कृतिमा संस्थागत हुन सकेका छैनन्। सार्वजनिक निकायहरू नागरिक पृष्ठपोषणमा अभ्यस्त छैनन्। नागरिक जवाफदेही बन्ने संस्कारमा छैनन्। उत्पादन संगठनहरू परम्परागत श्रमसघन प्रविधिमा छन्, त्यसैले तीनमा लागत संरचना उच्च छ। शिक्षाले सीप र सिर्जना दिन सकेको छैन।
विश्वव्यापीकरणले निर्माण गरेको समाज र सांस्कृतिक एकीकरणको प्रभावले पनि नेपाली समाज ग्रस्त छ। यस अवस्थामा चौथो औद्योगिक क्रान्तिले ल्याएका अवसरहरू उपयोग गर्ने कार्य जटिल हुन सक्छ। पाँचौं पुस्ताको व्यवस्थापनले नपछ्याए चौथो औद्योगिक क्रान्तिले हामीलाई पाखा लगाउँछ।
शासकीय संरचनाका कर्मचारीहरू व्यावसायिकतामा मात्र कमजोर होइनन्, सदाचारितामा झनै कमजोर देखिएका छन्। गतिशील कार्यप्रक्रियामा होइन, उत्साह बेगरका जागीरमा छन्। बाह्य झट्का नभए गतिहीन छन्।
प्रशासनिक नेतृत्व समयचेत, सदाचारिता र प्रणाली नेतृत्वको क्षमताबाट बाहिरएको छ। कर्मचारीलाई जति वेला जसरी चलाए पनि हुन्छ भन्ने प्रवृत्तिले व्यवस्थापनभित्र संस्थागत सम्झना र स्वत्व हराएको छ। त्यसैले चौथो औद्योगिक क्रान्तिका लाभहरू लिन शासकीय संरचनामा सोच, संस्कार र सामर्थ्यको गतिशील पुनर्निर्माण चाहिएको छ।