मनसुनजन्य विपद्बाट ४१ जनाको मृत्यु, ५० जिल्ला प्रभावित
मनसुनजन्य विपद्मा परी ६ जिल्लाका ३१ जना बेपत्ता भएका छन् भने २८ जिल्लाका ५५ जना घाइते भएका छन्।
गत जेठ ३१ गते मनसुन भित्रिए यता आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन्। गृह मन्त्रालयका अनुसार विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा मानवीय क्षति भएको छ।
बाढीपहिरो लगायत मनसुनजन्य विपद्मा परी ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका छन्।
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थका अनुसार विपद्का घटनामा परी ३१ जना बेपत्ता छन्। बेपत्ता हुनेहरू संखुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका छन्।
यस्तै, विपद्मा परी ५५ जना घाइते भएका छन्। ती घाइते २८ वटा जिल्लाका हुन्। विपद्मा परेर कुल १३० घर पूर्ण रूपमा क्षति भएका छन् भने १९३ घरमा आंशिक क्षति पुगेको छ।
मनसुन शुरू भएकै वेला पूर्वी नेपालका पाँचथर, संखुवासभा ताप्लेजुङ लगायत जिल्लामा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको थियो। मनसुन अवधिमा मुलुकभर कम पानी पर्ने आकलन गरिएको भए पनि वेलावेला परेको भारी वर्षाले विभिन्न जिल्लामा बाढी र पहिरोका घटना निम्त्याइरहेको छ।