राहत र उद्धारका लागि मधेश प्रदेश सरकारले आठ वटै जिल्लामा १०-१० लाख पठाउने
सोमबार राति परेको भीषण वर्षाले मधेश प्रदेशका बाँके, बागमती लगायत नदीमा बाढी आई जनजीवन प्रभावित बनाएको थियो।
मधेश प्रदेश सरकारले बाढी तथा डुबानपीडितको उद्धार तथा तिनलाई राहत उपलब्ध गराउन आठै जिल्लामा १०/१० लाख रुपैयाँ पठाउने भएको छ।प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री मोहम्मद समिमको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो।
मन्त्री समिमले राहत तथा उद्धार सामग्री खरीद गर्न आठ वटै जिल्ला प्रशासन कार्यालयलाई तत्काल रकम पठाउने निर्णय गरेको जानकारी दिए। “प्रदेशका आठै जिल्लामा बाढी तथा डुबानको समस्या छ। त्यसलाई मध्यनजर गरी प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि राहत रकम दिने निर्णय भएको छ,” उनले भने।
यसका अतिरिक्त एकद्वार प्रणाली मार्फत राहत सङ्कलन तथा वितरणको काम गर्ने निर्णय पनि गरिएको छ। “त्यसको समन्वय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी संस्था, स्थानीय विपद् व्यवस्थापन समिति र जिल्ला विपद् व्यवस्थापन समिति मार्फत हुनेछ,” उनले भने।
राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सबै सुरक्षा निकाय र सरोकारवालासँग समन्वय गर्ने विषयमा पनि छलफल भएको छ। सोमबार राति परेको भीषण वर्षाले मधेश प्रदेशका बाँके, बागमती लगायत नदीमा बाढी आई जनजीवन प्रभावित बनाएको थियो।