मौसम: यी चार प्रदेशमा चट्याङ सहित भारी वर्षा हुन सक्ने
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज चट्याङ सहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज नेपालमा मनसुनी वायुका साथै बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित छ।
यति वेला देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा साथै कोशी र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना छ।
आज राति लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।