‘अनैतिक कार्य’ रोक्ने भन्दै मन्दिर क्षेत्रमा प्रवेश निषेध कति जायज?
युवायुवती बसेर ‘अनैतिक गतिविधि’ गरेको भन्दै ललितपुर महानगरले पाटन दरबार क्षेत्रका मन्दिर परिसरमा बस्न रोक लगाएपछि आलोचना भइरहेको छ।
पाटन दरबार क्षेत्रका विश्वनाथ र हरिशंकर मन्दिरका बाहिरी द्वारमा केही दिनयता ‘नो इन्ट्री’ लेखिएको छ। मन्दिर परिसरलाई सर्वसाधारणले सुस्ताउन र बसेर छलफल गर्न उपयोग गर्दै आएकोमा अहिले नियमित पूजा बाहेक सबै क्रियाकलापमा रोक लगाइएको हो।
बुधबार बेलुकीदेखि जगतनारायण र कृष्ण मन्दिर परिसरमा पनि कडाइ गर्ने ललितपुर महानगरको तयारी छ। नगर प्रहरी प्रमुख सीताराम हाछेथूका अनुसार कृष्ण मन्दिरमा दर्शन गर्न पाइने भए पनि बस्न दिइनेछैन।
विश्व सम्पदा क्षेत्रमा अनैतिक क्रियाकलाप बढेको भन्दै स्थानीयले उजुरी गरेपछि प्रवेशमा कडाइ गरिएको महानगरका प्रवक्ता राजु महर्जन बताउँछन्। “युवायुवती मन्दिरको माथिल्लो भागमा बसेर अनैतिक क्रियाकलाप गर्न थाले। अङ्कमाल गर्ने, सम्पदामाथि खुट्टो टेक्ने, लात हान्ने गरे। यसले सम्पदामा क्षति पुग्ने देखिएकाले बाध्य भएर निषेध गर्नुपर्यो,” महर्जन भन्छन्।
काठमाडौं महानगरका पूर्व मेयर केशव स्थापित भने मन्दिर परिसरमा बसेर सुखदुःखका बात मार्नु र थकान मेटाउनुलाई परम्परागत सामाजिक प्रचलन भन्दै यसमा रोक लगाइँदा आमजनताको अधिकार खोसिएको टिप्पणी गर्छन्। मन्दिरका टुँडालहरूमै प्रेमिल आकृति हुने गरेकामा त्यहाँ बसेर युवायुवतीले माया साट्दा मूर्ति खिइन्छ भन्नु गलत रहेको उनको तर्क छ। “जीवनको सत्य नबुझ्नेहरू सत्तामा पुग्दाको असर हो यो,” स्थापित भन्छन्, “पार्क जाऊँ उतै लखट्ने, मन्दिर जाऊँ सांस्कृतिक क्षेत्र भन्ने, होटल गयो उतै खेद्ने, युवायुवती कहाँ जाने त? बलात्कार वा अपराध पो गर्नुभएन, माया त सबैले गर्न पाउनुपर्छ।”
पूर्व न्यायाधीश प्रकाश वस्ती भने महानगरको कदमलाई वैध-अवैध दुवै दृष्टिकोणबाट विश्लेषण गरिनुपर्ने बताउँछन्। उनका अनुसार सार्वजनिक शान्ति र सुरक्षा खलबलिएको अवस्थामा स्थानीय तहले प्रवेश निषेध गर्न सक्छ। त्यसो भन्दैमा एक-दुई व्यक्तिका गलत हर्कतकै कारण आममानिसका धार्मिक र सांस्कृतिक अधिकार नै खोसिनु चाहिं अवैध हुन्छ। “नगरले यी दुवै अवस्था हेरेर समायोजनको बाटो लिनुपर्छ,” उनी भन्छन्।
अधिवक्ता स्वागत नेपाल प्रेमजोडीहरू मन्दिर क्षेत्रमा बस्नु नौलो नभएको बताउँछन्। नेपालका अनुसार यिनै स्थान बालबालिकादेखि वृद्धवृद्धासम्मका घाम ताप्ने थलो र शीतलता दिने छहारी पनि हुन्। “अहिले पनि भक्तपुरका विभिन्न मन्दिर, पार्टी, पौवामा सुकुल हालेर बस्ने प्रचलन छ, यस्ता प्रचलन पनि आफैंमा सम्पदा हुन्, यिनमा रोक लगाउन हुँदैन,” उनी भन्छन्, “बरु गाँजा खाने वा अन्य गलत क्रियाकलाप गर्नेलाई सीसी क्यामेरा मार्फत निगरानी गर्न सकिन्छ। एक व्यक्तिलाई देखाएर सम्पूर्णको अधिकार खोस्न हुँदैन।”
स्थानीय तहले सार्वजनिक स्थानमा अनैतिक गतिविधि नियन्त्रण गर्न सक्ने भए पनि त्यसकै नाममा प्रवेशमै प्रतिबन्ध लगाउन नपाउने भन्दै अधिवक्ता नेपाल अहिले ललितपुर महानगरले गरिरहेको काम सिंहदरबारमा भ्रष्टाचार भयो भनेर प्रवेश नै निषेध गरिए जस्तो भएको टिप्पणी गर्छन्।
मुलुकी अपराध संहिताले अश्लीलता प्रदर्शन गर्ने, सार्वजनिक सम्पत्ति तोडफोड र दुरुपयोग गर्ने, सार्वजनिक सामञ्जस्यमा विशृङ्खलता ल्याउने लगायत कामलाई अनैतिक मानेको अधिवक्ता नेपाल जनाउँछन्। “सार्वजनिक स्थानमा चुम्बन, अङ्कमाल गर्नु र हात समाएर हिंड्नुलाई कानूनले अश्लीलता भन्दैन,” नेपाल प्रस्ट्याउँछन्।
ललितपुर महानगरले अहिले प्रहरी नै खटाएर मन्दिर परिसरमा बस्न रोक लगाइरहेको छ। बिहान ७ देखि बेलुकी ८ बजेसम्म महानगरकै प्रहरीले पहरा दिन्छन् भने त्यसपछि मंगलबजार प्रहरी बिटको संयोजनमा निगरानी हुन्छ।
प्रहरी नै यस्ता कार्यको निगरानीमा खटिनुले ‘मोरल पुलिसको’ झल्को दिने पूर्व डीआईजी हेमन्त मल्ल बताउँछन्। अहिलेको जमानामा ‘मोरल पुलिस’ लाई हावी गराउन नहुने भन्दै कसैले मन्दिर क्षेत्रमा गलत क्रियाकलाप गर्छ भने उसैलाई मात्र कारबाही हुनुपर्ने मल्ल बताउँछन्। साउन २० गते राति पाटनको मन्दिर परिसरमा बसेका युवायुवतीलाई हप्काइएको भिडिओ देखेको सुनाउँदै मल्ल भन्छन्, “काठमाडौंका मन्दिरमा पनि युवायुवती बस्छन् तर ललितपुरमा यस्तो नियम लगाइयो। ती क्षेत्रमा प्रवेश निषेध गर्नु समाधान होइन, बरु सुरक्षा र निगरानी बढाउने हो।”
भक्तपुर नगरपालिकाका प्रवक्ता विजयकुमार शर्मा त्यहाँका सांस्कृतिक र पर्यटकीय क्षेत्रमा ‘अनैतिक’ गतिविधि गर्नेलाई त्यसो नगर्न सम्झाइ-बुझाइ गर्ने गरिएको बताउँछन्। यसकै लागि साँझको समयमा वडास्तरीय निरीक्षकहरू खट्ने गरेका छन्। प्रवक्ता शर्मा भन्छन्, “प्रतिबन्ध लगाउने कुरा उठेको छैन। बरु हामी युवा अझै धेरै आएर बसून् भनी नयाँ पाटीपौवा थप्दै छौं।”