जेलभित्रै कुटपिट हुँदा दुई कैदीको मृत्यु
जेलभित्र कुटपिट हुँदा संखुवासभा कारागारमा दुई कैदीको मृत्यु भएको छ।
जिल्ला कारागार शाखामा बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका संखुवासभा मादी नगरपालिका-५ का विनोद तोलाङ्गी र चोरी मुद्दामा कैद सजाय भोगिरहेका नुवाकोटको ककनी गाउँपालिका-७ का आकाश बलामीको मृत्यु भएको हो। कुटपिटबाट गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले बताए।
दुवै जना शौचालयको झ्याल फोडेर भाग्न लागेका वेला सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। त्यसपछि दुवै जनालाई पुन: कारागारभित्रै राखिएको थियो।
अन्य कैदीबन्दीको कुटपिटबाट उनीहरूको मृत्यु भएको डीएसपी गोदारले बताए। “राति भाग्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएर सेलभित्रै पठाइएको थियो,” डीएसपी गोदारले भने, “अन्य कैदीबन्दीले किन भागेको भनेर कुटपिट गरेछन्।”
प्रहरीका अनुसार उनीहरूले मंगलबार राति शौचालयको झ्यालको एउटा रड निकालेर जेलबाट बाहिर निस्कने प्रयास गरेका थिए। शौचालय पार गरेपछि कारागारको पर्खाल नाघ्नका लागि प्रयोग गरेको काठ घटनास्थलमा देखिएको जेलर राजेन्द्र घिमिरेले बताए।
घटनाको विषयमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। “बाहिर निस्कन खोज्दा प्रहरीले देखेछन् र पक्रेर आन्तरिक प्रशासनलाई बुझाएछन्। त्यसपछि भित्र के गरे हामीले देख्न पाएनौं,” घिमिरेले भने, “बिहान आउँदा घाइतेमध्ये एक जनालाई अस्पताल लगिएको थियो। अर्को घाइतेलाई केही बेरपछि लगियो। के भएको भन्ने कुरा छानबिन समितिले पत्ता लगाउँछ।”