रास्वपा कार्यकर्ताले प्रयोग गरेको वाकिटकीबारे छानबिन गर्न निर्देशन
नारायणगढ-मुग्लिन सडकको पहिरो खुलाउने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रयोग गरेको वाकिटकीबारे छानबिन गर्न स्थानीय प्रशासनले प्रहरीलाई निर्देशन दिएको छ।
साउन २३ गते नारायणगढ-मुग्लिन सडकखण्डको काली खोलामा पहिरो गएको थियो। त्यसलाई प्रहरी, प्रशासन र सडक विभागको टोलीले सफा गरेको थियो।
त्यही क्रममा ट्राफिक व्यवस्थापन गर्न भन्दै ज्याकेटमा आरएटी लेखेर रास्वपाका कार्यकर्ता पनि परिचालन भएका थिए। रास्वपा कार्यकर्ताले वाकिटकी पनि बोकेका थिए।
उनीहरूले बोकेको वाकिटकीबारे छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुरेन्द्र पौडेलले जनाएका छन्। प्रजिअ पौडेलले बुधबार जारी गरेको सूचनामा ‘सञ्चारको साधन वाकिटकी समेत देखिएकोमा उक्त सञ्चारसाधन स्वीकृत र दर्तावाला हो/होइन छानबिन गर्न प्रहरीलाई निर्देशन गरिसकिएको’ जनाएको छ।
यससँगै जिल्ला प्रशासन कार्यालयले विपद्का घटनामा राजनीतिक दलको परिचय विना स्वयंसेवकाका रूपमा उद्धारमा सहयोग गर्न आग्रह गरेको छ।
सूचनामा भनिएको छ, ‘ठूला विपद्का घटनाहरूमा राजनीतिक दल, नागरिक समाज लगायत आम सर्वसाधारण नागरिकबाट कुनै दल विशेष वा संगठनको परिचय विना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीका रूपमा जिल्ला/स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सक्ने बेहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको बेहोरा अनुरोध छ।’