बाढीपहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध
बाढीपहिरोले देशभरका चार सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने ३४ सडक एकतर्फी रूपमा चालू छन्।
बाढीपहिरोका कारण देशभरका विभिन्न सडकखण्ड पूर्ण र आंशिक रूपमा अवरुद्ध छन्।
आज बिहानसम्म तमोर करिडोर (चतरा-मूलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक), भालुवाङ-लिवाङ-रोल्पा माडीचौर-दारबोट सडक, तानसेन-रिडी-कोरला सडक र धनगढी-सहजपुर-बुडर-स्याउले सडक पूर्ण रूपमा अवरुद्ध छन्।
तमोर करिडोरको पाँचथरको हेवा खोला र माझीटारमा सडक अवरुद्ध छन्। भालुवाङ-लिवाङ-रोल्पा माडीचौर सडक प्यूठानको गर्जेनी खण्डमा अवरुद्ध रहेकामा खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ।
तानसेन-रिडी-कोरला सडक म्याग्दीमा अवरुद्ध छ। ट्र्याक खोल्ने प्रयास गरिए पनि निरन्तर पहिरोका कारण समस्या भइरहेको छ।
धनगढी-सहजपुर-बुडर-स्याउले सडक कैलालीको एउटा खण्डमा पूर्ण रूपमा अवरुद्ध छ। यस खण्डमा झन्डै ३०० मिटर क्षेत्रमा पहिरो खसेको छ। १०० मिटर सडक भासिएको विभागले जनाएको छ। सडकको अवरोध हटाउन प्रयास भइरहेको छ।
बाढी-पहिरोका कारण अवरुद्धमध्ये हाल ३४ सडक एकतर्फी रूपमा चालू छन्।