सर्लाहीमा बाढीले बगाउँदा दुई जनाको मृत्यु
सर्लाहीमा बाढीका कारण दुई जनाको ज्यान गएको छ भने बागमती नदीको बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ।
सर्लाहीमा बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ। सर्लाहीका बाँके र बागमती खोलाले बगाउँदा क्रमशः हरिपुर्वा नगरपालिका-७ का ६० वर्षीय भोला चौधरी र रौतहटको गढीमाई नगरपालिका-२ समनपुरका ६५ वर्षीय शहीद राईन भाटको मृत्यु भएको हो।
चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए। उनको शव मंगलबार बाँके खोलामा फेला परेको थियो। यस्तै, भाटलाई खेतमा काम गर्न गएका वेला बाढीले बगाएको थियो। उनलाई लगत्तै स्थानीयले उद्धार गरी अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मंगलबार बाढीमा फसेका ७२ जनाको उद्धार समेत गरिएको छ। मंगलबार दिउँसो घाँस काट्न तथा गाईवस्तु चराउन गएका सर्लाहीको धनकौल गाउँपालिका अन्तर्गत पर्ने महिनाथपुरका स्थानीयमध्ये कतिपयले पौडी खेलेर ज्यान जोगाएका थिए भने कतिपयलाई प्रहरीले उद्धार गरेको थियो।
यस्तै, बागमती नदीको बाढीले समनपुर घाटमा सर्लाहीतर्फको सडक बगाएको छ।