रोल्पामा बस दुर्घटना: चार जनाको मृत्यु, १९ घाइते
बस सडकदेखि करीब १५० मिटर तल खसेर दुर्घटना भएको हो। घाइते १९ यात्रुमध्ये तीन जनाको अवस्था गम्भीर छ।
रोल्पाको परिवर्तन गाउँपालिका, बाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना.५ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका-७, तिला रीचिमा दुर्घटना भएको छ। दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।
मत्यु हुनेमा तीन पुरुष र एक महिला छन्। मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिकाका २२ वर्षीय प्रकाश बाँठा, माडी–४ का ५० वर्षीय गोरख डाँगी र उनकी श्रीमती ४५ वर्षीया हस्ता डाँगी र परिवर्तन–३ का ४६ वर्षीय भक्त विक रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए।
दुर्घटनामा १९ यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।
दुर्घटनामा परी घाइते हुनेमा रोल्पाको माडी-६ का १४ वर्षीय नवीन बुढा, वडा नं ७ का ६२ वर्षीय कमानसिंह सुनार, रोल्पा नगरपालिका-६, दार्वोटका २५ वर्षीय कमानसिंह घर्तीमगर र माडी-४ का नौ वर्षीय मिलन डाँगी छन्। माडी-६, कोर्चवाङका १५ वर्षीय मुकेश पुन, माडी-२ का २० वर्षीय जितेश बाँठा, सोही ठाउँका २३ वर्षीया हिमानी घर्तीमगर र उनका ११ महीनाको छोरा ओल्सन पनि घाइते भएका छन्।
अन्य घाइतेमा माडी-४ का ३३ वर्षीया कविता खड्का र उनका पाँच वर्षका छोरा युस, माडी-४ का २६ वर्षीया मीना डाँगी तथा माडी-२ का २८ वर्षीया त्रिपना बाँठामगर छन्।
यस्तै, परिवर्तन-३ का २४ वर्षीय खुम्बु बुढामगर, त्रिवेणी-२, नुवागाउँकी १७ वर्षीया पूर्णिमा बुढामगर, सोही ठाउँकी १३ वर्षीया सुस्मिता बुढामगर, माडी-२, घर्तीगाउँकी ४० वर्षीया बिर्जना घर्तीमगर र २४ वर्षीय कमल खड्का, रोल्पा नगरपालिका-६, दारबोटका २४ वर्षीय इन्द्रकुमार घर्तीमगर तथा दाङको घोराही उपमहानगरपालिका-१२, हापुरका २४ वर्षीय चालक हुमराज बस्नेत घाइते भएका छन्।
बस सडकदेखि करीब १५० मिटर तल खसेको सूचना अधिकारी भुसालले बताए।