सत्ता पक्षको दुई विकल्प, विपक्षी भन्छन् – खाली फर्कन्नौं
सभामुख कृष्णबहादुर महराले बिहीबार बिहान ११ः३० बजे सर्वदलीय बैठक बोलाए । झण्डै महीना दिन यता देखिएको संसदीय गतिरोध सुल्झाउने गरी भएको संभवतः यो पहिलो सर्वदलीय संवाद थियो ।
यसअघि नाराबाजीसहित विपक्षी वेल घेर्न पुग्थे भने सत्तापक्षका सांसदहरू रमिता हेरेर बस्थे । सभामुख महरा विपक्षीलाई बस्न र संसदीय कार्बाही अगाडि बढाउनका निम्ति साथ दिन पटक–पटक आग्रह गर्थे ।
१५ साउनमा पनि विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसदहरुले झण्डै एक घण्टा नाराबाजी सहित वेल घेराऊ गरे । संसदको अवरोध नहटेपछि सभामुख महराले १६ साउन दिउँसो २ बजेका लागि संसद बैठक स्थगित गरेका थिए ।
तर, संसद बैठक बस्नु अढाइ घण्टा अगाडि सभामुखले सर्वदलीय बैठक बोलाए । सभामुख महराको मनसाय सर्वदलीय सहमति जुटाएर बैठकको गतिरोध हल गर्ने थियो । यसका लागि दलीय प्रतिनिधिहरुलाई सभामुख महराले आग्रह गरे । दलहरुले अडान छोडेनन् । सभामुख महराले सूचना टाँसेर संसद स्थगित गरे ।
सत्तारुढको दुई विकल्प
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र समाजवादी पार्टी नेपालका सांसदहरुले विपक्षीसँग दुई विकल्पको प्रस्ताव राखे । राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशनपछि गृह मन्त्रालयबाट गठित समितिले कुमार पौडेल प्रकरणको अनुसन्धान गरिसकेको छ । प्रतिवेदन सार्वजनिक गर्न र त्यसमाथि छलफल हुन बाँकी रहेको र सञ्जयकुमार यादवको परिवारसँग स्थानीय तहमै १८ बुँदे सहमति जुटिसकेकाले संसद अवरोध हटाइदिन सत्तारुढ दलका प्रतिनिधिहरुले आग्रह गरे ।
दोस्रो विकल्पमा सत्तारुढ प्रतिनिधिले गृह मन्त्रालयको प्रतिवेदनमा चित्त नबुझे अर्को समिति बनाउने पनि प्रस्ताव गरे ।
कांग्रेस र राजपाका प्रतिनिधिहरुले भने सत्तारुढको दुवै प्रस्ताव अस्वीकार गरिदिए । नेकपाका प्रमुख सचेतक देव गुरुङ भन्छन्, ‘विपक्षी प्रतिनिधि साथीहरू लफडा गर्नेगरी आएको देखियो । सहमति जुट्न सकेन ।’
विपक्षीको जवाफ– खाली फर्कन्नौं
विपक्षी दलका नेताहरू भने सत्तारुढको अडानले सहमति जुट्न नसकेको बताउँछन् । राजपा अध्यक्ष मण्डलका अध्यक्ष राजकिशोर यादव सत्तारूढ प्रतिनिधिहरुले पेलेर जान खोजेकाले सहमति जुट्न नसकेको बताउँछन् । यादव भन्छन्, ‘हाम्रो मागबाट अल्मल्याउने गरी सत्तारुढ नेताहरु प्रस्तुत हुनुभएपछि सहमति कसरी जुट्छ ?’
अहिले संसदको अवरोध हटाएपछि आफ्नो माग पूरा हुनेमा अध्यक्ष यादव विश्वस्त छैनन् । उनी भन्छत्, ‘संसदीय छानविन समिति नबनेसम्म संसद चल्न दिन्नौं । वेलमा पुग्यौं, खाली हात फर्कन्नौं ।’
नेकपाका सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य झपट रावलले भने विपक्षीको मागकै अर्थ देख्दैनन् । ‘संसदको एउटा समितिले दुई दिनसम्म छलफल गरेर गृहमन्त्रीलाई छानबिन गर्न निर्देशन नै दिइसक्यो । बनेको प्रतिवेदनमा अव छलफल नै शुरु हुन्छ’, रावल भन्छन् ।
तर, दुवै पक्ष सर्वदलीय बैठकप्रति भने सकारात्मक देखिएका छन् । अध्यक्ष यादव भन्छन्, ‘सभामुखले ढिलै भएपनि सकारात्मक पहलकदमी लिनु भएको छ ।’
सूचना टाँसेर संसद स्थगित गरेका सभामुख महराले सर्वदलीय सहमति जुटाउन भन्दै सोमबार बिहान ११ बजेका लागि अर्को बैठक बोलाएका छन् ।
५ असारमा प्रहरीसँगको मूठभेडमा कुमार पौडेल मारिएको भन्ने प्रहरी भनाइ र भीड नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीबाट मारिएका सञ्जयकुमार यादव घटनाको संसदीय छानबिन समितिको माग गर्दै २४ असारदेखि विपक्षीले संसद अवरोध गर्दै आएका छन् ।