सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच सहमति
गौर घटनाको विषयमा दर्ता भएको जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउने सहमतिपत्रमा उल्लेख छ।
गौर हत्याकाण्डका पीडित संघर्ष समिति र सरकारबीच पाँचबुँदे सहमति भएको छ। गौर हत्याकाण्डको छानबिन र कारबाहीको माग सहित आन्दोलनरत समितिले सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
गृह मन्त्रालयका तर्फबाट सहसचिव एवं प्रवक्ता भट्टराई र संघर्ष समितिकी अध्यक्ष रूपसागरदेवी उपाध्यायले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।
सहमतिपत्रमा गौर घटनाका विषयमा दर्ता भएको जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउने भनिएको छ। यस्तै, उक्त घटनामा मृत्युवरण गरेर शहीद घोषणा गरिएका व्यक्तिको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने र छुटेकालाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको छ।
रौतहट जिल्लामा शहीद स्मारक स्तम्भ निर्माणको प्रक्रिया चालू आर्थिक वर्षमा अघि बढाउने, घाइते भएका उपचाररत व्यक्तिलाई उपचारको लागि उचित प्रबन्ध तथा आर्थिक सहायता उपलब्ध गराउने पनि सहमति भएको छ।