आवश्यक छ कार्यस्थलमा स्तनपान कक्ष
कामकाजी महिलाको संख्या बढ्दै गएको सन्दर्भमा कार्यस्थलमा स्तनपान कक्ष अत्यावश्यक भइसकेको छ।
कार्यस्थलमा स्तनपान कक्षको सुविधा उपलब्ध हुँदा महिलाहरूको कार्यसम्पादन राम्रो भई काममा थप उत्प्रेरित हुने विभिन्न अध्ययनले देखाएका छन्। यस्ता कक्षको उपलब्धताले महिलाहरूमा आफू कार्यरत संस्था र राष्ट्रप्रति नै प्रतिबद्धताको भावना बढ्ने पनि बताइन्छ।
यस्तै, आफ्नो कामकाजी जीवन र स्तनपानबीचको सन्तुलन कायम गर्न तथा आफूले गरेको काममा सन्तुष्टि महसूस गर्न पनि स्तनपान कक्षले मद्दत गर्छ। यसले महिला कर्मचारीलाई मातृत्व बिदापछि काममा फर्कन र बाल हेरचाहको लागि समय मिलाई कामलाई मातृत्वसँग जोड्न पनि भूमिका निर्वाह गर्दछ।
कार्यस्थल नजिक शिशु हेरचाह पहुँचयोग्य नहुँदा, दूध खुवाउने विश्राम, दूध पम्प गर्ने र भण्डारण गर्ने सूविधा उपलब्ध नहुँदा पूर्ण स्तनपान असम्भव जस्तै हुन्छ। यस्तै, कामकाजी महिलाहरू छोटो बिदापछि काममा फर्किंदा पनि उनीहरूको स्तनपान गराउने क्षमतामा ह्रास आउँछ।
सन् २०२२ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार ५५ प्रतिशत बालबालिकालाई मात्र जन्मेको एक घण्टाभित्र स्तनपान गराइन्छ। यस्तै, १० मध्ये ६ बालबालिकालाई मात्र जन्मेपछि पहिलो दुई दिनसम्म पूर्ण स्तनपान गराइन्छ।
विश्व स्वास्थ्य संगठनको सुझाव अनुसार ६ महीनासम्मका बालबालिकालाई पूर्ण रूपमा स्तनपान मात्र गराउनुपर्छ। नेपालमा ६ महीनामुनिका ५६ प्रतिशत बालबालिकालाई मात्र पूर्ण रूपमा स्तनपान गराउने गरिएको छ। ६ महीनाभन्दा मुनिका एक प्रतिशत बालबालिकालाई स्तनपान गराइएको छैन।
पूर्ण स्तनपान गराउन महिलाहरूलाई परिवार, स्वास्थ्य सेवा प्रणाली, समाज र ठूला रोजगारदाताको साथ र सहयोगको आवश्यकता पर्छ। यस्तै, सही स्तनपानको जानकारी पनि गराउन आवश्यक हुन्छ। सही स्तनपान र स्तनपानको निरन्तरताले बालबालिकाको पोषण स्थिति सुधार गरी ‘स्टन्टिङ’ (उमेर अनुसार बालबालिकाको वृद्धिविकास नहुनु)को भार पनि कम गर्छ।
कार्यस्थलमा स्तनपानलाई सहज बनाउने यस्तो अवधारणाको विकास विगतमा हुन सकेको थिएन। तर, सन् २०१२ मा अन्तर्राष्ट्रिय श्रम संगठनले कामकाजी दुनियाँ (वर्कफोर्स)मा प्रवेश गर्ने महिलाको संख्या बढ्दै गएको परिप्रेक्ष्यमा स्तनपानका लागि साथ, सहयोग र समर्थनलाई सुदृढ बनाउन आवश्यक छ भनी किटान गरेको थियो।
स्तनपानलाई कामकाजी जीवनसँग जोड्न नेपालमा पनि विभिन्न कानूनी प्रावधान छन्। श्रम ऐन, २०७४ को दफा ४५ र यसका साथमा सिफारिश उपदफा १-७ ले गर्भवती महिला श्रमिकले प्रसूतिको अघि वा पछि १४ हप्ताको प्रसूति बिदा पाउने, प्रसूति हुने सम्भावित मितिभन्दा कम्तीमा दुई हप्ता अगाडिदेखि प्रसूति भएको कम्तीमा ६ हप्तासम्म अनिवार्य रूपमा बिदा बस्नुपर्ने व्यवस्था गरेको छ।
साथै, दफा ४५ को उपदफा (३)मा ‘उपदफा (१) बमोजिमको प्रसूति बिदा लिने महिला श्रमिकले ६० दिनको पूरा पारिश्रमिक पाउनेछ र बाँकी अवधिको पारिश्रमिक पाउने छैन’ भनी उल्लेख छ।
उपदफा (४)मा ‘प्रसूति भएको महिला श्रमिक वा निजको शिशुको स्वास्थ्यको लागि थप आराम आवश्यक पर्ने भनी मान्यताप्राप्त चिकित्सकले सिफारिश गरेमा रोजगारदाताले प्रसूति बिदासँगै निरन्तर हुने गरी उपदफा (१) मा उल्लिखित अवधिको अतिरिक्त थप एक महीनासम्मको बेतलबी बिदा स्वीकृत गर्ने वा अन्य बिदामा समायोजन हुने गरी बिदा दिनु पर्नेछ’ भनी उल्लेख छ।
यस्तै, सात महीना वा सोभन्दा बढी गर्भ रहेको महिला श्रमिकको शिशु मृत जन्मिएमा वा गर्भपतन भएमा प्रसूति भए सरह बिदा पाउने पनि ऐनले व्यवस्था गरेको छ।
उपदफा (६)मा ‘बच्चा जन्मेको ६० दिन नपुग्दै आमाको मृत्यु भएमा त्यस्तो पत्नीको मृत्यु हुने श्रमिकले आफू कार्यरत रोजगारदाताबाट शिशु स्याहारको लागि पारिश्रमिक सहित बाँकी अवधिको बिदा लिन पाउनेछ’ र उपदफा (७)मा ‘कुनै पुरुष श्रमिकको श्रीमती सुत्केरी हुने भएमा निजले पारिश्रमिक सहितको १५ दिन प्रसूति स्याहार बिदा पाउनेछ’ भन्ने पनि उल्लेख छ।
सुत्केरी बिदा, बिरामी बिदा र बिदा सङ्कलनमा यो श्रम ऐनसम्म आइपुग्दा नेपालले प्रसूति बिदामा ठूलो छलाङ मारेको छ। यो ऐनमा १४ हप्तासम्म सुत्केरी बिदा दिने र ६० दिनको पूरा पारिश्रमिक पाउने व्यवस्था छ। अघिल्लो श्रम ऐनमा यो अवधि ५२ दिन थियो।
हाल नेपाल सरकारले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार २०७५’ को खण्ड १३ लाई संशोधन गर्दै ९८ दिनको सुत्केरी बिदालाई दोब्बर बनाउने तयारी गरेको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा संशोधित मस्यौदालाई कानून मन्त्रालयमा पेश गरिसकिएको अवस्था छ।
कामकाजी महिलाहरूलाई दिइने प्रसूति बिदा ६ महीना पुर्याउने नेपाल सरकारको कदम स्तनपानको संरक्षण, प्रवर्द्धन तथा बाल्यकालीन पोषणको सुधारमा लाभकारी सावित हुनेछ। साथै, स्तनपानलाई कामकाजी जीवनसँग जोड्न कार्यस्थलमा स्तनपान कक्ष अब अत्यावश्यक भइसकेको छ।
अधिकारी पोषणविज्ञका रूपमा कार्यरत छिन्।