काठमाडौंका विभिन्न क्षेत्र डुबानमा
बाढीकै कारण काठमाडौंको सामाखुशीको रेडन कलेज आसपासका बस्ती, कपनको नीलो पुल र मूलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।
गएरातिदेखिको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेको छ। भारी वर्षाका कारण काठमाडौं उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुह्येश्वरी, कपन, सामाखुशी, अनामनगर लगायत क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए।
उनले भने, “भारी वर्षाले काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन्। डुबान भएका क्षेत्रमा हाम्रो प्रहरी टोली बिहानैदेखि खटिएको छ। सचेतनाका लागि बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पट्रोलिङ र माइकिङ भइरहेको छ।”
यसैगरी भारी वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ। काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ।
विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा जलसतह बढेकाले बिहान ११ः०० बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
बाढीकै कारण काठमाडौंको सामाखुशीको रेडन कलेज आसपासका बस्ती, कपनको नीलो पुल र मूलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। अविरल वर्षाका कारण उपत्यकाका नदी अझै बढ्ने आकलन गरेर ठाउँ ठाउँमा प्रहरी टोली परिचालन गरी सचेतना अपनाउन आम नागरिकलाई आग्रह गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले जानकारी दिए। -रासस