पहिरोले नारायणगढ-मुग्लिन सहित ६ राजमार्ग अवरुद्ध
पहिरोले नारायणगढ-मुग्लिन सहित देशका विभिन्न भागमा ६ वटा राजमार्ग अवरुद्ध भएका छन्।
गएराति चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित काली खोलामा पहिरो खसेसँगै नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको हो। काली खोलामा लेदो सहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ।
काली खोलासँगै चार किलो, नाम्सी, टोपे खोलामा पनि पहिरो खसेको छ। टोपे खोलामा निरन्तर ढुङ्गा खसिरहेको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ।
पहिरोका कारण सडक अवरुद्ध भएसँगै यात्रु र सवारीसाधन अलपत्र परेका छन्। यस सडकखण्डमा पटक पटक पहिरो खस्दै आएको छ।
त्यस्तै, हेटौंडालाई काठमाडौंसँग जोड्ने कान्तिलोकपथ र मदन भण्डारीमार्ग पनि पहिरोले अवरुद्ध भएका छन्। गएराति मकवानपुरको भीमफेदी गाउँपालिका-२ ज्यालटारस्थित मदन भण्डारीमार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा पहिरो खसेको हो। पहिरोका कारण बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।
त्यस्तै गएराति नै मकवानपुरको बकैया-११, लामराङस्थित कान्ति लोकपथ सडकखण्डमा पहिरो खसी दुवैतर्फी बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ।
तमोर करिडोर पनि पहिरोको कारण अवरुद्ध छ। पाँचथरको माझीटारमा पहिरोले राजमार्ग अवरुद्ध भएको हो।
गएराति पहिरो जाँदा तानसेन-रिडी-कोरला राजमार्ग पनि अवरुद्ध छ। म्याग्दीको बैसारीमा पहिरो गएको बेनी जोमसोम कोरला सडक योजनाले जनाएको छ।
यससँगै दुई दिनदेखि भालुवाङ-लिवाङ-रोल्पा-माडीचौर- दारबोट राजमार्ग पनि पहिरोले अवरुद्ध छ। प्यूठानको गर्जेनीमा पहिरो खस्दा साउन २२ गतदेखि नै यो राजमार्ग अवरुद्ध छ। पहिरो खसिरहेकाले पन्छाउन कठिनाइ भएको सडक डिभिजन, प्यूठानले जनाएको छ।