कर छलीका विवादास्पद व्यवसायी प्रधानमन्त्रीका सद्भावना दूत
प्रधानमन्त्री पुष्पकमल दाहालले कर छलीको आरोप लागेका व्यवसायी निरजगोविन्द श्रेष्ठलाई सद्भावना दूत बनाएको भेटिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत श्रेष्ठलाई बौद्ध दर्शनको प्रर्वद्धनका लागि सद्भावना दूत नियुक्त गरिएको हो। गत जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई अवैतनिक सद्भावना दूत बनाउने निर्णय गरेको थियो। बौद्ध दर्शन र गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार र प्रवर्द्धन गर्न उनलाई सद्भावना दूत नियुक्त गरिएको जनाएको छ।
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव ल्याएको थियो। मन्त्रिपरिषद् बैठकको जेठ ३० गतेको बैठकले २१ वटा निर्णय गरेको थियो। श्रेष्ठको नियुक्ति सम्बन्धी निर्णय २०औं नम्बरमा छ।
बेलारुसमा बस्दै आएका व्यवसायी श्रेष्ठ टेलिकम सेवा प्रदायक एनसेलको स्वामित्व किनबेचमा कर छलीको आरोप लागेका व्यवसायी हुन्। एनसेलमा रहेको २० प्रतिशत शेयर स्वामित्व बिक्री गर्दा श्रेष्ठले कम्तीमा रु.६ अर्ब १५ करोड ४९ लाख कर छली गरेको सरकारी लेखापरीक्षक महालेखा कार्यालयले औंल्याएको छ।
महालेखा परीक्षकको ५४औं प्रतिवेदनमा २०७२ सालमा एनसेलमा रहेको श्रेष्ठको २० प्रतिशत शेयर बिक्री गर्दा वास्तविक मूल्यभन्दा न्यून मूल्याङ्कन गरिएको उल्लेख छ। प्रतिवेदनका अनुसार एनसेलमा रहेको श्रेष्ठको शेयरको मूल्याङ्कन रु.३६ अर्ब १९ करोड ५६ लाख हुनुपर्नेमा रु.११ अर्ब ५७ करोड ६० लाख मात्रै मूल्याङ्कन गरी कर छली गरिएको थियो।
एनसेलमा रहेको ८० प्रतिशत शेयर टेलियासोनेराले मलेशियाको आजियटालाई बिक्री गर्दा व्यवसायी श्रेष्ठले पनि आफ्नो स्वामित्वको २० प्रतिशत शेयर भावना सिंह श्रेष्ठलाई बिक्री गरेका थिए। यसरी शेयरको मूल्यको न्यून मूल्याङ्कन गरेर श्रेष्ठले रु.दुई अर्ब ८३ करोड मात्रै कर तिरेका थिए। यो कारोबारमा रु.२४ अर्ब ६१ करोड ९६ लाख न्यून मूल्याङ्कन गरिएको महालेखाले प्रतिवेदनमा उल्लेख छ। जस अनुसार कर छली भएको रकम रु.६ अर्ब १५ करोड ४९ तथा यसको ब्याज समेत असुल गर्न सरकारी निकायलाई सुझाव दिइएको छ।
यसपश्चात् आन्तरिक राजस्व विभाग अन्तर्गतको ठूला करदाता कार्यालयले श्रेष्ठलाई थप कर निर्धारण गरेको थियो। थप कर निर्धारण विरुद्ध श्रेष्ठ मुद्दा लिएर सर्वोच्च अदालत गएका छन्। यो मुद्दाको अन्तिम किनारा लागेको छैन।
यसअघि श्रेष्ठ खोज पत्रकारिता केन्द्र र दी इन्टरन्याशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टको सहकार्यको नेपालिक्समा जोडिएका विवादास्पद पात्र पनि हुन्। उनले कर छलीका लागि उपयुक्त मानिने ‘ट्याक्स हेभन’ मुलुकमा लगानी गरेका थिए। उक्त खोजले श्रेष्ठ सहित गैरआवासीय नेपाली व्यवसायी उपेन्द्र महतो, उनका भाइ वीरेन्द्र महतोले नेपालमा व्यवसाय गर्ने, गैरकानूनी आर्जन विदेश पुर्याउने र विदेशमा कम्पनी खोली अफशोर कारोबार गर्ने गरेको देखाएको थियो।
गैरआवासीय नेपाली निरजगोविन्द श्रेष्ठको विदेशमा कैयौं कम्पनीमा लगानी छ। नेपालिक्स प्रकरणपछि व्यवसायी श्रेष्ठले विज्ञप्ति जारी गर्दै सन् १९७९ मा सरकारी छात्रवृत्तिमा तत्कालीन सोभियत संघमा उच्च शिक्षा पढ्न जाँदा १५० डलर बाहेक नेपालबाट आफूले कुनै लगानी वा प्रतिफल विदेश नलगेको दाबी गरेका थिए।
श्रेष्ठको प्रधानमन्त्री दाहालसँग निकट सम्बन्ध छ। प्रधानमन्त्री पुष्पकमल दाहालले २०७६ वैशाखमा आफ्नो विवाहको ५०औं वर्षगाँठ विवादास्पद व्यवसायी श्रेष्ठकै ललितपुरको सुनाकोठीस्थित भव्य बंगलामा मनाएका थिए। यो भोजमा सोल्टी होटलबाट भोजनको प्रबन्ध गरिएको थियो जसको खर्च श्रेष्ठले नै बेहोरेको स्रोतको दाबी छ। उच्च राजनीतिक नेतृत्वबीच छलफलका लागि उनको सुनाकोठीस्थित घर पटक पटक प्रयोग हुँदै आएको छ।
श्रेष्ठसँग परिचित व्यक्ति भने सद्भावना दूतमा उनको नियुक्ति उपयुक्त रहेको दाबी गर्छन्। बौद्ध धर्म-दर्शनबारे गहिरो रुचि भएका श्रेष्ठले यूरोपमा बौद्ध दर्शनको प्रचारप्रसारका लागि यसअघिदेखि नै काम गर्दै आएको उनीहरूको भनाइ छ।
पछिल्लो समयमा सरकारका नियुक्तिका विषयमा प्रश्न उठिरहेका छन्। प्रधानमन्त्री दाहालको इच्छामा सरकारले विवादास्पद पृष्ठभूमिका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति गरेपछि यसले विवाद निम्त्याएको छ।