एमाले अवराेधले राष्ट्रिय सभा बैठक स्थगित
करीब १०० किलो सुन तस्करी प्रकरणलाई लिएर राष्ट्रिय सभाको बैठक सोमबार पनि अवरुद्ध भएको छ।
राष्ट्रिय सभाको बैठक प्रारम्भ हुने बित्तिकै नेकपा (एमाले)का सांसदले विरोध जनाएका थिए। उनीहरूले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका थिए।
प्रमुख प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद दिलकुमारी रावललाई बोल्न समय दिएका थिए। सांसद रावलले करीब १०० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म संसद्को कारबाही अघि बढ्न नदिने बताइन्।
अध्यक्ष तिमिल्सिनाले एमाले सांसदलाई सहयोग गर्न पटक पटक आग्रह गरे पनि उनीहरूले उच्चस्तरीय छानबिन समिति गठनमा जोड दिइरहेछ। जसले गर्दा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाको बैठक साउन २४ गते दिउँसो १ बजे बस्ने गरी स्थगन गरेका छन्।
साउन ३ गते हङकङबाट आएको करीब १०० किलो सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको थियो। यसमा अहिलेसम्म १८ जना पक्राउ परेका थिए।
विभागले यसको अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिएको छ। सीआईबीले राजस्व चुहावटसँगै संगठित अपराधमा पनि अनुसन्धान गर्ने भएको छ।