माओवादीले विशेष अभियान चलाउने
नेकपा (माओवादी केन्द्र)ले विशेष अभियानका रूपमा तीनमहीने अभियान सञ्चालन गर्ने भएको छ।
माओवादीको केन्द्रीय समिति बैठकले विशेष अभियान चलाउने तय गरेको हो। केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले अभियानका क्रममा देशभित्रका प्रत्येक घर परिवारलाई भेट्न र कुनै पनि घर नछाड्न केन्द्रीय सदस्यलाई निर्देशन दिए।
यो अभियानमा सात प्रदेशका सात वडामा अध्यक्ष दाहाल पनि खटिने भएका छन्। अभियानमा पार्टीका सबै नेता तथा कार्यकर्ता कार्यक्षेत्रमा खटिनुपर्ने दाहालको भनाइ थियो।
अहिले पनि पार्टी र नेतृत्व घेराबन्दीमा रहेको दाहालको जिकिर थियो। भ्रष्टाचार विरोधी अभियान योजनाबद्ध तरीकाले सञ्चालन गरिएको उनले बताए। “माओवादीले गरेन भने त्यसको नेतृत्व अरू कसैले गर्न सक्दैन भनेर योजनाबद्ध तरीकाले अघि बढेका हौं। हामी यसलाई त्यत्तिकै छाड्दैनौं, यो अभियानमा सबै कमरेडहरूले साथ दिनुहोला,” दाहालले भने।
जनतासँग एकाकार भएको खण्डमा माओवादीले पुनः देशको पूर्ण नेतृत्व गर्ने दाहालको भनाइ थियो। उनले विगतमा पार्टीमा केही अन्योलमा परे जस्तो भए पनि केन्द्रीय समितिको बैठकपछि ती सबै हटेको बताए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय समितिको बैठक असाधारण रूपमा सम्पन्न भएको र विभिन्न २५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको बताए। समाजवादी क्रान्तिको अभियान शुरू भएको उल्लेख गर्दै उनले ‘जनतासँग माओवादी विशेष रूपान्तरणका लागि अभियान’ सञ्चालन गर्न लागिएको बताए।
उनका अनुसार अभियानको आगामी भदौ १६ गते उद्घाटन हुनेछ। अभियानमा जनताका घरघरमा जाने र जनताको गुनासो सुन्ने र पार्टीमा केन्द्रित गरिने प्रवक्ता महराले जानकारी दिए। यही साउन १७ गतेदेखि शुरू भएको बैठकमा अध्यक्ष दाहालले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नुपर्नेछ।
माओवादीले केन्द्रीय समितिलाई ४०९ सदस्यीय बनाएको छ। केन्द्रीय समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। बैठकमा ३८७ पूर्ण र १९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका सदस्य ४१ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता थियो।