विश्वकप छनोटको तयारीका लागि देविका कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त
आईसीसी महिला टी-२० विश्वकप छनोटको तयारीका लागि भारतीय पूर्व क्रिकेटर देविका दिलीप पल्शिकरलाई नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले पल्शिकरलाई कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त गरेको जनाएको छ। उनले भारत र बाङ्लादेशको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेकी छन्। त्यस्तै, गत सिजनको वुमन्स प्रिमियर लिगमा मुम्बई इन्डियन्स क्लबबाट ब्याटिङ प्रशिक्षकको भूमिका निर्वाह गरेकी थिइन्।
उनी सन् २०१४ देखि २०१६ सम्म भारतको सहायक प्रशिक्षक रहेकी थिइन्। त्यसपछि सन् २०१८ मा बाङ्लादेशको सहायक प्रशिक्षक बनेकी थिइन्।
मलेशियामा यही अगस्ट ३१ देखि सेप्टेम्बर ९ सम्म आयोजना हुने आईसीसी महिला टी-२० विश्वकप एशिया छनोट प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा आयोजक मलेशिया, बहराइन, यूएई र कतार छन्।
त्यस्तै, समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन्। फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउनेछन्।
छनोट प्रतियोगिता खेल्न रुविना क्षेत्रीको नेतृत्वमा नेपाली टोली घोषणा गरिएको छ। जसमा सीता रानामगर, इन्दु बर्मा, अप्सरी बेगम, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, ईश्वरी विष्ट, कृतिका मरासिनी, बिन्दु रावल, नेरी थापा, काजोल श्रेष्ठ र सम्झना खड्का छन्।
त्यस्तै, सरस्वती चौधरी, स्नेहा महरा, सृष्टि जैसी, कञ्चन श्रेष्ठ, रोमा थापा, सबनम राई, पूजा महतो, खुसी डंगोल, मनीषा चौधरी, ज्योति पाण्डे र रुबी पोद्दार छन्।