जो छुट्टीमा आए, घरमै थलिए
वैदेशिक रोजगारीबाट छुट्टीमा स्वदेश फर्किएका कैयौं युवा घरमै थला परेका छन्। उनीहरूलाई न कम्पनी हेर्छ न त सरकारले नै।
मलेशियामा १२ वर्ष बिताएका झापाको बाह्रदशी गाउँपालिका-२ का ३५ वर्षीय पूर्णबहादुर राजवंशी बिदामा घर आवतजावत गरिरहन्थे। मलेशिया बसाइ राम्रै चलिरहेको थियो, रोजगारी गर्दागर्दै घर पनि बनाए। परिवारलाई सहज रूपमा दैनिकी चलाउने अवस्थामा ल्याए।
२०७९ जेठमा उनी ६ महीनाको छुट्टी लिएर नेपाल फर्केका थिए। यति लामो बिदा लिनुको उद्देश्य थियो, बिहे। गत असारमा विवाह पनि गरे।
छुट्टी सकिन लाग्दै थियो, एकाएक बिसन्चो भयो। “शरीर कमजोर भए जस्तो महसूस भयो। छाती दुख्ने, थकाइ लाग्ने हुन थाल्यो,” पूर्ण भन्छन्।
गाउँ नजिककै अस्पताल गए। चिकित्सकले रगतको कमीका कारण समस्या आएको सुनाए। उनलाई सात पाउन्ड रगत चढाइयो। उनी निको भएर घर फर्किए।
एक महीनासम्म त ठीकै भएको थियो, फेरि उही समस्या देखियो। त्यसपछि चिकित्सकको सल्लाह अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे। “बोनम्यारोमा समस्या देखियो,” पूर्ण सुनाउँछन्।
अस्पताल धाएको तीन महीनापछि रोग पत्ता लाग्यो। त्यसपछि चिकित्सकले उनलाई तीन वटा सुझाव दिए। बोनम्यारो प्रत्यारोपण, सुई लगाउने वा नियमित औषधि खाने।
बोनम्यारो प्रत्यारोपण गर्न झन्डै ३० लाख रुपैयाँसम्म लाग्न सक्ने चिकित्सकले बताए। त्यो सुन्ने बित्तिकै उनले प्रत्यारोपणबारे सोच्नै छाडे।
सुई लगाएर ४५ देखि ५० प्रतिशत बिरामी निको भएको चिकित्सकले बताएका थिए। त्यसका लागि पनि झन्डै १५ लाख रुपैयाँसम्म लाग्ने चिकित्सकबाटै थाहा पाए। त्यो पद्धतिको उपचार पनि उनका लागि गाह्रै भयो।
त्यसपछि उनले तेस्रो उपाय अपनाए, नियमित औषधि सेवन। “औषधि पनि महँगै हुँदो रहेछ,” उनी भन्छन्, “औषधि किन्ने पैसा जुटाउन पनि गाह्रो भइरहेको छ।”
उनलाई यस्तो समस्या कसरी आइलाग्यो, पत्तै पाएनन्। भर्खर बिहे भएकाले परिवारलाई कसरी छोडेर विदेश जाने भन्ने तनावमा थिए उनी। “भर्खर विवाह गरेर बस्दै गरेको परिवार छोडेर जाने मन नै थिएनँ, तर नगई नहुने बाध्यता पनि थियो,” उनी भन्छन्।
यसअघि पनि बाध्यताले नै विदेशिएका थिए। २०५६ सालमा कक्षा ९ उत्तीर्ण गरेर कक्षा १० मा भर्ना हुने तयारीमा थिए। “द्वन्द्व चर्केको थियो। एक घर, एक माओवादी हुनैपर्ने भएपछि भोगेर भारत गएँ,” पूर्ण सम्झिन्छन्।
केही वर्ष भारतमा मजदूरी गरेपछि घर फर्किए। त्यति वेला माओवादी सशस्त्र द्वन्द्व त सकिएको थियो, त्यससँगै उनको स्कूले उमेर पनि ढल्किसकेको थियो। “गाउँमा रोजगारी थिएन, पढाइ पनि भएन,” उनी भन्छन्, “घरपरिवार चलाउन विदेश जाने निधो गरें।”
२०६७ सालमा ऋणदान गरेर मलेशिया उडेका थिए। ऋण तिरे, घर बनाए, परिवारलाई सहज रूपमा दैनिकी चलाउने अवस्थामा पुर्याए। त्यसका लागि रातदिन नभनी १२ वर्ष खटिए। त्यही खटाइले बोनम्यारोमा समस्या आएको चिकित्सकले सुनाएको उनी बताउँछन्। “अहिले न स्वास्थ्य रह्यो न त पैसा जोगियो,” उनी दुःखेसो गर्छन्।
त्यस्तै, झापाकै बिर्तामोड नगरपालिका-३ का समुद्र माझी हरिजन पनि घर फर्किएपछि थला परेका छन्। उनी २०७८ फागुन ७ मा यूएईबाट स्वदेश स्वदेश फर्किएका थिए।
पातलो ज्यानका समुद्र चार वर्ष दुबई बसेर आउँदा हृष्टपुष्ट थिए। घर फर्केको दुई महीनापछि २०७९ वैशाखमा विवाह गरेर फेरि दुबई जाने योजनामा थिए।
समुद्र मोटाएको देखेर उनकी आमा मीना हरिजनलाई भने चिन्ता लाग्यो। “सबैले छोरा त मोटोघाटो भएको भनेर प्रशंसा गरे, तर मलाई कता कता शङ्का लाग्यो,” मीना भन्छिन्, “खाना खान मन नै गर्दैनथ्यो। निदाउँदा पनि असाध्यै घुर्थ्यो, असजिलो महसूस गरे जस्तै लाग्थ्यो।”
छोराको ज्यान फुलेको जस्तो लागेको थियो, मीनालाई। त्यसैले उनले स्वास्थ्य जाँच गराउन अस्पताल लग्ने निधो गरिन्। “डाक्टरले त छोराको मिर्गौलाले ९० प्रतिशत काम गर्न छोडेको बताउनुभयो,” उनी भन्छिन्।
छोराको मिर्गौलामा समस्या देखिएको सुन्दा मीनालाई संसारका सारा दुःख आफ्नै भागमा परे जस्तो लाग्यो। नलागोस् पनि किन? २०७० वैशाखमा ठूलो छोरा सागरलाई गुमाएकी थिइन्। वैदेशिक रोजगारीका क्रममा कतारमा सागरको ज्यान गएको थियो। हृदयाघातका कारण ठूलो छोराको मृत्यु भएको खबर पाएकी थिइन्।
यो पूर्ण र समुद्रको मात्रै नभई विदेशबाट घर फर्किएका अधिकांश मजदूरले भोग्नुपर्ने साझा समस्या हो। विदेशबाट राम्रै फर्के पनि केही समयपछि बिरामी पर्ने गरेका छन्। विदेशबाट बिरामी वा घाइते भएर फर्केकाहरूको त तथ्याङ्क हुन्छ तर घरमा बिरामी हुनेको तथ्याङ्क पनि छैन। उनीहरू किन बिरामी भइरहेका छन् भन्ने सरकारी तथा गैरसरकारी संस्थाले चासो लिएका पनि छैनन्।
प्रायः विदेशबाट फर्केकाहरूमा जटिल स्वास्थ्य समस्या देखिंदै आएको डा. अमर कपुरी बताउँछन्। झापामा मिर्गौलाका बिरामीको उपचार गर्दै आएका डा. कपुरी अन्यको तुलनामा वैदेशिक रोजगारीबाट फर्किएका बिरामीमा मिर्गौलाको अवस्था जटिल देखिने सुनाउँछन्। मिर्गौलाको समस्या लिएर आउनेमध्ये धेरैजसो विदेशबाट आएका व्यक्ति हुने गरेको उनको अनुभव छ।
किन यस्तो हुन्छ त? डा. कपुरी भन्छन्, “विदेशमा प्रयोग हुने पानीमा नुनको मात्रा बढी हुनु र शरीरमा पानीको मात्रा कम हुनुले पनि जटिल प्रकृतिका रोगहरू बढी देखिन्छन्।”
उपचारमा समस्या
बोनम्यारो प्रत्यारोपण गर्न आर्थिक अवस्थाले धान्न नसकिने भए पनि पूर्ण औषधि खाइरहेका छन्। तर, अहिले औषधि खान पनि अप्ठ्यारो भएको छ। औषधि किन्न नसक्ने अवस्था आएपछि सहयोग जुटाउन उनका साथी वरुण राजवंशी खटिएका छन्। उनले यसका लागि सामाजिक सञ्जालमा अनुनय गर्दै आएका छन्। “अप्ठ्यारोमा परेको वेला सहयोग त गर्नैपर्यो तर त्यति ठूलो रकम एक्लै जुटाउन सम्भव छैन,” वरुण भन्छन्, “सामाजिक सञ्जालमा साथीहरूसँग सहयोगका लागि अपील गरिरहेको छु।”
समुद्रको उपचारमा पनि परिवारजनलाई सकस भएको छ। उनी गत चैतयता नियमित मिर्गौलाको डायलासिस गराइरहेका छन्। “डायलासिसका लागि समुद्रलाई सातामा तीन पटक विराटनगर ओहोरदोहार गराइरहन्छु,” उनकी मीना भन्छिन्।
मिर्गौला प्रत्यारोपणका लागि उनको परिवारले सबै प्रक्रिया पूरा गरिसकेको छ। “मिर्गौला प्रत्यारोपणको तयारीमा छौं तर पैसाको जोहो गर्न सकिएको छैन,” उनी भन्छिन्।
समुद्रको उपचारका क्रममै उनको परिवारले लाखौं रुपैयाँ खर्च गरिसकेको छ। बिर्तामोडमा रहेको घर बेचेको छ। अहिले भाडामा बस्दै आएको उनले जनाउँछिन्। अब के गर्ने भन्ने सोच्नै नसकेको उनी बताउँछिन्।
समुद्रका साथी पनि सामाजिक सञ्जालमै हारगुहार गरिरहेका छन्। उनीहरूले ‘समुद्र बचाऊ’ अभियान चलाइरहेका छन्।
श्रम र पसिना विदेशी भूमिमा बगाएका युवा बिरामी पर्दा भने हात पसारिरहेका छन्। उनीहरूलाई सरकारले उपचारका लागि कसरी सघाउँछ? “वैदेशिक रोजगारीमा गएर बिरामी भएर फर्किएका, श्रम स्वीकृति लिएर घर बिदामा आएका बिरामीका हकमा सरकारले अवस्था हेरेर सहयोग गर्छ,” वैदेशिक रोजगार बोर्डका नायब सुब्बा आशिष भण्डारी भन्छन्, “तर, बिरामीले त्यसका लागि पहल गर्नुपर्ने हुन्छ।”
वैदेशिक रोजगारीका क्षेत्रमा काम गर्दै आएको सामी परियोजनाको झापा जिल्ला संयोजक फणीन्द्र दाहाल सरकारले गर्ने सहयोग नगण्य रहेको बताउँछन्। “वैदेशिक रोजगारीमा गएका व्यक्ति र उनीहरूको परिवार बिरामी हुँदा सरकारले ५० हजार रुपैयाँसम्म सहयोग गर्दै आएको छ,” दाहाल भन्छन्, “थोरै रकम पाइने भएकाले हत्तपत्त निवेदन नै पर्दैन।”
सरकारले श्रमिकको अधिकारको विषयलाई बेवास्ता गर्दा समस्या भएको समाजशास्त्री डा.मीना पौडेल बताउँछिन्। “खाडी मुलुकमा काम गर्न गएका श्रमिकको सामाजिक सुरक्षाका सवालमा सरकार कुरा गर्न नै डराउँछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम ऐनसँग जोडिएको सामाजिक सुरक्षाको प्रावधानभन्दा सरकार कति श्रमिक लैजाने, कति रकम रेमिटेन्स भित्र्याउने भन्ने कुरामा मात्रै जोड दिन्छ,” डा. पौडेल भन्छिन्, “सरकारको बेवास्ताले श्रमिकले सास्ती खेपिरहेका छन्।”
वैदेशिक रोजगारीमा रहेका श्रमिकको अधिकार विषयमा सरकारले बेवास्ता गर्दा जटिल स्वास्थ्य समस्या झेल्नुपरिरहेको उनको भनाइ छ। “खाडी मुलुकमा काम गर्ने श्रमिकले पर्याप्त पानी खान नपाउनु, पाए पनि शौचालय टाढा हुनु, निश्चित समयमा काम सक्नैपर्ने दबाब हुनु लगायत कारण श्रमिकले आफ्नो स्वास्थ्यको ख्याल नै गर्न पाउँदैनन्,” डा.पौडेल भन्छिन्। यस्तो समस्याबारे सरकारले कुरा उठाउने नगरेकाले श्रमिकले ज्यानै गुमाउनुपरिरहेको उनी बताउँछिन्।
पूर्ण र समुद्रको जस्तो समस्या झापाका थुप्रै युवाले खेपिरहेका छन्। यो समस्या झापामा धेरै देखिनुमा त्यहाँबाट वैदेशिक रोजगारीमा जाने युवा धेरै भएको सरोकारवाला बताउँछन्। सरकारी तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जाने युवामा धनुषापछि झापा दोस्रोमा आउँछ। गत वर्ष झापाबाट ७० हजारभन्दा बढी युवा रोजगारीका लागि विदेशिएका थिए।
अहिले पनि जिल्ला प्रशासन कार्यालयमा दैनिक ५० भन्दा बढी युवा वैदेशिक रोजगारीका लागि राहदानी बनाउने लाइनमा हुन्छन्। जसरी विदेश जान राहदानी बनाउनेको लाइन लाग्ने गरेको छ, त्यसैगरी लामो समय विदेशमा बसेर फर्किएका तन्नेरी उपचारका लागि अस्पतालको लाइनमा देखिन्छन्।