केदारनाथ पहिरोमा हराएका तीन नेपालीको शव भेटियो, अझै १३ सम्पर्कविहीन
भारतको उत्तराखण्डस्थित केदारनाथ धाम नजिकै गएको पहिरोमा परी हराएका तीन जना नेपालीको शव भेटिएको छ भने अझै १३ जना सम्पर्कविहीन छन्।
शनिबार साँझसम्म तीन जनाको शव भेटिएको भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले जनाएका छन्। खोजबिनका क्रममा तीन जना नेपालीको शव भेटिएको हो।
उनीहरू तीनै जना कालिकोटका हुन्। टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको जनाइएको छ।
त्यस्तै, पहिरोमा परी १३ जना हराइरहेको राजदूत शर्माले जनाएका छन्। उनले ट्वीटर मार्फत जानकारी दिंदै हराइरहेका नेपालको खोजबिन जारी रहेको बताएका छन्।
केदारनाथ धामको पैदलयात्रा शुरू हुने स्थान नजिकै साउन १८ गते राति पहिरो गएको थियो। पहिरोमा परी होटल व्यवसाय गरेर बसेका जुम्लाका एकै परिवारका सात जना, रोजगारीको सिलसिलामा केदारनाथ पुगेका जुम्लाकै चार जना र कालिकोटका पाँच जना हराएका थिए। उनीहरूमध्ये कालिकोटका तीन जनाको शव भेटिएको हो।
पहिरोमा हराइरहेका नेपालको खोजीका लागि परराष्ट्र मन्त्रालय मार्फत पहल भइरहेको राजदूत शर्माले जनाएका छन्। उद्धार कार्यमा खटिएका निकायसँग राजदूतावासले निरन्तर सम्पर्क गरिरहेको उनले बताएका छन्।
केदारनाथ धाम क्षेत्रमा पानी परिरहेको र नदीको जलस्तर बढिरहेकाले खोजबिनमा कठिनाइ भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।