तिक्खर स्वादका थारू परिकार
तिक्खर र फरक स्वादका कारण पछिल्लो समय ‘थारू परिकार’ ब्रान्ड बन्दै गएको छ।
केही वर्षअघिसम्म थारू बस्तीमै सीमित ‘थारू परिकार’ अहिले भने ब्रान्ड बन्दै गएको छ। गाउँदेखि शहरसम्म धेरैको रोजाइमा थारू परिकार परिरहेका छन्। कतिपय मानिस थारू परिकारको स्वाद लिन थारू होमस्टे र होटलमा पुग्न थालेका छन्।
घोराही उपमहानगरपालिका-१६ स्थित कबिला रिसोर्टमा हरेक दिन थारू परिकारको स्वाद लिन आउनेको घुइँचो लाग्ने गरेको छ। थारू समुदायभन्दा गैरथारू समुदायका मान्छे बढी आउने गरेको रिसोर्टका प्रबन्धक विकास चौधरी बताउँछन्।
थारू परिकार स्वस्थ, अर्गानिक र स्वादिलो भएकाले पनि सबैको रोजाइ भएको चौधरीको बुझाइ छ। यो रिसोर्टमा विशेष गरेर थारू परिकार ढिक्री, घोंगी, अनदीको रोटी, माछा, गँगटा, लोकल भालेको मासुका परिकार, सुँगुरको मासुका परिकार, आलुको चटनी बन्ने गरेका छन्। यिनै स्वाद लिन ग्राहक आउने गरेको उनी बताउँछन्।
त्यस्तै, बाँकेको गाभर भ्याली होमस्टेमा थारू परिकार नै ब्रान्ड बनेका छन्। थारू परिकारले नै होमस्टे चलेको सञ्चालक कृष्ण चौधरी बताउँछन्। “आन्तरिकसँगै बाह्य पर्यटकको रोजाइमा पनि थारू परिकार नै पर्छन्,” सञ्चालक चौधरी भन्छन्, “अन्य परिकारभन्दा भिन्नै स्वाद भएकाले पनि थारू परिकार ब्रान्ड बनेको हो।”
केही वर्षयता थारू समुदायका परिकारको माग बढेको छ। ग्राहकको माग अनुसार थारू परिकार आपूर्ति गर्न नसकिएको उनी बताउँछन्।
लोकप्रिय थारू परिकार
ढिक्री: ढिक्री सबैभन्दा लोकप्रिय र मौलिक परिकार हो। चामलको पीठो मुछेर विभिन्न आकारमा बनाइन्छ। पानीको बाफमा उसिनेर पकाइन्छ। करीब एक घण्टा जति ढिक्रीलाई पानीको बाफमा पकाइसकेपछि तयार हुन्छ।
ढिक्री विशेष गरेर माघी र दशैंमा खाने प्रचलन थियो। तर, अहिले भने व्यावसायिक रूपमा थारू होमस्टे र होटलमा बिक्री भइरहेको छ।
घोंगी: घोंगी थारू समुदायको अर्को लोकप्रिय परिकार हो। शंखेकीराजस्तै देखिने घोंगी माछा पाल्ने पोखरी, तलाउ या खोलामा पाइने जीव हो। घोंगी बटुलेर ल्याएपछि करीब १२ घण्टा जति भाडामा राखेर पिठो खुवाइन्छ। त्यसपछि यसलाई पानीमा उमालेर सफा गरिन्छ।
घोंगीको पछाडिको भाग काटेर आवश्यकता अनुसार पकाइन्छ। घोंगीलाई ग्रेभी बनाउने या उसिन्ने गरिन्छ। पकाइसकेपछि चुसेर पनि खाने गरिन्छ। घोंगी चुस्दा भित्री मासु मुखमा आउँछ। घोङ्घी खाएपछि ढाड, घुँडा तथा जोर्नी दुखाइ कम हुने जनविश्वास छ।
गँगटो: थारू समुदायको अर्काे परिकार हो, गँगटो। दलदले हिलो, खोला तथा छिपछिपे पानी या दुलोमा पाइन्छ। गँगटालाई विभिन्न तरीकाले पकाउने गरिन्छ।
तेलमा फ्राई गरेर या ग्रेभी बनाएर वा सूपमा पकाएर खाने प्रचलन छ। यसलाई पोलेर अचार या चटनीको रूपमा पनि खान सकिन्छ।
माछा: माछा थारू समुदायको विशेष परिकार हो। हरेक पर्वमा थारू समुदायले माछा मारेर खाने प्रचलन छ। चाडपर्वमा मात्र होइन, फुर्सद भयो कि थारू समुदायले नजिकै खोला, पोखरी, तलाउमा माछा मारेर खाने गर्दछ।
थारू समुदायमा माछामध्ये झिंगा जस्तै उफ्रिहिंड्ने झिंगे माछा, गुइटा माछा, सिद्रा माछा लोकप्रिय छन्। माछालाई विभिन्न तरीकाले पकाएर खाने गरिन्छ।
घरेलु मदिरा: मदिरा थारू समुदायको अर्को लोकप्रिय पेय पदार्थ हो। महुवा, अन्दी, कोदो, मकै, जामुन, टिमुर, कुरिलोबाट मदिरा उत्पादन गरिन्छ। परम्परागत सीपका आधारमा उत्पादन हुने घरेलु मदिरालाई ब्रान्डिङ नै गर्न थालिएको छ।
लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८०/८१ मा थारू समुदायको मदिरा ब्रान्डिङका लागि १२ करोड ८९ लाख बजेट नै छुट्याएको छ।
परम्परागत सीपका आधारमा उत्पादन हुने घरेलु मदिरा ब्रान्डिङ गर्न कानूनी व्यवस्था र औद्योगिक प्रवर्द्धनात्मक कार्यक्रमका बजेट विनियोजन गरिएको मुख्यमन्त्री डिल्लीबहादुर चौधरी बताउँछन्। यसको ब्रान्डिङ गर्दा प्रदेशका २५ हजार जनाले रोजगारी पाउने मुख्यमन्त्री चौधरीको भनाइ छ।