कीर्तिमानी आरोहीलाई काठमाडौंमा स्वागत
तीन महीनामा १४ हिमाल चढेर विश्व कीर्तिमान कायम गर्ने दुई आरोहीलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ।
नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो शिखर केटु हिमालको सफल आरोहण गरेका थिए। यससँगै उनीहरूले विश्वका अग्ला १४ हिमाल छोटो समयमै आरोहण गर्ने कीर्तिमान बनाएका थिए।
आरोहण सकेर पाकिस्तानबाट नेपाल फर्किएका दुवै आरोहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले विमानस्थलमा स्वागत गरेकी हुन्।
पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण सङ्घ लगायत विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि एवं आरोहीको विमानस्थलमा उपस्थित थियो। सरकारी प्रतिनिधि तथा पर्यटन व्यवसायीले विमानस्थलमा बाजागाजा सहित कीर्तिमानी आरोहीको स्वागत तथा सम्मान गरेका हुन्।
क्रिस्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल तीन महीनामा सफल आरोहण गरी कीर्तिमान बनाएका हुन्। यसअघि आरोही निर्मल पुर्जाले सन् २०१९ मा ६ महीना ६ दिनमा १४ हिमाल आरोहण गरेका थिए।
उनीहरूले सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो–ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशेरब्रम–२, गाशेरब्रम–१, ब्रोडपीक र केटु हिमालको सफल आरोहण गरेका हुन्।