‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
‘नेपालमा गिद्धको मात्र होइन, वन्यजन्तुको औषधोपचार गर्ने सुविधा तथा अस्पताल छैन। त्यसैले थुप्रै घाइते वन्यजन्तु गुमाइरहेका छौं।’
डेढ दशकदेखि गिद्ध अनुसन्धानमा सक्रिय कृष्णप्रसाद भुसालले पुस्तक ल्याएका छन् गिद्ध: प्रकृतिका कुचिकार। त्रिभुवन विश्वविद्यालयबाट प्राणीशास्त्रमा स्नातकोत्तर गरेयता उनी गिद्ध संरक्षणमै तल्लीन छन्। भुसाल लामो समय नेपाल पन्छी संरक्षण संघको गिद्ध संरक्षण कार्यक्रममा पनि आबद्ध भए।
गिद्ध संरक्षणको क्रममा देशका ६८ जिल्ला घुमेका भुसालले हालै प्रकाशन गरेको पुस्तक गिद्ध: प्रकृतिका कुचिकार अहिले निकै चर्चामा छ। यो पुस्तकसँगै गिद्ध संरक्षणको सेरोफेरोमा हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा लेखक भुसालसँग महेश्वर आचार्यले गरेको कुराकानीः
यो पुस्तक तयार गर्न कति मेहनत गर्नुपर्यो?
गिद्ध अनुसन्धानमा लागेको १५ वर्षभन्दा बढी भयो। यसबीच गिद्ध सम्बन्धी अखबारी लेखनलाई निरन्तरता दिएँ। त्यसैक्रममा पुस्तक निकाल्ने सोच बन्यो र एक वर्षको मेहनतमा पुस्तक तयार भयो।
पुस्तकबारे कस्ता प्रतिक्रिया आइरहेका छन्?
पुस्तकमा नेपालमा पाइने गिद्ध प्रजातिको सचित्र व्याख्यालाई धेरैले मन पराउनुभएको छ। खासगरी गिद्धका रङ्गीन तस्वीर, जानकारीले पुस्तक राम्रो बनेको भन्ने प्रतिक्रिया पाएको छु।
गिद्धमा अध्ययन अनुसन्धानमा कसरी लाग्नुभयो?
मेरो घर अर्घाखाँचीको पश्चिमी पहाडी इलाकामा छ। त्यहाँ गिद्ध देखिन्थे। सानैदेखि गिद्धबारे थाहा पाएँ। बाल्यकालमा गिद्ध लखेट्न पनि गइन्थ्यो। संयोगवश प्राणीशास्त्रको विद्यार्थी भएको नाताले कुनै एउटा प्राणी प्रजातिमा अध्ययन गर्नुपर्ने हुँदा गिद्ध नै रोजें। स्नातकोत्तरको विद्यार्थी हुँदा गिद्ध अत्यन्तै दुर्लभ प्रजातिमा मात्रै नपरी सङ्कटापन्न बन्न पुगेको थाहा भयो। त्यस वेलादेखि गिद्ध अध्ययनलाई निरन्तरता दिइरहेको छु।
गाउँघरमै देखेको, जानेको गिद्धबारे अध्ययन सजिलो होला भन्ने लागेर रोज्नुभएको त थिएन?
एउटा कोणबाट हेर्दा त्यो पनि सत्य नै हो। गिद्ध देखेरै हुर्केको हुँ। घरदेखि माथिको घेराभीरमा गिद्ध वास बस्ने, गुँड बनाउने, बच्चा कोरल्ने गरेको हजुरबुबाले सुनाउनुहुन्थ्यो। हजुरबुबाले ‘घेराभीरबाट सिनो खान आउँछन्’ भन्नुहुन्थ्यो। त्यो हिसाबले बाल्यकालीन उत्सुकता त हुने नै भइहाल्यो।
पाल्पाको तानसेनमा स्नातक तह पढ्दा बतासे डाँडामा रहेको विज्ञान सङ्कायको चउरमा गिद्ध घाम ताप्न आएका देखिन्थ्यो। त्यस्तै, मासु खाएर हड्डी फ्याँक्ने ठाउँमा पनि गिद्ध आएको देखिन्थ्यो। अहिले हेर्दा यी घटनाले नजाँनिदो प्रकारले गिद्धप्रति आकर्षण बढाएको हुनुपर्छ।
स्नातक तेस्रो वर्षमा प्रयोगात्मक अध्ययन गर्नुपर्दा गिद्धमै गर्ने सोच आएको थियो। तर, त्यति वेला मसँग क्यामेरा थिएन, त्यो कुरा त्यहीं सकियो। पाल्पामै मौरीबारे प्रयोगात्मक अध्ययन गरें।
पछि स्नातकोत्तर पढ्न काठमाडौं आएपछि आफ्नो गाउँठाउँमा पाइने गिद्धमै ‘थेसिस’ गर्नुपर्छ कि भन्ने लाग्यो। त्यो वेला गिद्ध संसारमै तीव्र गतिमा घटिरहेको प्रजाति भनेर सनसनीपूर्ण समाचार र अध्ययन प्रतिवेदन प्रकाशित भइरहेका थिए। सानैदेखि देखेको चरा त अहिले लोप हुने अवस्थामा रहेछ भन्ने ठानेर गिद्ध अध्ययनमा लागें।
त्यसपछि आफ्नै गाउँठाउँमा गिद्धको अध्ययन गर्न जानुभयो?
आफ्नै घरभन्दा माथिको घेराभीरमा पाइने गिद्धबारे अध्ययन गर्न गएँ। त्यस ठाउँलाई अर्घाखाँची, प्यूठान, गुल्मीका मान्छेले गिद्ध बस्ने भीरको रूपमा चिन्थे। त्यो चट्टानी पहाडमा सन् २००९-१० मा अध्ययन गर्न जाँदा गिद्धका तीन प्रजाति हिमाली, हाडफोर र सेतो खैरो गिद्धले एउटै पहरामा गुँड लगाएको भेटियो। तीन वटा फरक फरक प्रजातिले एकै ठाउँमा गुँड लगाएको भेट्न गाह्रो थियो। त्यसले उत्साहित बनायो।
सबैभन्दा चाखलाग्दो तीन वटा प्रजातिले एउटै वासस्थान उपयोग गरेको मात्र नभएर त्यो क्षेत्रको पहरामा अरू शिकारी चराले पनि गुँड लगाएको भेटियो। संरक्षित पन्छीको सूचीमा सूचीकृत विश्वकै दुर्लभ चीर कालिज (चीर फेजेन्ट) पनि भेटियो। एउटा पहरे भीर जस्तो देखिए पनि चराको प्रजातिगत विविधता पाइने त्यो ठाउँ महत्त्वपूर्ण क्षेत्र रहेछ।
अध्ययनकै क्रममा पछि अर्घाखाँचीमै अति सङ्कटापन्न डंगर गिद्धको वासस्थान भेटियो। अर्घाको गर्ता खहरे खोला सामुदायिक वनको सल्लेरीमा डंगर गिद्ध भेटिंदा सबै उत्साहित भयौं।
डंगर गिद्ध चितवनदेखि पश्चिम र पूर्वमा कोशीटप्पुमा पाइन्छ। मध्यपहाडमा पाल्पा, तनहुँ, स्याङ्जा, कास्कीमा पाइन्थ्यो तर अर्घाखाँचीमा डंगर गिद्ध थियो भन्ने कुरा त्यसअघि जानकारीमा थिएन। एउटा छुट्टै वासस्थानमा गिद्ध भेटिएको कुराले थप उत्सुक र प्रेरणा मिल्यो।
त्यसलाई लामो समयसम्म निगरानी गर्यौं। झन्डै १३ वर्षसम्म निगरानी गर्दा सन् २०१० देखि २०२२ सम्म संख्या स्थिर रहेको पाइयो। प्रजनन सफलता पनि स्थिर छ। त्यसलाई पनि सकारात्मक पाटोका रूपमा लिनुपर्छ। किनभने कुनै समयमा ९० प्रतिशतभन्दा बढीको दरले घटिरहेको प्रजाति पछिल्लो चरणमा स्थिर रहनु भनेको निश्चय पनि सकारात्मक हो। अर्घाखाँचीमा गरिएको दीर्घकालीन अध्ययनले देशमै पछिल्लो चरणमा गिद्धको लोप हुने दर वा घट्ने दर रोकिएको सङ्केत गर्छ।
नेपालमा कति प्रजातिका गिद्ध पाइन्छन्?
नेपालमा अहिलेसम्म नौ प्रजातिका गिद्ध अभिलेख भएका छन्। विश्वभरि २३ प्रजातिका गिद्ध पाइए पनि दक्षिणएशियामा नौ प्रजातिकै गिद्ध पाइन्छन्। नौ प्रजातिका गिद्धमा पनि वर्षभरि नेपालमा रहने ६ प्रजातिका रैथाने छन्। रैथाने प्रजाति भनेको जो वर्षभरि यहीं बस्छन्, यहीं गुँड बनाउँछन् र अन्डा पार्ने तथा बच्चा कोरल्ने गर्छन्।
तीन प्रजाति जाडो याममा बसाइँसराइ गरेर आउँछन्। त्यसरी कतिपय चरा मंगोलिया र भारतबाट त कतिपय यूरोपबाट आउँछन्। प्रजातिगत रूपमा हेर्दा ६ प्रजातिका रैथानेमध्ये तीन प्रजातिका गिद्धले रूखमा र तीन प्रजातिका गिद्धले पहरोमा गुँड बनाउँछन्।
नेपालमा गिद्धको संख्या र अवस्था कस्तो छ?
सन् १९८० र ९० को दशकमा झन्डै चार लाख जति गिद्ध थिए। त्यतिखेर भएको एउटा अध्ययनले भारतमा चार करोड गिद्ध रहेको र नेपालमा १० देखि १६ लाख रहेको अनुमान थियो। संसारमा सबैभन्दा सजिलै र सबैभन्दा ठूला संख्यामा देख्न सकिने चरा प्रजातिमा गिद्ध नै थिए।
त्यसको झन्डै २० वर्षपछि आएर संसारमा सबैभन्दा तीव्र दरमा घटेको र सबैभन्दा लोपोन्मुख र देख्न गाह्रो पर्ने प्रजाति गिद्ध नै हुन पुग्यो। सन् २०१५-१६ मा गरिएको ‘नेशनल रेड लिस्ट’ समीक्षा अनुसार करीब २० हजार गिद्ध भएको अनुमान छ। हिमाली गिद्ध १० हजार, डंगर गिद्ध दुई हजार र सबैभन्दा लोपोन्मुख सानो खैरो गिद्ध ५० देखि ७५ को संख्यामा रहेको अनुमान छ। नौ प्रजातिमा चार प्रजाति अति सङ्कटापन्नमा पर्छन्।
लाखौंको संख्यामा रहेका गिद्ध २० वर्षमै कसरी हजारको संख्यामा घट्न पुगे?
मुख्य कारण पशु चौपायाको उपचारमा उपयोग गरिने ‘डाइक्लोफेनेक’ हो। सन् १९८० पछिका वर्षमा पशु उपचारमा भएको उन्नतीले गाईवस्तुको उपचारमा क्रान्ति नै भयो। पशुलाई दुःखाइ कम गर्ने औषधिको रुपमा ‘डाइक्लोफेनेक’ व्यापक प्रयोग हुन थाल्यो। त्यो औषधि उपयोग गरिएको पशु उपचारको क्रममा मरेपछि मासु खाँदा गिद्धको शरीरमा प्रवेश गर्ने नै भयो।
स्तनधारीको जस्तो चरामा मूत्र प्रणाली विकसित हुँदैन। त्यसैले, पशु चौपायामा एकदमै राम्रो काम गरे पनि गिद्धको शरीरमा प्रवेश गरिसकेपछि युरिक एसिड बढेर मिर्गौलाले काम गर्न नसक्दा गिद्ध मर्न थाले। गिद्धको मृत्युदर अधिक भयो।
फेरि गिद्ध सिनो खाने वेलामा एक-दुई मात्र नभई ठूलो झूण्डमा भेला भएर खान्छन्। नेपालमा पाइने नौ प्रजातिका गिद्धमा सात-आठ प्रजातिले एउटै सिनो खाइरहेका हुन्छन्। ३० एमएलको एउटा भाइलले उपचार गरेर मरेको गाईभैंसी या बाख्राको सिनो खाँदा तीन सयदेखि चार सयसम्म गिद्ध मर्ने भए।
अर्को, गिद्धले आजीवन एउटै जोडी बनाएर निवार्ह गर्छ। वर्षमा एउटा जोडीले एउटमा मात्रै अण्डा पार्छ, एउटा मात्रै बच्चा हुर्काउँछ। कथमकदाचित डाइक्लोफेनेकले उपचार गरिएको सिनो खाएको एउटा मात्रै गिद्ध मर्यो भने उसको सम्पूर्ण परिवारलाई असर गर्छ। किनभने उसले अर्को जोडी पाउने सम्भावना न्यून हुन्छ।
त्यस्तै, बच्चा कोरल्ने, ओथारो बस्ने, गुँड बनाउने र बच्चालाई हुर्काउने काममा भाले र पोथीको बराबर भूमिका हुन्छ। ओथारो बस्ने वेलामा एउटा भाले या पोथी ओथारो बसेको छ भने अर्को आहार खोज्न जान्छ। उनीहरूको यस्तो जैविक बानीबेहोराले एउटालाई असर पर्दा सिंगो परिवारलाई असर पर्छ।
त्यसैले लाखौंको संख्यामा भएका गिद्धको संख्या स्वाट्टै घट्न पुग्यो। नेपालमा गिद्धको संख्या ९० प्रतिशत भन्दा बढीले गिरावट आएको थियो। भारतमा डंगर गिद्धमाथि भएको एउटा अध्ययनले ९९.९ प्रतिशतले घटेको देखियो। त्यो त लोप हुने अवस्थामा पुगेको हो नि!
गिद्ध लोप हुने अरू सहायक कारण पनि छन्। कतिपय ठाउँमा यसको वासस्थान विनास भइरहेको छ भने केही बिजुलीको तारमा ठोक्किएर, करेन्ट लागेर पनि मरेका छन्। तर, ठूला संख्यामा गिरावट आउनुको कारण डाइक्लोफेनेक नै हो। पछिल्लो चरणमा डाइक्लोफेनेक मात्रै नभई पशु उपचारमा उपयोग हुने अरू औषधि पनि त्यतिकै हानिकारक भएको पाइन्छ। त्यसैले पशुउपचारमा प्रयोग हुने औषधीको विषाक्तताले गिद्धलाई ठूलो असर गरेको छ।
डाइक्लोफेनेक दिइएको पशु मरेपछि सिनो त्यतिधेरै गिद्ध मर्दा रहेछन्?
एउटै सिनोले सयौं गिद्ध मर्छन्। एउटा सिनो खाँदा ७५० सम्म गिद्ध मरेको एउटा अध्ययनले देखाएको छ।
केही महीनाअघि नवलपरासीमा भएको एउटा अध्ययनमा एकै ठाउँमा ४६५ गिद्ध आएका थिए। मानौं डाइक्लोफेनेकले उपचार गरिएको सिनो खान चार सय हाराहारीमा गिद्ध आए भने सबैजसो प्रभावित हुने भए।
दुई वर्षअघि परासीमै कुकुरको सिनोमा विष राखिएको रहेछ। त्यो खाएपछि एकै ठाउँका ७१ गिद्ध मरे। गिद्धले सामूहिक भोजन गर्ने भएको आहारामा असर पर्दा ठूलो संख्यालाई असर पर्छ। त्यस्तो असर तारमा ठोक्किएर हुने मृत्यु, करेन्ट लागेर हुने मृत्युको तुलनामा अधिक हुन्छ। त्यसैले गिद्धको आहारसँग सम्बन्धित जुन चुनौती छ, विष होस् या अन्य हानीकारक औषधी, त्यसलाई रोक्नुपर्छ।
डाइक्लोफेनेकको उत्पादन बन्द भए पनि अन्य हानिकारक औषधि अझै प्रयोगमा छन् भन्न खोज्नुभएको हो?
सन् २००६ मा नेपाल, भारत र पाकिस्तानमा डाइक्लोफेनेकको प्रयोगमा प्रतिबन्ध लगाइए पनि बजारमा उपलब्ध भइरह्यो। बजारको औषधी फिर्ता गएन, त्यो उपभोग भएर सकियो। डाइक्लोफेनेक पशु उपचारमा अत्यन्तै प्रभावकारी भएको हुँदा लोकप्रिय पनि थियो। भेटेरिनेरियनले त्यसलाई त ‘जादुको छडी’ नै भन्ने गरेका थिए, किनभने त्यसले पशुचौपायालाई तुरुन्तै फाइदा गथ्र्यो।
पछि मानवीय उपयोगको लागि भनेर डाइक्लोफेनेकको उत्पादनलाई निरन्तरता दिइयो। मान्छेलाई त तीन एमएलको डोजले पुग्ने हो, तर ३० एमएलको भाइल उत्पादन गरियो। अप्रेसन थिएटरमा आवश्यक हुन सक्छ भन्ने तर्क गरियो। त्यसको गलत प्रयोग भयो।
यद्यपि, सन् २००६ देखि २०१० सम्म डाइक्लोफेनेकलाई रोक्ने र त्यसको साटो सुरक्षित औषधी मेलोक्सिक्यामलाई प्रवद्र्धन गर्ने ठूलो कसरत दक्षिणएशियाली क्षेत्रमा चल्यो। त्यसले सन् २०१० पछिका वर्ष मा मात्रै परिणाम देखाउन थाल्यो।
सन् २००२ देखि पूर्व-पश्चिम राजमार्गमा गिद्ध सर्वेक्षण गरिँदै आएको छ। प्रत्येक वर्षको जेठमा राजमार्गमा खुला छत भएको गाडीमा अनुसन्धानकर्ता बसेर र गाडी विस्तारै गुडाउँदै गिद्धको सर्वेक्षण गर्छन्। सन् २००२ देखि २०११ सम्म डंगर गिद्ध र सानो खैरो गिद्धको संख्या ९० प्रतिशत भन्दा बढीले घटेको र सन् २०११ पछि बढ्न थालेको देखियो। त्यसले गिद्धको आंशिक पुनरागमन हुने सङ्केत देखियो।
बजारमा डाइक्लोफेनकको प्रयोग जुन दरमा घट्दै गयो, गिद्धको संख्या त्यही दरमा बढ्दै गयो। सन् २०१३ देखि नेपालमा डाइक्लोफेनेक उपलब्ध छैन, त्यसले गर्दा पनि गिद्धको संख्या बढेको हो।
तर, बजारमा अन्य हानीकारक औषधी छन्। सन् २०१२ देखि २०१८ सम्म पशु उपचारमा उपयोग हुने दुखाइ कम गर्ने औषधिको हिस्सा ‘मेलोक्सिकम’ले ओगोटेको छ, जुन सुरक्षित छ। त्यसबाहेक अझै पनि ७ प्रतिशत हानिकारक ठानिएका औषधि किटोप्रोफिन, निमोस्लाइड, एसिक्लोफेनेक लगायत छन्। गिद्ध संरक्षणमा अहिलेको ठूलो चुनौती हानीकारक औषधी नै हो।
गिद्ध संरक्षणमा अन्य चुनौती के छन्?
केही समयअघि केही गिद्ध अज्ञात रोगका कारण मरे। तर, त्यसको यकिन कारण पत्ता लगाउन सकेनौं।
भारतले गिद्धलाई हानीकारक भनेको एसिक्लोफेनेक र किटोप्रोफिनमा एक महीनाअघि प्रतिबन्ध लगाएको छ। नेपालमा पनि ती औषधीलाई प्रतिबन्ध लगाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले औषधी व्यवस्था विभागलाई पत्राचार गरेको छ। दुई वर्ष नाघिसक्यो, तर निर्णय हुन सकेको छैन।
अर्को जोखिम, भारतमा पो प्रतिबन्ध भयो त नेपालमा त बेच्न पाइन्छ नि भनेर ‘सेल फर नेपाल’ ट्याग लागेर नेपाली बजारमा आउने हो कि भन्ने डर छ। खुला सीमा भएकाले भारतमा अनधिकृत रुपले जाला भन्ने पनि डर छ। आखिर जे भए पनि यसले समग्र पर्यावरणलाई असर गरी नै हाल्छ।
गिद्ध सरदर कति वर्ष बाँच्छन्, जीवन चक्र कस्तो हुन्छ?
गिद्धलाई लामो आयु भएको पन्छी मानिन्छ। मोटामोटी भन्दा २५-३० वर्ष आयु हुन्छ। चिडियाखानामा राखिएका गिद्ध ४०-४५ वर्षसम्म बाँचेको पाइन्छ। तर, प्रकृतिमा त प्रतिस्पर्धा हुन्छ, खाइदिने प्राणी हुन्छन्। त्यसैले प्रकृतिमा चिडियाघरमा जस्तो लामो समय बाँच्दैनन्।
गिद्ध भनेको त्यस्तो पन्छी समूह हो, जसले मरेको मात्र खान्छन्। यी चरा सिकारी चराको समूहमा त पर्छन्। अन्य सिकारी चराले सिकार गरेर खान्छन्, गिद्धले भने मरेको मात्रै खान्छन्। मरेको सिनो खाने हुनाले पनि गिद्धलाई प्रकृतिको कुचिकार भनिएको हो।
धेरैजसो गिद्धप्रजातिले मासु नै खान्छन्। हाडफोर गिद्धले हड्डी खान्छ, खानाको ९० प्रतिशत त हड्डी मात्र हुन्छ। ठूलो हड्डीलाई उचालेर लगेर पहरामा बजार्छ र टुक्रा टुक्रा भइसकेपछि स-साना टुक्रा र त्यसभित्रको मासी खान्छ। त्यसरी हेर्दा एउटा सिनोलाई गिद्धले पूर्णरुपले खान्छ।
सिनो त हाइना, स्याल, कुकुर, मुसाले पनि खान्छ। तिनले सिनोको ३५ देखि ४५ प्रतिशत मात्र उपभोग गर्छ। गिद्धले भने सिनोको ८५ देखि ९० प्रतिशत भाग खान्छ। बचेको हड्डीलाई हाडफोर गिद्धले खान्छ। छालाका ससाना टुक्रा छन् भने सुनगिद्ध र राजगिद्धले खान्छन्। मासुको भाग हिमाली गिद्ध, डंगर गिद्ध, सानो खैरो गिद्धले खान्छन्।
जाडो महीनामा प्रजनन हुन्छ। धेरैजसो पन्छीको प्रजनन समय वसन्त ऋतु हो, जनु ऋतुमा पन्छीको आहारा किराफट्याङग्रा बग्रेल्ती पाइन्छन्। तर, गिद्धले भने जाडो याममा प्रजनन गर्छ, किनभने जाडोयाममा चौपायाको मृत्युदर अधिक हुन्छ।
त्यस्तै, कात्तिक-मंसीरबाट ओथारो बस्न गुँड बनाउन थाल्छ। वैशाख-जेठसम्म बच्चा हुर्काएर उडाइसकेको हुन्छ। कहिलेकाहीँ हाडफोर गिद्ध र सेतो गिद्धको दुई वटा अण्डा र कहिलेकाहिँ दुई वटा बच्चा हुन्छ नत्र प्रायः सबै गिद्धले एउटै अण्डा र एउटै वच्चा हुर्काउँछ।
गिद्धले ५०-५५ दिन अण्डा कोरल्छ। हुर्कने समय पनि लामै हुन्छ। परिपक्व हुन पाँच-सात वर्ष लाग्छ।
पाँच-सात वर्ष माउकै आश्रयमा हुन्छ कि आफैंले आहारा खोज्छ?
गिद्ध गुँडबाट निस्केपछि स्वतन्त्र भइहाल्छन्। गुँड छोडेको केही समयसम्म त आमाबुवाले हेरचाह गर्छन्। हिमाली गिद्धको त बच्चाले गुँड छाडेपछि वैशाख-असारसम्म हुर्किसक्छन् र जाडोमा तराइमा आउँछन्। माउले अर्को वर्षको ओथारो बस्ने तयारी गरेको हुन्छ।
कहिलेकाहिँ आमाबुवालाई सहयोग गरेको जस्तो पनि देखिन्छ। नवलपरासीमा गरेको अध्ययनमा तीनवटा गिद्ध मिलेर एउटा बच्चालाई हुर्काइरहेको पाइएको थियो। सारसमा पनि त्यस्तो प्रवृत्ति पाइन्छ।
घाइते वा बिरामी गिद्धको उपचार गर्न जनशक्ति कस्तो छ?
नेपालमा गिद्धको मात्र होइन, वन्यजन्तुको औषधी उपचार गर्ने सुविधा तथा अस्पताल छैन। त्यसले गर्दा थुप्रै घाइते भएका वन्यजन्तु गुमाइरहेका छौं। वन्यजन्तुको राम्रो उपचार छैन। अर्को समस्या भनेको प्रयोगशालाको अभाव पनि हो। मरेर ल्याइएको नमुनाको परीक्षण गर्ने सुविधाको अभाव पनि भोगिरहेका छौं।
गिद्ध संरक्षणमा राम्रो काम गरेको जटायु रेस्टुरेन्ट नेपालमा कसरी शुरू भयो?
जटायु रेस्टुरेन्टको अवधारणा युरोपमा शुरुआत भएको हो। नेपालमा सन् २००६ मा नवलपरासीको पिथौलीमा जटायु रेस्टुरेन्ट खोलिएको हो। यो विश्वमै पहिलो समुदायद्वारा व्यवस्थित जटायु रेस्टुरेन्ट हो।
यसको मुख्य उद्देश्य डाइक्लोफेनेकरहित आहारा उपलब्ध गराउने र संरक्षण गर्ने रहेको थियो। समुदायले नै अपनत्व लिएर समुदाय आफैंले व्यवस्थित र सञ्चालित गरेकाले यो काम नमुना भयो।
पछि रुपन्देही, दाङ, कैलाली, कास्की, सुनसरी लगायतका जिल्लामा फैलियो। यो गिद्ध संरक्षणको हिसाबले मात्र नभई अध्ययन अनुसन्धान गर्न चाहनेहरूको लागि एउटा खुला विश्वविद्यालय सरह छ। त्यहाँ गएर जोकोहीले गिद्धबाहेक अरु चराचुरुङ्गी, वन्यजन्तुबारे अध्ययन गर्न सक्छन्।
हाम्रो समाजमा गिद्धबारे नकारात्मक धारणा रहेको पाइन्छ, यसलाई कसरी परिवर्तन गर्न सकिन्छ?
समाजमा कामको महत्त्व भन्दा पनि त्यसको स्वरुपको आधारमा धारणा बनाउने गरिन्छ। जस्तो फोहोर उठाउनेलाई नराम्रो मान्ने चलन छ, जबकि हामीले गरेको फोहोर उठाएको हो नि! गिद्धको सन्दर्भमा पनि त्यही हो, उसले मरेको पशुचौपायाको सिनो खान्छ, वातावरणलाई सफा गरेको हिसाबले नबुझी कस्तो सिनो खाने रहेछ भनिन्छ। कतिपय धर्मग्रन्थमा शनि देवताको बाहनको रुपमा, रामायणमा एक न्यायिक योद्धाको रुपमा चित्रित भएको पनि छ।
दशकअघि जंगलबाट गिद्ध समातेर प्रजनन केन्द्रमा ल्याइरहेका थियौं। अर्घाखाँचीको अर्घाबाट डंगर गिद्धको वच्चा समातेर ल्याउँदा दुई दिन लाग्यो र एक दिन घरमै राख्नु पर्यो। त्यो गिद्धको बच्चालाई घरभित्रै लगेर कसरी राख्ने होला भन्ने एक खालको डर र धुकचुक थियो। तर, बुवाआमासँग सरसल्लाह गरिसकेपछि घरभित्रै लगेर राखियो। मासु काटेर खुवाइयो। त्यसले गर्दा समाजमा गिद्धबारे सबै नकारात्मक धारणा छ भन्ने पनि छैन। सामाजिक धारणामा परिवर्तन आएको पाइन्छ।
फेरि पुस्तकमै फर्कौं। साथीहरुले ‘गिद्ध भुसाल’ भन्ने गरेको लेख्नु भएको छ। नराम्रो लाग्दैन?
पुस्तकमा पनि उल्लेख गरको छु, साथीहरुले मलाई गिद्ध भुसाल भन्छन्। गिद्धमा काम गर्ने भएकाले साथीहरुले त्यसो भनेका हुन्।
अर्को एउटा प्रसंग छ, पाल्पाको मदनपोखराको दमकडामा गिद्धे सिमल पनि छ। त्यहाँको सामुदायिक वनले गरेको एउटा कार्यक्रममा जाँदा ‘ल गिद्ध सर आउनुभयो’ भन्नुभयो। तर, उहाँहरुलाई पनि त्यो दोहोर्याउन मजा भएन कि के भयो, पछिबाट ‘गिद्धको हाकिम’ भन्न थाल्नुभयो।
मेरो बिहेको प्रसंग चल्दै गर्दा ससुरालाई त सोध्ने भए, छोरी कसलाई दियौ भनेर। उहाँले गिद्धमा काम गर्छन् भन्नुहँदो रहेछ। सासुआमालाई चाहिँ यो कति गिद्धमा काम गर्छ भनिराख्या होला भन्ने लागेछ। उहाँले भन्नुभएछ, ‘गिद्ध काम गर्छ किन भन्नु हुन्छ?’ उहाँले ‘प्रोजेक्टमा काम गर्छ’ भन्नु न भन्नुहुन्थ्यो रे!
अहिले त तपाईंको छोराले गिद्ध देख्ने बित्तिकै बाबाको चरा भन्छ, हैन?
घरमा पनि बाबाले धेरैजसो गिद्धकै कुरा गर्ने, घरमा पनि गिद्धकै डकुमेन्ट, किताब, फोटो इत्यादी देखेर होला ६ वर्षको छोराले गिद्धलाई बाबाको चरा भन्ने बुझ्दो रहेछ। त्यो चाहिँ खुशी लाग्ने कुरा हो।
गिद्ध जोगाउन के गर्नुपर्ला?
गिद्ध संरक्षणमा कतिपय प्राविधिक कुरा छन्। औषधीको कुरा गर्यौं। विषादी हानीकारक औषधीको कुरा गर्यौं। अहिले पनि पर्याप्त रुपमा वन्यजन्तुमा सबैभन्दा धेरै लगानी र अध्ययन गिद्धमै भएको छ। तैपनि पर्याप्त अध्ययन भएको छ भन्ने सकिने ठाउँ छैन। दुरदराजका ठाउँमा गिद्धको गुँढ, संख्या, वितरण, स्थानीयसँगको सम्बन्धबारे अझै पनि अध्ययन भएको छैन। त्यसले गर्दा अध्ययनलाई पनि अझै जोड दिनुपर्ने हुन्छ।
अर्को, पछिल्लो चरणमा जुन खालको भौतिक पूर्वाधार बन्दै छ, जलविद्युतका पूर्वाधार, प्रशारण लाइन, सिँचाइ, कुलो निर्माणमा वन्यजन्तुमैत्री निर्माण बनाउनु पर्ने देखिन्छ। जुन नीतिगत तहको काम भयो।
आम सर्वसाधारणप्रति त हाम्रो कुनै गुनासो छैन। किनभने गिद्ध संरक्षणमा सर्वसाधारणको अथाह योगदान छ। उनीहरुले सुरक्षित आहार उपलब्ध गराएर हुन्छ कि, गिद्ध बस्ने रुख जोगाएर हुन्छ कि, कहिँ कतै विष हाल्ने काम रोकेर पनि मद्दत गर्नु भएको छ।
अन्त्यमा, पुस्तक बिक्रीबाट प्राप्त रकम व्यक्तिगत रुपमा खर्च गर्दिनँ भन्नु भएको छ। के गर्नुहुन्छ?
यो पुस्तक लेख्नुको उद्देश्य प्रस्ट पारौं। एउटा गिद्धबारे जनसाधारणलाई बुझ्ने गरी जानकारी दिने हो। अर्को, यो पुस्तकको बिक्रीबाट भएको आम्दानी सबै गिद्ध संरक्षणमा लाग्ने विद्यार्थीलाई सहयोग गर्ने उद्देश्य राखिएको छ। किनभने हामीकहाँ अझै पनि गिद्धबारे पुग्दो अध्ययन भएकै छैन।
किताबका कुराका थप सामग्री: