काठमाडौंमै बढिरहेछ गर्मी, किन?
प्राकृतिक ‘एसी’का रुपमा चर्चा हुने काठमाडौंमै पछिल्ला दशकमा गर्मी बढ्दै गएको अध्यताहरूले बताएका छन्।
तीन दशकअघिसम्म काठमाडौंमा गर्मीको खासै अनुभूती नै हुँदैनथ्यो। यसलाई प्राकृतिक ‘एसी’ भनिन्थ्यो। तर, अचेल काठमाडौं उपत्यकाका ट्याक्सीमा पंखा राख्न थालिएको छ। घर, कार्यालय र ठूला सपिङ कम्प्लेक्समा एसी चलाइन्छ। एसीको खपत बढेको छ।
पोहोर सालमात्रै भारत र बाङ्लादेशका पर्यटकलाई लक्षित गरेर नेपाल उद्योग परिसंघले ‘गर्मी से बेहाल? चलो नेपाल’ अभियान चलाएको थियो। “तर, के नेपालमा गर्मी छैन त?,” जलस्रोतविद् अजय दीक्षितले प्रश्न गरे।
ललितपुरको पाटनमा शुक्रबार ‘पुरक एशिया’ले आयोजना गरेको ‘पुरक छलफल’ कार्यक्रममा दीक्षितको प्रस्तुतिको शीर्षक नै थियो– नेपालको तराई र मध्यपहाडी उपत्यकाको खबर के छ?
तराई एवं नेपालको मध्यपहाडी बेसी र उपत्यकामा पछिल्ला दशकमा बढेको तापक्रमको ग्राफ देखाउँदै उनले जलवायु परिवर्तनका असर र कारणबारे विवेचना गरे। “पहिले तराईमा गर्मी मौसममा छत वा बाहिर सुत्ने गरिन्थ्यो, किनभने रात परेपछि भुईँ सेलाउँथ्यो,” व्यक्तिगत अनुभूति जोड्दै दीक्षितले भने, “केवल वायुमण्डलीय तापक्रम मात्र बढेको छैन, सेलाउने दर पनि घटिरहेको छ।”
उनले ‘वेट बल्ब टेम्परेचर’ (ओसिलो बल्ब तापक्रम)को चर्चा गरे। थर्मोमिटरको बल्बलाई ओसिलो कपडाले ढाकेर त्यो सुख्खा हुँदा पुग्ने तापक्रमको मापन नै ‘वेट बल्ब टेम्परेचर’ हो। यो तापक्रम बढी हुनुको अर्थ हो, हाम्रो शरीर छिट्टै सेलाइरहेको छैन। “तापक्रमको वृद्धिमात्र चुनौती होइन, ‘वेट बल्ब टेम्परेचर’ पनि चुनौती हो,” दीक्षितले थपे।
कार्बन उत्सर्जनका कारण सिर्जित विश्वव्यापी तापमान वृद्धि मुख्य समस्या भए पनि स्थानीय स्तरमा भइरहेका मानवीय गतिविधि पनि जिम्मेवार भएको उनको भनाइ थियो। उनले गलत अभ्यासका कारण पनि गर्मी बढिरहेको औल्याए। जसमा अव्यवस्थित शहरीकरण, कंक्रीटका संरचनाको अत्याधिक निर्माण, गिट्टी र बालुवाको अनियन्त्रित उत्खनन् र नदी प्रदुषण छन्।
“अव्यवस्थित शहरीकरणले एकातिर भूउपयोगको तरिकामै ठूलो परिवर्तन ल्याएको छ भने सानो ठाउँमा धेरै मानिस जम्मा गरिदिएको छ,” दीक्षितले व्याख्या गरे, “कंक्रिट संरचनाको अत्याधिक निर्माणले भूसतह र भूमिगत जलभण्डार पनि रित्याइरहेछ।”
पानीको संरक्षणको विषयमा बेवास्ता गर्दा पनि समस्या थपिएको उनको भनाइ थियो। “शहरीकरणको सिद्धान्त र पानीको संरक्षणको विषयमा बिलकुलै बेवास्ता गरेका छौं। नदी प्रणाली नै मासिने गरी प्रदुषण गरिरहेछौं,” दीक्षितले भने।
नेपालको सरकारी संरचना र संस्थाहरू जलवायु परिवर्तनका असरको समाधान खोज्न तयार नै नभएको उनको टिप्पणी थियो। दीक्षितले भने, “हाम्रोमा वातावरणीय शासनको समस्या छ, बनाइएका नीति पनि कार्यान्वयन हुँदैनन्।”
कार्यक्रममा वैज्ञानिक उत्तमबाबु श्रेष्ठले हरियालीयुक्त व्यवस्थित शहरीकरणले गर्मी घटाउन सघाउन सकिने उपाय सुझाए। “हामीले गरेको अनुसन्धानमा काठमाडौं शहरभित्रकै हरियाली भएका र नभएका नजिकैका दुई स्थानको तापक्रम मापन गर्दा चार–पाँच डिग्री सेल्सियसले फरक भएको पायौं,” श्रेष्ठले भने।
त्यस्तै, लामो जलस्रोतका विषयमा रिपोर्टिङ गरेका शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले विश्वव्यापी तापमान वृद्धिमा हाम्रा क्रियाकलाप कति जिम्मेवार छन् भन्नेमा पनि विवेचना गर्न आग्रह गरे। “पानीका स्रोत सुकेका छन्, नदी वर्षैभरी धमिला बगिरहेछन्, वर्षेनी पहिरोले मानिस मरिरहेछन्, त्यसमा हाम्रो पनि भूमिका छ,” दाहालले थपे।