राहुल गान्धीलाई सर्वोच्च अदालतबाट राहत, जेल सजायमा रोक
भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीलाई ‘मोदी उपनाम’ को टिप्पणीलाई लिएर सुनाइएको सजायमा सर्वोच्च अदालतले रोक लगाएको छ।
आपराधिक मानहानिको मुद्दामा गुजरातको तल्लो अदालतले दोषी ठहर्याएको थियो। भारतको सर्वोच्च अदालतले शुक्रबार यसमाथि रोक लगाएको हो। यद्यपि, सर्वोच्च अदालतले सार्वजनिक पदमा रहेका व्यक्तिबाट दिइने सम्बोधनमा सावधानी अपनाउनुपर्नेमा भने जोड दिएको छ।
गुजरातको तल्लो अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो। जसले उनलाई जनप्रतिनिधित्व ऐनको कठोरताअन्तर्गत सांसदको रूपमा अयोग्य घोषित गरेको थियो। केरलाको वायनाडबाट चुनाव जितेका गान्धीलाई लोकसभा सचिवालयको सूचनापछि मार्च २४ मा सांसद पदका लागि अयोग्य घोषित गरिएको थियो। सवोच्चको फैसलासँगै गान्धीको सांसद पद पनि पुनः बहाली हुने भएको छ।
तल्लो अदालतको आदेश विरुद्ध गानधी सर्वोच्च अदालत पुगेका थिए। न्यायाधीश बीआर गवईको अध्यक्षतामा रहेको इजलासले गरेको फैसलामा ‘ट्रायल कोर्ट’का न्यायाधीशले अधिकतम सजाय सुनाउनुको कुनै कारण नदिएको र अन्तिम फैसला नभएसम्म दोषी ठहर गर्ने आदेशमा रोक लगाउनुपर्ने बताएको छ।
फैसलामा सर्वोच्च अदालतले भनेको छ, ‘यो मुद्दा हेरेका न्यायाधीशले पर्याप्त कारण र आधारविना दुई वर्षको अधिकतम सजाय दिएको देखिन्छ।’
सर्वोच्च अदालतले गान्धीलाई दोषी ठहर गर्ने ट्रायल कोर्टको आदेशको असर व्यापक रहेको बताएको छ। सर्वोच्चको फैसलामा भनिएको छ, ‘गान्धीको सार्वजनिक जीवनमा रहिरहन पाउने अधिकार मात्र होइन, उनलाई निर्वाचित गर्ने मतदाताको अधिकारमा पनि असर परेको छ।’
यससँगै सर्वोच्चले गान्धीका अभिव्यक्तिहरू ‘राम्रो शैलीको नभएको’ र ‘सार्वजनिक जीवन रहेका व्यक्तिहरूले सार्वजनिक भाषण गर्दा सावधानी अपनाउने अपेक्षा गरिएको’ पनि जनाएको छ।
यसको कांग्रेस पार्टीले स्वागत गरेको छ। सर्वोच्चको फैसलापछि कांग्रेस पार्टीको ट्विटर एकाउन्टबाट राहुल गान्धीको तस्वीर ट्वीट गर्दै लेखिएको छ, ‘सत्यको सँधै जीत हुन्छ।’
पार्टी नेता जयराम रमेशले पनि सर्वोच्च अदलतको फैसला सत्य र न्यायलाई पुष्टि गरेको बताएका छन्। उनले भने, “गान्धीविरूद्ध सत्ताधारी दलको सबै संयन्त्र लागेपनि हार मान्न, झुक्न वा दब्न इन्कार गर्दै न्याय प्रक्रियाप्रति आफ्नो विश्वास जनाइरहनुभयो र उहाँको विजय भएको छ।”
गौतम बुद्धको एक भनाइ उद्धरण गर्दै प्रियंका गान्धीले ट्विटरमा लेखेकी छन्, ‘सूर्य, चन्द्रमा र सत्य तीन चीजलाई कहिल्यै छिपाउन सकिन्न। सर्वोच्च न्यायालयलाई न्यायपूर्ण फैसला दिएकोमा धन्यवाद। सत्यमेव जयते।’