एकीकृत समाजवादीका केन्द्रीय सदस्य कर्माचार्य निष्कासित
नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सदस्य सुवास कर्माचार्यलाई पार्टीबाट निष्कासित गरेको छ।
एकीकृत समाजवादीको साउन १९ मा बसेको केन्द्रीय सचिवालयको बैठकले कर्माचार्यलाई निष्कासन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।
“पार्टीको नीति कार्यक्रम, संगठनात्मक पद्धति तथा निष्ठाका विरुद्धमा क्रियाकलाप गरी अनेकौं पटक सम्झाउँदा पनि पार्टी हितका विरुद्धमा गतिविधि गरेकोले साधारण सदस्यता समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ,” खतिवडाले भने।
कर्माचार्य एकीकृत समाजवादीको सिन्धुपाल्चोक जिल्ला इन्चार्ज पनि थिए। उनी पूर्व सांसद पनि हुन्।
उनका गतिविधिको भ्रममा नपर्न एकीकृत समाजवादीले आफ्ना कार्यकर्तालाई आह्वान पनि गरेको छ।