ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास
राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन्।
शुक्रबार पत्रकार सम्मेलन गरी मल्लले क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन्। “अन्तर्राष्ट्रिय क्रिकेटको यात्रालाई विराम लगाउने र अर्को यात्रा शुरू गर्ने निर्णय गरेको छु,” मल्लले भने।
उनले १८ वर्ष नेपालको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसूस भएको बताए। यसका लागि उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
धेरै सोचविचार गरेर सन्न्यासको घोषणा गरेको उनले बताए। “यत्रो वर्ष क्रिकेट खेलें। अब परिवर्तन हुनुपर्छ, यो नै सन्न्यास लिने उपयुक्त समय हो भने लाग्यो,” मल्लले भने।
केही समयअघि पनि सन्न्यास लिने विषयमा सोचेको उनको भनाइ थियो। तर, आफूले सन्न्यास लिंदा टोलीलाई असर नपरोस् भनेर धैर्य गरेको उनले बताए। अब नयाँ प्रतिभावान् खेलाडी आइसकेको बताउँदै उनले भने, “मेरो ड्यूटी पूरा गरें भन्ने महसूस भयो।”
मल्लले नेपालका लागि ३७ वटा एकदिवसीय खेल खेलेका छन्। जसमा ८७६ रन बनाएका छन्। त्यस्तै, ४५ वटा अन्तर्राष्ट्रिय टी-२० मा ८८३ रन बनाएका छन्।
उनले सन् २०१८ मा पहिलो एकदिवसीय खेल खेलेका थिए। त्यस्तै, सन् २०१४ मा पहिलो अन्तर्राष्ट्रिय टी-२० मा नेपालको प्रतिनिधित्व गरेका थिए।