आँखा पाक्ने रोग फैलिएपछि जनकपुरका विद्यालय बन्द
गत साता आँखा पाक्ने समस्या लिएर दैनिक ४०/४५ जना बिरामी आउने गरेकामा यो साता दैनिक १५० जनासम्म बिरामी आएका छन्।
आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरका विद्यालयहरू केही दिनका लागि बन्द गरिने भएको छ। जनकपुरधाम उपमहानगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न आँखा अस्पतालबाट अनुरोध आएपछि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
उपमहानगरका निमित प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी विज्ञप्ति अनुसार साउन २१ गतेदेखि २६ गतेसम्म उपमहानगरमा पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ।
पछिल्लो केही दिन यता जनकपुरस्थित जानकी आँखा अस्पतालमा बिरामीको भीड पनि बढेको छ। पहिले बढीमा दैनिक ६५० जनासम्म उपचार गराउन आउने भए पनि अहिले ८०० भन्दा बढी आइरहेका छन्। आँखा पाक्ने रोग धेरै फैलिएकाले बिरामी संख्या बढेको अस्पतालका मेडिकल डाइरेक्टर डा. आशिष बोहोराले बताए।
बोहोराका अनुसार यो साता आँखा पाक्ने समस्या लिएर मात्रै दैनिक १५० जनासम्म बिरामी आएका छन्। गत साता यस्तै समस्या लिएर आउने बिरामी संख्या ४०/४५ जना मात्रै थियो।
जनकपुर सहित अहिले गाउँ गाउँमा पनि आँखा पाक्ने रोग फैलिएको छ। सबैभन्दा बढी बालबालिकामा संक्रमण देखिएको छ।
बोहोराका अनुसार संक्रमण भइसकेपछि शुरूमा आँखा बिझाउने, चिलाउने, चिप्रा टाँसिने, आँखा रातो हुने, आँसु बग्ने, घाममा हिंड्न गाह्रो हुने लगायत लक्षण देखापर्छन्। कसैकसैको आँखाको ढकनी पनि सुन्निन्छ।
चिकित्सकहरूले रोग लाग्न नदिन आँखा सफा राख्न र रोग लागेको खण्डमा बिहान–बेलुकी पानीले आँखा पखाल्न तथा बरफले सेक्न आग्रह गरेका छन्। यस्तै, चिकित्सकको सल्लाह अनुसार उपचार गर्न पनि आग्रह गरिएको छ।