सरकारलाई दिएको समर्थन यथावत् राख्ने जनमतको निर्णय
जनमत पार्टीले गठबन्धन सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय गरेको छ।
केन्द्रीय समिति बैठकमा अध्यक्ष सीके राउतले वर्तमान सरकारलाई दिएको समर्थन निरन्तरताको प्रस्ताव राखेका थिए। त्यसलाई केन्द्रीय समिति बैठकले सर्वसम्मत रूपमा पारित गर्ने निर्णय गरेको प्रवक्ता शरदसिंह यादवले बताए।
त्यस्तै, प्रदेश सरकारलाई दिएको समर्थन पनि यथावत् राख्ने जनमतले निर्णय गरेको छ। जनमतले मधेश प्रदेश सरकारलाई समर्थन दिइरहेको छ।
यससँगै जनमतको केन्द्रीय समिति बैठकले पार्टी संगठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन-८४’ अगाडि बढाउने निर्णय गरेको छ।
जनमतले आज स्थानीय जनप्रतिनिधि सम्मिलत पार्टी समन्वय बैठक बोलाएको छ। बैठकमा वडाध्यक्ष, मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सहभागिता रहनेछ।