आमाको दूधबाट वञ्चित शिशुका लागि मानव दूध ब्यांक
मानव दूध ब्यांकले सम्पूर्ण जाँचपछि मात्र दूधको सङ्कलन, शुद्धीकरण/निर्मलीकरण, सुरक्षित भण्डारण र अन्त्यमा आवश्यकताका आधारमा वितरण गर्छ। यसकारण यो दूध सुरक्षित र आमाकै दूध सरह पौष्टिक तत्त्वयुक्त पनि हुन्छ।
शिशुको स्वास्थ्यमा स्तनपानको निकै महत्त्व हुन्छ। प्रोटिन, भिटामिन साथै विभिन्न संक्रमण विरुद्ध लड्न सक्ने क्षमता प्रदान गर्ने ‘इम्युनोग्लोबियुलिन’ तथा अन्य पौष्टिक तत्त्वहरू प्रशस्त हुने भएकाले पनि स्तनपानलाई शिशुको पहिलो खोपका रूपमा लिइन्छ।
स्तनपान आमा र बच्चाबीच निकटता बढाउने, आत्मीय र भावनात्मक सम्बन्ध स्थापित गर्ने पहिलो खुड्किला हो। यसै कारण स्तनपान प्रवर्द्धन गर्नकै लागि हरेक वर्ष अंग्रेजी महीना अगस्टको पहिलो सातालाई ‘स्तनपान सप्ताह’ का रूपमा मनाइन्छ। यस वर्ष ‘स्तपानमैत्री कार्यस्थलको सुनिश्चताः सबै सरोकारवालाको प्रतिबद्धता’ भन्ने नाराका साथ विश्वभर स्तनपान सप्ताह मनाइँदै छ।
संसारभर स्तनपान मात्र गराउँदा पनि पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा प्रतिवर्ष १३ प्रतिशतले कमी हुने देखिएको छ। साथै, शिशु जन्मेको एक घण्टादेखि नै स्तनपान गराए नवजात शिशुको मृत्युदरमा २२ प्रतिशतले कमी आउने देखिएको छ।
विश्व स्वास्थ्य संगठनले शिशु जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान गराउनुपर्ने र ६ महीनासम्म अरू कुनै खानेकुरा वा पानी पनि नखुवाई स्तनपान मात्र गराउनुपर्ने सुझाव दिएको छ।
नेपालमा स्तनपानको महत्त्वलाई आत्मसात् गर्दै राष्ट्रिय पोषण नीति, बाल तथा नवजात शिशु पोषण नीति बनेका छन्। यद्यपि नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार केही सुधार भए पनि जन्मेको पहिलो घण्टामा स्तनपान गराउने आमाहरू जम्मा ५५ प्रतिशत छन्। जन्मेको ६ महीनासम्म पानी पनि नखुवाई आमाको मात्र दूध चुसाउने आमाहरूको दर ६२ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको छ।
आमाहरू पेशा वा व्यवसायमा संलग्न भएकाले स्तनपानलाई निरन्तरता दिन नसक्नु र धेरैजसो कार्यस्थल स्तनपानमैत्री नहुनु पनि यस गिरावटको मुख्य कारण हुन सक्छ। नेपालमा मात्र नभई विश्वभर नै स्तनपानको यो तथ्याङ्कमा समानता छ। तसर्थ कार्यस्थलमा स्तनपानका लागि सहज वातावरण बनाउनु सम्बन्धित सबैको जिम्मेवारी हो।
यस्तै, आमामा विभिन्न स्वास्थ्य समस्याका कारण स्तनपान गराउन नसक्ने वा नहुने तथा कतिपय अवस्थामा आमाको मृत्यु अथवा उपस्थित नरहने कारणले गर्दा शिशुहरू स्तनपानबाट वञ्चित हुन सक्छन्।
गर्भावधि पूर्ण नभई जन्मिएका, जन्मँदा तौल कम भएका र जन्मँदै स्वास्थ्यमा जटिलता हुने अवस्था भएका शिशुहरू शारीरिक तथा मानसिक रूपमा पूर्ण विकसित भइसकेका हुँदैनन्। त्यस्ता शिशुहरू आमाको दूध चुसेर खान नसक्ने हुन सक्छन्। विभिन्न सर्वेक्षणले शिशु सघन कक्ष वा विशेष नवजात हेरचाह कक्षमा भर्ना हुने १० मध्ये चार शिशुमा यीमध्ये एक अवस्था हुने देखाएको छ।
यस्तो अवस्थामा शिशुका लागि सर्वोत्तम आहार भनेको आफ्नै आमाको निचोरेको वा दाता आमाबाट प्राप्त दूध हो। यसले पूर्ण स्तनपान सुनिश्चित गर्नुका साथै अस्पताल बस्दा शिशुलाई खानाबाट हुन सक्ने संक्रमणबाट समेत बचाउनुका साथै बच्चाको सर्वाङ्गीण शारीरिक तथा मानसिक विकासमा समेत टेवा पुर्याउँछ।
तर, आमाको दूधको विकल्पमा बजारमा पाइने कृत्रिम दूधको प्रयोग गरे शिशुलाई आन्द्रा सम्बन्धी समस्या ‘नेक्रोटाइजिङ एन्टेरोकोलिटिस’, ‘सेप्सिस’, श्वासप्रश्वास सम्बन्धी समस्या, विभिन्न संक्रमणको जोखिम तथा दूरगामी रूपमा शिशुको मष्तिष्कको तीक्ष्णतामा पनि प्रभाव पार्छ। त्यसैले शिशुको गुणस्तरीय पोषण र दीर्घकालीन स्वास्थ्यका लागि आमाको दूधको विकल्प छैन र हुनु पनि हुँदैन।
दूध ब्यांकको अवधारणा
विकसित मुलुकमा आमाको दूधबाट विमुख हुने शिशुलाई ‘मानव दूध ब्यांक’ द्वारा दाता आमाको दूध उपलब्ध गराइन्छ। विश्व स्वास्थ्य संगठनले पनि त्यस्ता शिशुका लागि सर्वोत्तम विकल्प दाता आमाको दूध नै रहेको र यसलाई सर्वत्र र सुलभ ढङ्गले उपलब्ध गराइनुपर्ने बताएको छ।
मानव दूध ब्यांक नेपाली निम्ति नौलो भए पनि यसको इतिहास १०० वर्षभन्दा पुरानो छ। सन् १९०९ मा अस्ट्रियाको भियना शहरमा यस अभियानको शुरूआत भएको थियो। सन् १९१९ मा अमेरिकाको बोस्टन शहरमा, सन् १९४० मा बेलायतमा र सन् १९४७ मा ब्राजिलमा यसको शुरूआत भएको थियो।
भारतमा समेत आजभन्दा ३३ वर्षअघि सन् १९८९ मा मानव दूध ब्यांकको स्थापना गरिएको थियो। हाल विश्वभर ५० भन्दा बढी राष्ट्रले ६०० भन्दा बढी मानव दूध ब्यांक सञ्चालन गरी आमाको दूधबाट वञ्चित शिशुलाई दाताबाट प्राप्त दूध सुरक्षित तरीकाले प्रदान गरिरहेका छन्।
मानव दूध ब्यांकले दाता आमाको दूधबाट सर्न सक्ने रोगहरूको सम्पूर्ण जाँचपछि मात्र दूधको सङ्कलन, शुद्धीकरण/निर्मलीकरण, सुरक्षित भण्डारण र अन्त्यमा आवश्यकताका आधारमा वितरण गर्ने गर्छ। यसकारण यो दूध सम्पूर्ण रूपमा सुरक्षित र आमाकै दूध सरह पौष्टिक तत्त्वयुक्त पनि हुन्छ। केही मात्रामा ‘इम्युनोग्लोबिन’ को मात्रामा कमी हुने भए पनि बजारमा पाइने बट्टाको दूधको तुलनामा कैयौं गुणा फाइदाजनक र सुरक्षित हुन्छ। अर्कातर्फ, आमालाई स्तनपान गराउन सहयोग पुर्याई अन्ततः स्तनपान प्रवर्द्धन पनि गर्छ।
विश्वभर गरिएका विभिन्न सर्वेक्षणले पनि जोखिमयुक्त शिशुमा दाता मानव दूधको सकारात्मक प्रभाव देखिएको छ। जन्मँदा कम तौल भएका शिशुमा पहिलो २८ दिनभित्र हुने संक्रमणको जोखिमलाई १९ प्रतिशत कम गरेको, समय अगावै जन्मेका शिशुमा आन्द्राको समस्या ७९ प्रतिशतले कम गरेको, समय अगावै जन्मने बच्चामा आँखाको ज्योति गुम्न सक्ने सम्भावनाको दरलाई कम गरेको, अपच, झाडापखाला, बान्ता जस्ता समस्यामा कमी हुने भएकाले शिशु सघन एकाइको बसाइँलाई छोटो गराई खर्च कटौती गरेको सर्वक्षणले देखाएको छ।
अमेरिकाको एक सर्वेक्षणबाट दाता मानव दूध प्राप्त गरेका शिशुको सघन स्याहार एकाइमा आन्द्राको समस्या र सेप्सिसलाई कम गरी प्रतिशिशु आठ हजार १६७ अमेरिकन डलर बचत भएको तथ्य प्रमाणित भएको छ। साथै, समय अगावै जन्मेका शिशुलाई दाता मानव दूध प्रदान गरिंदा मस्तिष्क विकासमा सकारात्मक असर रहने, ‘ह्वाइट म्याटर’ अधिक हुने, मस्तिष्कको आकार ठूलो हुने र उसको मानसिक तथा अन्य क्षमता पनि उच्च हुने देखाएको छ।
विभिन्न मुलुकमा अहिले सेवा सुदृढ गर्न अस्पतालमा आधारित बृहत् स्तनपान व्यवस्थापन केन्द्रको अवधारणा अपनाइएको छ। यो अवधारणाले बृहत् स्तनपानको प्रवर्द्धन नीति कार्यान्वयन गर्न वातावरण तयार गर्नुका साथै स्तनपानको महत्त्वलाई जनस्तरमा प्रवर्द्धन गरी दाता आमाको संख्यामा वृद्धि तथा आवश्यकता रहेका अधिकांश शिशुसम्म प्राणदायी मानव दूधको दीर्घकालीन पहुँच बढाई एउटा मजबूत चक्रको निर्माण गर्न सहयोग पुर्याउँछ।
शिशु मृत्युदर न्यूनीकरणको उपाय
आमाको दूधको महत्त्वलाई आत्मसात् गरेर मानव दूध ब्यांकलाई नवजात शिशु सेवासँग समायोजन गरी विभिन्न मुलुकले नवजात शिशुको मृत्युदरमा उल्लेखनीय कमी पनि ल्याएका छन्। ब्राजिल सन् १९९० देखि २०१३ सम्म नवजात शिशुको मृत्युदरलाई ७३ प्रतिशतले न्यूनीकरण गर्न सफल रह्यो। हाल ब्राजिलको मानव दूध ब्यांक व्यवस्थापनलाई संसारभर उदाहरणका रूपमा लिइन्छ।
भारतमा पनि देशव्यापी मानव दूध ब्यांकलाई विस्तार गरिंदै छ। भारतमा हाल १०० भन्दा बढी मानव दूध ब्यांक छन्।
नेपालमा पनि समय अगावै जन्मने शिशु प्रतिवर्ष ८१ हजार रहेको तथा शल्यक्रियाबाट जन्मने शिशुको दर ११ प्रतिशतले बढेको अवस्थामा मानव दूध ब्यांकको आवश्यकता लामो समयदेखि महसूस गरिएको थियो। यो आवश्यकतालाई मध्यनजर गर्दै २०७९ भदौ ३ गते परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको वार्षिकोत्सव अवसर पारी ‘बृहत् स्तपान व्यवस्थापन केन्द्र’ अन्तर्गत मानव दूध ब्यांकको अवधारणालाई कार्यान्वयन गरिएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा तथा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबीचको सहकार्यमा स्थापित दूध ब्यांक अहिले ११औं महीनामा प्रवेश गरेको छ। हालसम्म ८०० भन्दा बढी आमाले ४५० लिटरभन्दा बढी दूध यस ‘अमृत कोष’ मा दान गरिसकेका छन्। दाताबाट प्राप्त दूधबाट लाभान्वित हुने नवजात शिशुको संख्या लगभग ९०० पुगेको छ।
जन्मँदा कम तौल भएका, समय अगावै जन्मिएका, विभिन्न कारणले आमाको दूधबाट वञ्चित शिशुलाई ‘अमृत कोष’ ले ‘पाश्चराइज’ दूध दिने गरेको छ। हाललाई प्रसूति तथा स्त्री रोग अस्पतालकै शिशु स्याहार सघन कक्षमा भर्ना भएका शिशुलाई दाताबाट प्राप्त दूध दिइएको भए पनि अन्य अस्पतालमा उपचाररत नवजात शिशुलाई पनि यस अमृत कोषको दूध पुर्याउने भावी योजना छ। अन्य अस्पतालबाट पटक पटक ‘पाश्चराइज्ड’ दूधको माग भइरहेकाले पनि दीर्घकालीन रूपमा सो मागलाई सम्बोधन गर्न स्तनपान व्यवस्थापन एकाइहरू स्थापना गर्ने राष्ट्रिय स्तरबाटै तयारी भइरहेको छ।
आगामी दिनमा मानव दूध ब्यांकलाई नवजात शिशु सेवासँग समायोजन गरी लागत प्रभावी र सबै शिशुको पहुँचमा पुर्याउने योजना सहित व्यक्तिगत, सामुदायिक ,सम्बन्धित निकाय तथा राष्ट्र तहबाटै हातेमालो गर्दै अगाडि बढ्न जरुरी छ। साथै, स्वास्थ्य संस्थामा स्तनपानको प्रवर्द्धन, संरक्षण र स्तनपानमैत्री वातावरण बनाई आमालाई स्तनपान गराउन सहयोग गर्ने तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुमा नियन्त्रण गर्न सके समयमै स्तनपान शुरू गर्ने र निरन्तरता दिने काममा ठूलो योगदान पुग्छ।
(लेखक पौडेल प्ररोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको बृहत्त स्तनपान व्यवस्थापन केन्द्रकी व्यवस्थापक हुन् भने अधिकारी सोही अस्पतालको नवजात शिशु सघन एकाइकी स्टाफ नर्स हुन्।)