दोलखामा पहिरोमा परी बालकको मृत्यु, तीन जना सम्पर्कविहीन
दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ भने तीन जना सम्पर्कविहीन छन्।
गौरीशङ्कर गाउँपालिका-८, टोपाटारमा गएराति पहिरो गएको हो। गौरीशङ्कर-८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुर्याएको दोलखाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले बताए।
पहिरोमा परी स्थानीय यज्ञबहादुर थामीका १५ महीनाका नाति प्रिन्स थामीको शव फेला परेको प्रजिअ धमलाले बताए। पहिरोले घर पुरिएको छ।
त्यस्तै, पहिरोमा परी गौरीशङ्कर-७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र देवीमाया मगर हराइरहेका छन्। पहिरोमा परी तीन जना घाइते छन्। टोपाटारका यज्ञबहादुर थामी, धनमाया थामी र सीता थामी घाइते भएको धमलाले बताए।
हराइरहेका तीन जनाको खोजी भइरहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खोजी कार्यमा जुटेका छन्।