ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरेर तीन करोड ४५ लाख राजस्व सङ्कलन
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरिएको हो।
गत आर्थिक वर्ष २०७९/८० मा चितवन जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने ४० हजार ६६४ सवारी चालकलाई कारबाही गरिएको छ। मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन गर्ने, निषेधित क्षेत्रमा पार्क, तीव्र गतिमा सवारी चलाउने लगायत ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरिएको हो।
चालकलाई कारबाही गरेर रु. तीन करोड ४५ लाख ३८ हजार राजस्व सङ्कलन पनि भएको छ।
कारबाहीमा पर्नेमा ट्रक तथा टिपरका चालक सात हजार ७५, बस तथा माइक्रोबसका चालक चार हजार १९४, जीप तथा कारका चालक सात हजार ७१२, ट्र्याक्टर चालक एक हजार ६०९, मोटरसाइकल तथा स्कूटर चालक १३ हजार १०७ र टेम्पो तथा अटोरिक्शा लगायत सवारीका चालक ६ हजार ९६७ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए।
गत आवमा ३०३ सवारीसाधन दुर्घटनामा परेको र सो क्रममा ७८ जनाको मृत्यु पनि भएको थियो। ती दुर्घटनामा १७० जना गम्भीर र ४११ जना सामान्य घाइते भएको तामाङ बताए।
सबैभन्दा बढी जिल्लाका भित्री सडकमा १४१, पूर्व–पश्चिम राजमार्गमा ६४, नारायणगढ–मुग्लिन सडकखण्डमा ५७, पृथ्वी राजमार्गमा २३ र जिल्लाका शहरी सडकखण्डमा १८ सवारीसाधन दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ।