कौसी खेती मार्फत शहरी कृषि प्रवर्द्धन परियोजना शुरू
विपद्का वेला आइपर्ने शहरी खाद्य सङ्कटको जोखिमलाई कम गर्ने, शहरी कृषि र दिगो फोहोरमैला व्यवस्थाका लागि घरधुरी स्तरमा क्षमता अभिवृद्धिमा जोड दिने, उत्पादित उपजलाई उन्नत प्रविधि मार्फत बजारमा जोड्ने उद्देश्यले कार्यक्रम शुरू गरिएको हो।
ललितपुर महानगरपालिकामा कौसी खेती प्रवर्द्धन कार्यक्रम शुरू गरिएको छ। संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (यूएन ह्याबिट्याट)को संयोजनमा ललितपुर महानगरपालिका, हसेरा कृषि अनुसन्धान तथा तालीम केन्द्र र स्टोरी साइकलबीचको सहकार्यमा ‘कौसी खेती मार्फत शहरी कृषि प्रवर्द्धन परियोजना’ शुरू गरिएको हो।
ललितपुरको नमूना मच्छिन्द्र माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा शहरी खेती प्रवर्द्धनका लागि तयार पारिएको करेसा एप डाउनलोड गरी ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जरी शाक्य बज्राचार्यले परियोजनाको शुभारम्भ गरेकी थिइन्। घरभित्रको फोहोरलाई घरभित्रै व्यवस्थापन गरी शहरलाई प्रदूषणमुक्त बनाउन, उद्यमशीलता विकास गर्न र शहरी सुन्दरता प्रवर्द्धन गर्न कौसी खेतीले महत्त्वपूर्ण योगदान दिन सक्ने उनले बताएकी थिइन्।
विपद्का वेला आइपर्ने शहरी खाद्य सङ्कटको जोखिमलाई कम गर्ने, शहरी कृषि र दिगो फोहोरमैला व्यवस्थाका लागि घरधुरी स्तरमा क्षमता अभिवृद्धिमा जोड दिने, उत्पादित उपजलाई उन्नत प्रविधि मार्फत बजारमा जोड्ने उद्देश्य रहेको संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रमकी बसोबास कार्यक्रम प्रबन्धक प्रज्ञा प्रधानले बताइन्।
विद्यालय तहदेखि नै यस सम्बन्धी जनचेतना जगाउनु जरुरी रहेकोले नमूना मच्छिन्द्र माध्यमिक विद्यालयमा नमूना फार्म निर्माण गरिएको उनको भनाइ थियो। यस्तै, हातहातमा कौसी खेतीको ज्ञान पुगोस् भन्ने उद्देश्यले करेसा एप निर्माण गरिएको पनि उनले बताइन्।
ललितपुर महानगरपालिका महिला विकास शाखाकी अधिकृत शोभादेवी खरेल महानगरको लक्ष्य कौसी खेतीलाई महिला उद्यमशीलतासँग जोड्नु रहेको बताउँछिन्।
परियोजनाले ललितपुर महानगरभित्र शहरी खेती प्रवर्द्धनका लागि तीनदिने प्रशिक्षक प्रशिक्षण समेत सम्पन्न गरेको छ। उक्त तालीममा ललितपुर महानगरभित्रका विभिन्न वडाका ४७ जना प्रशिक्षार्थीले भाग लिएका थिए। तालीममा सहभागी वडा नं २३ की रश्मि कँडेल तीन-चार आनामा खुम्चिएको शहरी जीवनलाई जीवन्त बनाउन, विषादीयुक्त तरकारी खपत कम गर्न र घर बसाइको समयलाई रचनात्मक बनाउन कौसी खेतीले महत्त्वपूर्ण योगदान पुर्याउन सकिने ज्ञान पाएको बताउँछिन्।