बलात्कारको मुद्दामा छुटेका युवक हत्या घटनामा पक्राउ
बलात्कारको मुद्दामा छुटेको दुई महीना नबित्दै एक युवक गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका छन्।
लागूऔषधको लतमा लागेका एक युवक बलात्कार मुद्दामा जेल पुग्छन्। १० वर्ष जेल सजाय भोगेर निस्किएपछि फेरि लागूऔषधतिर लाग्छन्। त्यसका लागि खर्च जोहो गर्न लूटपाटमा सामेल हुन्छन्। लूटपाट गर्न बन्दूक बोकेर हिंड्न थालेका उनी हत्यामा पक्राउ पर्छन्।
कथा जस्तो लाग्ने यो मोरङको घटना हो। लेटाङ नगरपालिका-१०, पुतलीलाइनका ३५ वर्षीय पर्वत भनिने दीपक तिम्सिना हत्याको आरोपमा पक्राउ परेका छन्।
साउन ५ गते सुनसरीको इटहरी र धरानको सिमानामा पर्ने सेउती खोला छेउमा एक जनाको गोली हानी हत्या गरिएको थियो। त्यसमा संलग्न रहेको आरोपमा दीपक र उनका साथी धरान उपमहानगरपालिका-१४ का ३४ वर्षीय अनसन तामाङ पक्राउ परेका छन्। दुवै जनालाई प्रहरीले साउन १६ मा धरानबाट पक्राउ गरेको हो।
दीपक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको मुद्दामा १० वर्ष जेल बसेर दुई महीना अघि छुटेका थिए। त्यस्तै, अनसन लागूऔषधको मुद्दामा ६ महीना जेल बसेर दुई वर्षअघि छुटेका थिए।
कोशी प्रदेशका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाका अनुसार गत साउन ५ गते तीन जनाको समूहले विराटनगर महानगरपालिका-५ का रोहित चौधरीको गोली हानी हत्या गरेको थियो। उनीहरूले रोहित र उनीसँगै भएकी युवतीका साथबाट ६ तोला पाँच आना सुन, ७३ हजार ५०० रुपैयाँ, चार थान मोबाइल, चार वटा ब्याग र घडी लुटेका थिए।
हत्या र लूटपाटमा संलग्न तीनमध्ये दुई जना पक्राउ परेका छन् भने एक जना फरार छन्। यो समूहमा अन्य युवा पनि हुन सक्ने प्रहरीको अनुमान छ।
रोहितको हत्याअघि धरान आसपासको चारकोसे जङ्गलमा यो समूहले चार पटक लूटपाट गरेको प्रहरीले जनाएको छ। जङ्गलमा लूटपाटका घटना हुन थालेपछि जेलबाट छुटेका युवाको निगरानी गर्ने क्रममा हत्या नै भएको पाइएको सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताए।
असार ३१ गते धरान-कालाबन्जार सडकखण्डमा यही समूहले मोटरसाइकलमा सवार एक व्यक्तिलाई नियन्त्रणमा लिएर खुकुरी देखाई ५२ हजार रुपैयाँ लुटेको थियो। त्यसअघि असार २३ मा धरानबाट प्रकाशपुर जांदै गरेका दम्पती सवार मोटरसाइकल रोकेर चार तोलाभन्दा बढीका सुनका गहना लुटेको थियो। उनीहरूसँग भएको ब्याग, नगद, मोबाइल फोन समेत लुटेको थियो।
त्यसअघि असार ८ मा धरान-१७ को खैरेनी जङ्गलमा उनीहरूले एक महिलाबाट करीब दुई तोला सुनका गहना, नगद, मोबाइल लुटेको प्रहरीले जनाएको छ। धरानको जङ्गलमा लगातार लूटपाटका घटना हुन थालेपछि प्रहरीले लुटेरा खोजी गरिरहेको थियो।
घुमफिर गरेर रोहित जन्मदिन मनाउन साथीसँगै घर फर्किरहेका थिए। अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक भीमबहादुर दाहालका अनुसार रोहित र युवतीलाई नियन्त्रणमा लिएर दुवैको घाँटीमा खुकुरी राखिएको थियो। “आत्तिएका रोहितले लुटेरालाई ‘दाइ, उनलाई छाडिदिनू’ भनेर कराएका थिए। सडक नजिकैको जङ्गल भएकाले आवाज पर पुग्ने डरले उनीहरूले चूप लाग्न भने। तर, दीपकले पुनः आग्रह गरेपछि गोली हानेको देखियो,” उपरीक्षक दाहालले भने।
खुकुरी देखाएर लूटपाट गर्न थालेका उनीहरूले पछि भारततर्फ गएर ४० हजारमा अटोमेटिक चाइनिज पेस्तोल किनेर ल्याएको पाइएको छ। यो समूहमा अन्य युवाको मिलेमतो हुन सक्ने आशङ्कामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले दीपक र अनसनलाई बुधबार सार्वजनिक गरेको छ। उनीहरूले प्रयोग गर्ने पेस्तोल, खुकुरी पनि सार्वजनिक गरेको छ।