माओवादी पार्टी जस्तो भइराखेको छैन: दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पार्टीजस्तो नभएको बताएका छन्।
काठमाडौंमा बुधबार शुरू भएको माओवादी केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी पुनर्निर्माणमा जुट्नुपर्ने बताए। “हामीसँग नेता कार्यकर्ताको विशाल पङ्क्ति त छ, तर पार्टी चाहिं पार्टी जस्तो भइराखेको छैन,” दाहालले भने।
त्यसैले केन्द्रीय समितिको बैठकबाट कम्युनिस्ट पार्टी पुनर्निर्माणको अभियान थाल्नुपर्ने उनको भनाइ थियो। “हामीले कम्युनिस्ट पार्टीको पुनर्निर्माणको अभियान यो बैठकबाट थाल्नु छ,” दाहालले भने, “मलाई विश्वास छ, केन्द्रीय समितिका सबैले गम्भीरताका साथ, जिम्मेवारीका साथ र अनुशासित रूपले रचनात्मक बहस, छलफल गरी पार्टी पुनर्निर्माणको अभियानको ऐतिहासिक थालनी गर्न सहयोग पुर्याउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु।”
कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा शुरू भएको बैठकको प्रारम्भमा अध्यक्ष दाहालले सरकारले थालेको सुशासनको अभियानबाट जनतामा आशाको सञ्चार भएको बताए।
बैठकमा दाहालले राजनीतिक र सांगठिनक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको माओवादीका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए। माओवादीले राजनीतिक र सांगठनिक प्रस्ताव तयार पार्न उपसमिति गठन गरेको थियो।उपसमितिले तयार पारेको प्रतिवेदनलाई अध्यक्ष दाहालले अन्तिम रूप दिएका छन्।
बैठकमा सरकारको समीक्षा तथा विभिन्न पार्टीसँगको एकताका विषयमा पनि छलफल हुने भएको छ। केन्द्रीय समिति बैठकमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पठाएको पार्टी एकता सम्बन्धी प्रस्ताव तथा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँगको एकताबारे पनि छलफल हुने जनाइएको छ।
बैठकमा ३८५ पूर्ण केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य र १० प्रदेशका १०० पदाधिकारी गरी ७५८ जनाको सहभागिता छ। बैठक पाँच दिनसम्म चल्नेछ।