सभामुखबाट बाध्यताले राजीनामा दिएँ: बाबुराम गौतम
कोशी प्रदेशका पूर्व सभामुख बाबुराम गौतमले बाध्यताले पदबाट राजीनामा दिएको बताएका छन्।
गौतमले साउन १६ मा सभामुखबाट राजीनामा दिएका थिए। सभामुखबाट राजीनामा दिएपछि उनी सहितको हस्ताक्षरमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बनेका छन्।
यसअघि सभामुख हुँदै गौतमको हस्ताक्षरमा थापा मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसलाई संविधान प्रतिकूल ठहर गर्दै सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गरेको थियो।
यस पटक भने गौतमले सभामुखबाट राजीनामा दिएर नेकपा (माओवादी केन्द्र)को सांसदका रूपमा हस्ताक्षर गरेका हुन्। उनी सहित माओवादीका १३, कांग्रेसका २९, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टी (जसपा)का एक जना गरी ४७ सांसदको समर्थनमा थापा मुख्यमन्त्री बनेका हुन्।
सभामुखबाट राजीनामा गर्ने आफ्नो इच्छा नरहेको गौतमको भनाइ छ। गौतमले हिमालखबरसँग संक्षिप्त कुराकानी गर्दै भने, “सभामुखबाट राजीनामा दिने मेरो व्यक्तिगत इच्छा थिएन, परिवेश र बाध्यताले मैले त्यसो गर्नुपर्ने स्थिति आयो।”
अब माओवादी सांसद मात्रै रहेकाले मन्त्री बन्ने वा नबन्ने पार्टीमा निर्भर रहेको उनको भनाइ छ। “अब म सभामुखको भूमिकाबाट बाहिरिएपछि पूर्ण रूपमा दलको सांसद तथा नेता मात्रै भएँ,” गौतमले भने, “त्यसैले अब मन्त्री बन्ने/नबन्ने भन्ने मेरो कुराभन्दा पनि दलको निर्णयमा भर पर्छ।”
९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ। अहिले सत्तारूढ गठबन्धनसँग स्पष्ट बहुमत छ।
त्यस्तै, विपक्षमा रहेका नेकपा (एमाले)का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६ सांसद छन्। अहिले एमालेबाट उपसभामुख छन्। एमालेले उपसभामुखलाई पनि राजीनामा गर्न लगाउने चर्चा चलिरहेको छ।