त्रियुगाका बालबालिका आँखा पाक्ने रोगबाट पीडित
हाल दैनिक ८० देखि १०० जनाको हाराहारीमा बालबालिका उपचारका लागि आउने गरेका छन्।
उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका बालबालिकामा आँखा पाक्ने रोग देखिएको छ। गाईघाट बजार सहित जलजले, देउरी, बगाहा, बोक्से लगायत शहरी क्षेत्रका बालबालिकामा आँखा पाक्ने रोग देखिएको हो।
एक हप्ताअघि देखिएको आँखाको रोग अहिले बिस्तारै नगरक्षेत्रभरि फैलिन थालेको छ।
गाईघाट बजारकी सन्ध्या थापा आफ्ना १५ वर्षीय छोरा र नौ तथा चार वर्षीया छोरीहरू आँखा पाक्ने रोगबाट पीडित भएको बताउँछिन्। घरमै चिकित्सकको सल्लाह अनुसार नियमित औषधि प्रयोग गरिरहेको उनले बताइन्।
जिल्ला अस्पताल, उदयपुरका बालरोग विशेषज्ञ डा. निरज सिंहका अनुसार अहिले ससाना बालबालिका समेत उपचारका लागि दैनिक अस्पताल आउने गरेका छन्। “अधिकांश आँखा पाक्ने रोगबाट प्रभावित छन्,” उनले भने।
दैनिक ८० देखि १०० जनाको हाराहारीमा बालबालिका उपचारका लागि आउने गरेको उनले भने। जिल्ला अस्पतालका प्रमुख डा. ज्ञानेन्द्र झाका अनुसार नगरक्षेत्रका अधिकांश बालबालिका यस रोगबाट पीडित छन्। -रासस