माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट
बैठकमा सरकारका कामकारबाहीबारे पनि समीक्षा गर्ने बताइएको छ।
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजबाट शुरू हुँदै छ। कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा आज बिहान ११ बजेबाट शुरू हुने बैठकको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन्।
माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठकमा अध्यक्ष दाहालले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको छ। बैठकले सरकारका कामकारबाहीबारे पनि समीक्षा गर्ने बताइएको छ।
बैठकमा ३८७ पूर्ण केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य र १० प्रदेशका पदाधिकारी १०० जना सहभागी हुनेछन्। बैठकको सम्पूर्ण तयारी पूरा भएको सचिव उपाध्यायले जानकारी दिए। बैठकमा प्रत्येक सदस्यले प्रतिवेदनमाथि आधारित रहेर धारणा राख्ने गरी कार्यक्रम तय भएको उनले बताए।
माओवादी केन्द्रले बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारी समेत गरेको छ।
बैठकको कार्यसूची लगायतलाई पूर्णता दिन अहिले माओवादीको स्थायी समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ।