सेनेगलका माने पनि अल नासरमा
वार्षिक ३४ मिलियन पाउन्डमा माने सन् २०२७ सम्मका लागि अल नासरमा अनुबन्ध भएका हुन्। यसअघि उनी जर्मन क्लब बायर्न म्युनिखमा थिए।
सेनेगलका फूटबलर साडियो माने साउदी अरेबियन क्लब अल नासरमा अनुबन्ध भएका छन्। उनी अब पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसँगै मैदानमा देखिनेछन्।
फूटबलबारे सूचना सम्प्रेषण गर्ने ९० मिनेटका अनुसार अल नासरमा मानेको वार्षिक तलब ३४ मिलियन पाउन्ड हुनेछ। माने सन् २०२७ सम्मका लागि अल नासरमा अनुबन्ध भएका हुन्।
माने यसअघि जर्मन क्लब बायर्न म्युनिखमा आबद्ध थिए। ३१ वर्षीय मानेले बायर्नका लागि ३८ खेलमा १२ गोल गरेका थिए।
बायर्नका सीईओ जान क्रिस्टियन ड्रीसेनका अनुसार लिभरपूलबाट बायर्नमा आए यता मानेका लागि परिस्थिति सहज भएको थिएन। “हामी सबै र उनी आफैंले पनि आशा अनुरूप योगदान दिन सकेनन्,” ड्रीसेनले भने।
मानेले लिभरपूलमा ६ वर्ष बताएका थिए। त्यस दौरान उनले २६९ खेलमा १२० गोल गरेका थिए। लिभरपूलले प्रिमियर लिग, च्याम्पियन्स लिग, क्लब विश्वकप, सुपर कप, एफए कप र काराबाओ कप जस्ता प्रतिष्ठित उपाधि जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए।
राष्ट्रिय टोलीबाट मानेले सन् २०२१ को अफ्रिका कप अफ नेशन्सको उपाधि जितेका छन्। यो अफ्रिकी महादेशको सबैभन्दा प्रतिष्ठित फूटबल प्रतियोगिता हो।