उद्धव थापाद्वारा मुख्यमन्त्रीमा दाबी पेश, सभामुखले गरे राजीनामा
कोशी प्रदेश सरकारको मुख्यमन्त्रीका लागि सभामुखको राजीनामा गराएर उद्धव थापाले पुन: मुख्यमन्त्रीको दाबी गरेका छन्।
सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थनमा बहुमत पुर्याउँदै नेपाली कांग्रेस संसदीय दलका नेता थापाले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष दाबी पेश गरेका हुन्। यसअघि असंवैधानिक प्रक्रियाबाट सरकार गठन गरेको भन्दै सर्वोच्च अदालतले मुख्यमन्त्री थापा नेतृत्वको सरकारलाई बर्खास्त गरेको थियो। वैधानिकता नदिएपछि पुन: थापाकै नेतृत्वमा सरकार गठनका लागि बहुमत पुर्याउन सभामुख गौतमलाई राजीनामा गर्न लगाइएको हो।
गठबन्धनमा रहेका दलसँग ४६ र विपक्षमा रहेको नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग पनि ४६ सदस्य रहेकाले सभामुख गौतमलाई राजीनामा गर्न लगाइएको हो। प्रदेश प्रमुखसँग मुख्यमन्त्री दाबी गर्न ४७ सदस्यको हस्ताक्षर लिएर गठबन्धनका नेताहरू गएका थिए ।
सरकार गठनमा राप्रपाको साथ नपाएपछि गठबन्धनले सभामुख बाबुराम गौतमको राजीनामा गराएको हो। राजीनामा गर्न तयार नभएपछि उनको पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतमलाई मन्त्री पद दिने शर्त गरेको बताइएको छ। गौतमको राजीनामाले ९३ सदस्यीय प्रदेश सभामा गठबन्धनलाई सरकार बनाउन आवश्यक बहुमत ४७ सांसद पुगेका छन्।
गठबन्धनले सभामुख गौतमलाई राजीनामा गराएर संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकारको दाबी गरेको हो। सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले दिएको आज बेलुका ५ बजेसम्मको समय दिएका थिए। तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि असार २१ गते उद्धव थापाको नेतृत्वमा गठन भएको सरकार साउन ११ गते संविधान विपरीत रहेको भन्दै सर्वोच्च अदालतले खारेज गरिदिएको थियो।
थापा नेतृत्वको सरकार २२ दिनमै बर्खास्त भएको थियो। सर्वोच्चको आदेशले थापा नेतृत्वको सरकार अवैध घोषित भएपछि पुरानै सरकारलाई निरन्तरता दिन प्रदेश प्रमुख खापुङ तयार भएनन्। कानूनविद्हरूले कामचलाउ सरकारको प्रमुख कार्कीलाई नै बनाउनुपर्ने सुझाव दिएका थिए।
प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक सांसद छन्। सभामुखले राजीनामा गरे पनि थापाले विश्वासको मत लिंदा भने पुन: सभामुखको जिम्मेवारी गठबन्धनकै नेताले लिनुपर्ने हुन्छ।