प्रतिनिधि सभाको बैठक साउन २२ गते बस्ने
उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म बैठक सञ्चालन हुन नसक्ने एमालेको अडान छ।
प्रतिनिधि सभाको आगामी बैठक साउन २२ गते बस्ने भएको छ। सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा आज दिउँसो १ बजेका लागि तय भएको बैठक नियमित सञ्चालनका लागि प्रमुख राजनीतिक दलका सचेतकहरूलाई आग्रह गरे पनि सहमति जुट्न सकेको थिएन।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले साउन ३ गते सिनामंगलबाट बरामद भएको सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ। उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म बैठक सञ्चालन हुन नसक्ने एमालेको अडान छ।
विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले अर्को मिति तय गरिएको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन्। प्रतिनिधि सभाको आगामी बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेछ।