फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा संग्रहालय बनाइने, लागत एक अर्ब
योजना अनुसार केन्द्रको जलाशय र विद्युत्गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुराँ, पसल, जिपलाइन, वनभोजस्थल, पुस्तकालय, बाल उद्यान लगायत संरचनाहरू निर्माण गरिनेछन्।
फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा संग्रहालयका रूपमा विकास गरिने भएको छ। ५०० किलोवाट जडित क्षमताको ११२ वर्ष पुरानो तथा नेपालको पहिलो जलविद्युत् आयोजनालाई संरक्षण गरेर संग्रहालय बनाइने भएको हो।
नेपाल विद्युत् प्राधिकरणले एनईए इन्जिनीयरिङ कम्पनीलाई परामर्शदाता नियुक्त गरी केन्द्रलाई जलविद्युत् संग्रहालय र पर्यटकीय स्थलका रूपमा विकास गर्न गुरुयोजना तयार गरिरहेको छ। योजना अनुसार ऐतिहासिक जलविद्युत् केन्द्रका पुराना संरचनाहरूको जीर्णोद्धार हुनेछन् भने खाली जग्गामा नयाँ संरचनाहरू निर्माण गरिनेछन्।
काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युत्गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुराँ, पसल, जिपलाइन, वनभोजस्थल, पुस्तकालय, बाल उद्यान लगायत संरचनाहरू निर्माण गरिनेछन्।
परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि करीब एक अर्ब रुपैयाँ लाग्ने अनुमान छ। केन्द्रको स्वामित्वमा ३२४ रोपनी जग्गा छ। पर्यटकीय संरचनाहरू निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युत्गृह क्षेत्रको करीब १४६ रोपनी जग्गा प्रयोग गरिनेछ।
प्राधिकरणको ३८औं वार्षिकोत्सव अवसरमा फर्पिङ जलविद्युत केन्द्रको परिसरमा सोमबार आयोजित वृक्षरोपण कार्यक्रममा सहभागी हुन पुगेका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई गुरुयोजनाका विषयमा जानकारी दिइएको थियो। मन्त्री बस्नेत, ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले केन्द्रको विद्युत्गृह लगायतका संरचनाहरूको अवस्था अवलोकन गरेका थिए।
फर्पिङ जलविद्युत् केन्द्र १९६८ जेठ ९ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको थियो। तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहबाट टुँडिखेलमा बत्ती बालेर उद्घाटन भएको उक्त जलविद्युत् केन्द्रबाट राजपरिवार, राणापरिवार लगायतका घरमा विद्युत् वितरण गरिएको थियो।
राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो। करीब चार वर्ष लगाएर निर्माण गरिएको आयोजनाको लागत त्यति वेला सात लाख १३ हजार रुपैयाँ थियो।
२०३८ सालसम्म उक्त विद्युत् केन्द्र निरन्तर सञ्चालनमा थियो। तर, ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी टर्बाइनमा प्रवेश गराउन बन्द गरिएपछि विद्युत्गृह पनि बन्द भएको थियो। केन्द्रको मर्मतसम्भार गरी पुनः २०६३ पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालू हालतमा राखिएको छ।