प्रहरीलाई नै आक्रमण गरी स्थानीयले भगाए अभियुक्त
बरामद गरिएको सामान सहित लामालाई प्रहरीले निजगढतर्फ लैजाँदै गर्दा बाटोमै करीब २०० को संख्यामा रहेका स्थानीयवासीले आक्रमण गरी लामालाई भगाएको प्रहरी अधिकारीहरूले बताएका छन्।
हतियार सहित पक्राउ परेका एक अभियुक्तलाई स्थानीयले प्रहरीलाई नै आक्रमण गरी भगाएका छन्।जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगिया बस्तीका बासिन्दाले भरुवा बन्दूक सहित पक्राउ परेका ३५ वर्षीय सागर लामालाई भगाएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।
स्थानीयले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायर समेत गरेको थियो। आक्रमणमा परी वरिष्ठ प्रहरी नायब निरीक्षक पदमबहादुर शाही र प्रहरी सहायक निरीक्षक बलराम गिरी घाइते भएका छन्। निजगढ अस्पतालमा उपचाररत उनीहरूको अवस्था सामान्य छ। स्थानीयतर्फको क्षतिको विवरण आइसकेको छैन।
जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार टाँगिया बस्तीमा हातहतियार र ओखेटोपहार सहित शिकारी बसेको छ भन्ने सूचना आएपछि मंगलबार बिहान ५ बजे नै प्रहरी निरीक्षक सहित १५ जनाको टोलीले हतियार सहित लामालाई पक्राउ गरेको थियो। वडाध्यक्षको उपस्थितिमा बरामद सामानको मुचुल्का गरिएको थियो।
प्रहरीले बिहान लामाको घरमा छापा मारी भरुवा बन्दूक, बन्दूकको छर्रा, बारूद, जङ्गली जनावरको दाँत सहितका सामान बरामद गरेको थियो। बरामद गरिएको सामान सहित लामालाई प्रहरीले निजगढतर्फ लैजाँदै गर्दा बाटोमै करीब २०० को संख्यामा रहेका स्थानीयले आक्रमण गरी लामालाई भगाएको प्रहरी अधिकारीहरूले बताएका छन्।
“घटनामा संलग्नको पहिचान भइसकेको छ। अभियुक्त सहित घटनामा संलग्नको खोजतलास भइरहेको छ,” बोगटीले भने, “अभियुक्तलाई हतकडी सहित भगाउने काम भएको छ। उनीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउँछौं।”