दिप्रुङ चुइचुम्मा गाउँपालिकाले एकै पटक हटायो करारका ५७ कर्मचारी
गाउँपालिकाले रिक्त स्थानमा करारका नयाँ कर्मचारी भर्ना गर्न विज्ञापन खुलाउने र परीक्षा दिएर पुरानै कर्मचारी पनि पुनः सेवामा फर्कन सक्ने गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले करारका ५७ कर्मचारीलाई हटाउने निर्णय गरेको छ। गाउँपालिकाको सोमबार बसेको २५औं कार्यपालिका बैठकले पुनर्ताजगीका लागि भन्दै करारका जम्मा ६५ कर्मचारीमध्ये ५७ जनालाई हटाउने निर्णय गरेको हो।
करारका तीन जना छैटौं तहका अधिकृत, चार जना पाँचौं तहका सहित कृषितर्फका ११, जनस्वास्थ्यका १८, भेटेरिनरीका पाँच लगायत करारका कर्मचारीको करार अवधि थप नगर्ने र प्रोत्साहन रकम दिएर बिदा गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए।
गाउँपालिकाले ५० वर्ष नाघेका करारका कर्मचारीलाई प्रोत्साहन स्वरूप जनही पाँच लाख उपदान र अन्य करारका कर्मचारीलाई एक महिना १५ दिनको तलब बराबरको सुविधा दिएर बिदा गर्ने निर्णय गरेको हो। गाउँपालिकाले पाँच जना गाउँ प्रहरी, एक जना एम्बुलेन्स चालक, एक जना गाउँपालिका अध्यक्षको सवारी चालक र ब्याकहो लोडरका अपरेटरको मात्र करार अवधि नवीकरण गर्ने निर्णय गरेको छ।
कार्यपालिका बैठकले रिक्त स्थानमा करारका नयाँ कर्मचारी भर्ना गर्न विज्ञापन खुलाउने निर्णय पनि गरेको छ। परीक्षा दिएर पुरानै कर्मचारी पनि पुनः सेवामा फर्कन सक्ने गाउँपालिका अध्यक्ष राई बताउँछन्।
“कर्मचारीको पुनर्ताजगीका लागि करारका कर्मचारीको बिदाइ गरिएको हो। यसमा हाम्रो आग्रह–पूर्वाग्रह छैन। विज्ञापन खुलेपछि उहाँहरू नै फेरि सेवामा जोडिन सक्नुहुन्छ,” उनले भने।