राप्रपाको केन्द्रीय कार्यालय २१ दिनभित्र सार्ने सहमति
काठमाडौंको धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालयलाई २१ दिनभित्र सार्ने सहमति भएको छ।
राप्रपा कार्यालय भत्काउन काठमाडौं महानगरपालिकाले साउन १५ मा डोजर सहित टोली खटाएको थियो। तर, जिल्ला प्रशासन कार्यालय, काठमाडौंको पहलमा भएको छलफलमा सार्ने सहमति भएको हो।
जिल्ला प्रशासन कार्यालयमा काठमाडौं महानगर, राप्रपाका सचिवालय प्रमुख केदारबहादुर अधिकारी, जिल्ला प्रहरी परिसर, काठमाडौंबीच भएको छलफलमा सहमति जुटेको हो। राप्रपाले पार्टी कार्यालय २१ दिनभित्र सार्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए।
काठमाडौं महानगरले साउन १२ मा सूचना दिएर तीन दिनभित्र कार्यालय हटाउन समय दिएको थियो। एकाएक कार्यालय हटाउन सूचना आएपछि राप्रपाले स्थानीय प्रशासनलाई गुहारेको थियो।
राप्रपाको केन्द्रीय कार्यालय रहेको भवनमाथि नेपाल विद्युत् प्रधिकरणको हाइटेन्सन लाइन छ। हाइटेन्सन लाइनमुनि अनुमति विना भवन निर्माण गरिएको भन्दै महानगरले हटाउन खोजेको हो।